महिनावारीसम्बन्धी जनचेतना फैलाउँदै एनएएलसीका विद्यार्थी
ललितपुरको सानेपास्थित नेशनल ल कलेज (एनएएलसी) ले महिनावारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । ‘महिनाभरि छोरी देवी हुन् भने महिनावारीको अवधिमा पनि छोरी देवी नै हुन्’ भन्ने मूल उद्देश्यका साथ ‘एनएएलसी फेमिनिष्ट स्पार्क’ का प्रतिनिधिले टोखा नगरपालिकामा रहेको श्री झोर महाँकाल माध्यमिक विद्यालयमा ‘डिकोडिङ द पिरियड अवारनेश अन मैनस्रुअल हेल्थ एण्ड हाइजिन’ कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई महिनावारीसम्बन्धी सचेतना, स्वास्थ्य अभ्यास र सामाजिक मिथक तोड्न प्रशिक्षण दिइएको थियो । विद्यार्थीहरुलाई अल नेपाल हस्पिटल प्रालिका नर्सहरुले व्यक्तिगत स्वच्छता, सुरक्षित अभ्यास, पोषण र मानसिक स्वास्थ्यसम्बन्धी जानकारीसहित तालिम पनि प्रदान गरेका हुन् ।
सोही अवसरमा स्पार्कका प्रतिनिधिहरुले आफ्नो पहिलो महिनावारीको अनुभव विद्यार्थीहरुसँग बाँड्नुको साथै खुला संवादमार्फत उनीहरुलाई मार्गदर्शन प्रदान गरे । कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिएको थियो । महिनावारी लज्जासम्बन्धी विषय नभई प्राकृतिक प्रक्रिया भएको जनचेतना फैलाउन सो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।
आगामी दिनमा पनि विभिन्न विद्यालय र समुदायस्तरमा सो कार्यक्रमलाई निरन्तरता दिने आयोजकको प्रतिबद्धता छ ।
टिप्पणीहरू