थिएन्चिनमा चिनियाँ प्रथम महिलाको छुट्टै भेटघाट

थिएन्चिनमा चिनियाँ प्रथम महिलाको छुट्टै भेटघाट

चिनियाँ राष्ट्रपति सि चिनफिङकी पत्नी तथा प्रथम महिला फङ्ग लियुआनले सांघाई सहयोग संगठन (एससिओ) को २५औँ शिखर सम्मेलनमा सहभागी मुलुकका प्रथम महिलासँग छुट्टै भेटघाट गर्नुभएको छ । भेटघाटमा सहभागी प्रथम महिलाहरूले चीनको सांस्कृतिक सम्पदा र आधुनिक विकासप्रति चासो देखाएको बताइन्छ । 

फङ्ग लियुआनले चीनको समृद्ध परम्परा, कला र आधुनिक जीवनशैलीबारे जानकारी दिँदै सांस्कृतिक आदान–प्रदानले राष्ट्रहरूबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् भने सहभागीहरूले चीनको आतिथ्य र उपलब्धिको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

चिनियाँ प्रथम महिलाले आयोजना गर्नुभएको विशेष भेटघाटमा उज्बेकिस्तानका राष्ट्रपति सब्खत मिर्जीयोएभकी पत्नी,मङ्गोलियन राष्ट्रपति उखना खुरेलसुखकी पत्नी, अजरबैजानका राष्ट्रपति इल्हाम अलिएवकी पत्नी र टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनका पत्नी थिए । त्यस्तै आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयानकी पत्नी,नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य,इजिप्टका प्रधानमन्त्री मोस्तफा मब्दुलीकी पत्नी,मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमकी पत्नी र इरानका राष्ट्रपति मसरूद पेजस्कियनकी छोरी उपस्थित थिइन् ।

भेटघाट सांस्कृतिक संवाद,आपसी समझदारी र मित्रतामा केन्द्रित भएको बताइएको छ । प्रथम महिलाहरुलाई चिनियाँ बालबालिकाले सम्बन्धित मुलुकको झण्डा हल्लाउँदै स्वागत गरेका थिए ।

टिप्पणीहरू