तीज : नारीको पर्व कि विकृतिको प्रदर्शन ?

तीज : नारीको पर्व कि विकृतिको प्रदर्शन ?

तीज हिन्दू नारीहरूको महत्वपूर्ण चाड हो। तीजले नेपाली समाजमा फरक र छुट्टै किसिमको उत्साह छर्ने काम गर्छ । शहर होस् वा गाउँ, भदौ महिना लाग्नासाथ महिलाहरू रातो साडी, हरियो चुरा, पोते, मेहेन्दी र गहनामा सजिएका देखिन्छन् ।

घरमा परम्परागत परिकारको तयारी हुन्छ, माइती जाने, साथीभाइ भेट्ने, गीत गाउँदै नाँच्ने क्रम सुरु हुन्छ। धार्मिक ग्रन्थअनुसार देवी पार्वतीले भगवान् शिवलाई वर माग्न कठोर व्रत बसेको सम्झनामा यो पर्व मनाइन्छ। यो पर्व महिलाको श्रद्धा र आस्थासँग जोडिएको छ। तीज केवल धार्मिकतासँग मात्र होइन, सामाजिक, सांस्कृतिक र भावनात्मक रूपमा पनि महिलाको जीवनसँग सम्बन्धित हुन्छ।

विगतमा तीज महिलाको लागि विशेष अवसर हुन्थ्यो। वर्षभर खेतबारी, घरायसी काम र परिवारको जिम्मेवारीले थिचिएका महिलाले यसै दिन केही समय आफ्नै खुशीका लागि बिताउँथिन्। उनीहरूले गाउँको चौतारो वा आँगनमा भेला भएर गीत गाउँथिन्, नाँच्थिन्, रमाइलो गर्थिन्। गीतका शब्दमा दुःख र खुशी दुवै मिसिएका हुन्थे।

कतिले दाइजो नल्याउँदा पाएको यातना सुनाउँथिन्, कतिले श्रीमान् परदेश गएको गुनासो पोख्थिन्, कतिले परिवारसँगको स्नेह झल्काउँथिन्। यसरी तीज नारीको भित्री आवाज बाहिर ल्याउने अवसरको रूपमा प्रतिबिम्बित हुन्थ्यो।

तर, अहिलेको तीज केवल त्यतिमा सीमित छैन। समाज बदलिएको छ, सोच बदलिएको छ र त्यससँगै तीजको स्वरूप पनि बदलिएको छ। शहरमा तीज भन्नासाथ महँगो होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, डीजे सेट र चम्किलो प्रकाश सजावटको झल्को आउँछ। महिलाले नयाँ फेसन, डिजाइनर साडी, सुनचाँदीको गहना, महँगो मेकअप र हेयरस्टाइलसहित सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने प्रतिस्पर्धा देखिन्छ।

‘तीज लुक्स’ भनेर फेसबुक, इन्स्टाग्राम, टिकटकमा तस्बिर र भिडियो राख्ने प्रचलन व्यापक भएको छ। धेरैले यसलाई आधुनिकता र स्वतन्त्रताको प्रतीक मान्छन्। रमाइलो गर्ने, साथीभाइसँग खुलेर नाँच्ने, सजिने र आफ्नै शैलीमा पर्व मनाउने अवसर पाएकाले यसलाई स्वतन्त्रता भन्ने गरिएको हो।

अर्कोतर्फ, धेरैले यसलाई विकृतिको रूपमा पनि चित्रण गरेका छन्। पछिल्लो समय पुरातन मौलिकता, सादगी र संस्कार हराउँदै गएको देखिन्छ। तीजमा गाउने गीतहरू बदलिएका छन्। पहिले महिलाले आफ्नै भोगाइ र पीडा पोखेर गीत गाउँथिन्। ती गीतमा समाज सुधारको सन्देश हुन्थ्यो, गीतले परिवर्तनको आवाज बोल्थ्यो, विद्रोहको ज्वाला निकाल्थ्यो।

तर, अहिले धेरैजसो तीजका गीत आधुनिक शैलीका बनेका छन्। हलुका, अश्लिल, छाडा र उत्तेजक शब्द प्रयोग हुने गीत, डीजेमा बज्ने पप धुन र फिल्मी गानाले परम्परागत लोकगीतलाई पछाडि धकेलेको छ। यसले युवापुस्ता मौलिक तीज संस्कृतिबाट टाढा जाँदैछ भन्ने चिन्ता बढाएको छ।

निम्न र मध्यम वर्गका लागि तीज आर्थिक रूपमा बोझिलो बनेको छ। तीज आउनुभन्दा एक महिना पहिलेदेखि नै महँगो होटल र रिसोर्टमा भोज खान जाने, दर खाने, पार्टी गर्ने बाध्यता छ। कसले कस्तो साडी लगायो, कस्तो गहना देखायो, कहाँ भोज खान गयो भन्ने प्रतिस्पर्धा हुन्छ।

