बुङचुङका स्वास्थ्यकर्मी बेपत्ता
धादिङको सिद्धलेक गाउँपालिका–४ स्थित बुङचुङ सामुदायिक स्वास्थ्य इकाई करिब दुई सातादेखि स्वास्थ्यकर्मीविहिन बनेको छ ।
अहेव र अनमी दुवै जना विदामा बसेपछि इकाई कार्यालय सहयोगीको भरमा मात्रै सञ्चालन हुँदै आएको हो । औषधि नपाइने,सेवा नहुने गुनासो बढेसँगै स्थानीयवासीले यसलाई नागरिकको स्वास्थ्यमाथिको चरम लापरबाहीका रूपमा लिएका छन् ।
सिद्धलेक–४ खर्कगैराका केशरी गिरी घुँडाको उपचारका लागि इकाई पुगे तर,न स्वास्थ्यकर्मी भेटे न त औषधि पाए । ‘एक घण्टा लगाएर आइयो,कार्यालय सहयोगी मात्रै रहेछन् । बरु बन्द राखे भए हुन्थ्यो,खुला छ भनेर आउँदा बेकार सास्ती भयो,’ उनले गुनासो गरे । त्यस्तै, सविना सिलवालले भनिन्- ‘छ भनौं भने केही सेवा पाइन्न,छैन भनौं भने घर आँगनमै इकाई छ । अहिले सेवामा चरम लापरबाही छ । विरामी परे धादिङबेसी वा मलेखु धाउनुपर्ने अवस्था छ ।’
‘दुई/दुई जना स्वास्थ्यकर्मी हुँदा पालैपालो विदा बस्नु पर्ने हो, गाउँपालिका पनि के हेरेर बस्छ खै ?’ कार्यालय सहयोगीलाई औषधि दिने अधिकार नभएको भए पनि सेवाग्राहीले बाध्य भएर त्यही लिनुपर्ने अवस्था रहेको स्थानीय बासुदेव सिलवालले बताए ।
साउन २३ गतेदेखि अहेव सुवना घले विदामा छिन् भने साउन २९ गतेदेखि अनमी दिपा पराजुली विरामी भएर विदामा बसेपछि इकाई स्वास्थ्यकर्मीविहिन बनेको हो । यसबारे कार्यालय सहयोगी कौशिला सिलवालका अनुसार दैनिक १५ देखि ५० जना विरामी आउँछन् । 'इमर्जेन्सी आयो भने पालिकामा पठाउँछु । औषधि दिन भने मिल्दैन, म त कार्यालय खोल्ने–बन्द गर्ने मात्रै हो’, उनले भनिन् ।
बुङचुङ इकाईबाट सिद्धलेक–१, ४, ५ र ६ का करिब एक हजार घरपरिवारले स्वास्थ्य सेवा लिँदै आएका छन् । बुङचुङ, खर्क गैरा, बैरेनी, फाकफुक, स्याखुटार, आपटार, काम्राङ, कत्लेडाँडा, माबिखोला, नयाबस्ती लगायतका बस्ती यसै इकाईमा भर पर्छन् ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो चरम लापरबाहीले सुशासनप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीको टिप्पणी छ ।
टिप्पणीहरू