यस्तो देखावटीपनले आर्थिक रूपमा कमजोर व्यक्तिलाई मानसिक दबाब दिने गरेको छ। कतिपय महिलाका लागि तीज रमाइलोभन्दा बढी बोझ बनेको छ। यसबाहेक, पछिल्ला वर्षहरूमा तीजलाई दारु र क्लब पार्टीसँग जोड्ने प्रवृत्ति बढेको छ।

महिलाहरूले स्वतन्त्रताको नाममा तीजलाई रातभर क्लबमा नाँच्ने, दारु खाने र असभ्य शैलीमा रमाउने पर्व बनाइरहेको देखिन्छ। यसले तीजको धार्मिक र सांस्कृतिक महत्व घटाएको मात्र होइन, आलोचना पनि बढाएको छ।

यद्यपि, तीजलाई नकारात्मक मात्र रूपमा हेर्न मिल्दैन। यसले टाढा रहेका आमा, दिदी–बहिनीलाई एक ठाउँमा ल्याउँछ। लामो समयसम्म भेट हुन नसकेका चेलीहरू माइती घरमा भेटघाट गर्छन्, साथीभाइबीच आत्मीयता बढ्छ। कतिपय महिलाले आफ्ना दुःख र पीडा व्यक्त गर्छन्। कतिपय संघसंस्थाले महिला अधिकारबारे सचेतनामूलक कार्यक्रम गर्छन्।

दाइजो प्रथा, घरेलु हिंसा, शिक्षा र स्वास्थ्यजस्ता विषयमा छलफल हुन्छ। यसरी तीज सामाजिक र महिला सशक्तिकरणसँग जोडिएको देखिन्छ।

अब प्रश्न उठ्छ–तीजलाई कसरी अघि बढाउने? संस्कृतिविद्हरू भन्छन्–आधुनिकता अपनाउनु राम्रो हो, तर मौलिकता गुमाउनु हुँदैन। मौलिक संस्कार र परम्पराको संरक्षण गर्नुपर्छ। खर्चिलो प्रतिस्पर्धा कम गरेर सादगीमा रमाउने संस्कार पुनःस्थापित गर्नुपर्छ।

तीजलाई केवल व्रत बस्ने वा भोज खाने दिनमा सीमित नगरी, सामाजिक मुद्दा उठाउने अवसर बनाउन सकिन्छ। महिलाको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार र समानताबारे सचेतना फैलाउन तीजलाई प्रयोग गर्न सकिन्छ। सामूहिक कार्यक्रममा सचेतनामूलक सन्देश राख्दा पर्व अझ अर्थपूर्ण बन्न सक्छ।

गीतमार्फत महिलाले आफ्ना गुनासो, अन्याय र भोगाइ व्यक्त गर्न सक्छन्। तर ती गीत केवल मनोरञ्जन होइन, सचेतनामूलक हुनुपर्छ।

तीजलाई महिला सशक्तिकरणको पर्व बनाउन सक्ने सम्भावना अझै धेरै छ। समग्रमा, तीज नारीको श्रद्धा, संस्कार र आत्मसम्मानसँग जोडिएको ऐतिहासिक पर्व हो। तर, भड्किलो खर्च, सामाजिक सञ्जालको प्रतिस्पर्धा, दारु र क्लब, पार्टीजस्ता विकृतिले यसको वास्तविक स्वरूप ओझेलमा पर्न थालेको छ।

यदि हामीले सचेत भएर तीजलाई सादगी, भक्ति र मौलिक संस्कृतिको पर्वका रूपमा जोगाउन सक्यौं भने यो चाडले नारीको आवाजलाई अझ बलियो बनाएर लैजान सक्छ। तीज केवल सजिने, भोज खाने वा नाँच्ने पर्व होइन। यो महिलाको पीडा र खुशी दुवैलाई अभिव्यक्त गर्ने पर्व हो। यो नारी स्वतन्त्रताको प्रतीक हो।

त्यसैले, तीजलाई सही दिशामा लैजान सबैले जिम्मेवारीपूर्वक सोच्न आवश्यक छ। तीजलाई संस्कृतिको धरोहर मात्र होइन, महिला सशक्तिकरणको अवसरका रूपमा पनि लिनुपर्छ। यसलाई सकारात्मक ढंगले मनाउन सक्यौं भने, तीजले हाम्रो समाजलाई अझ सशक्त, समावेशी र न्यायपूर्ण बनाउन ठूलो योगदान दिनेछ।

टिप्पणीहरू