नख्खुमा स्टन्ट गर्न पाउने छैनन् रविले
रास्वपा सभापति रवि लामिछानेको ‘मिडिया स्टन्ट’ प्रवृतिले पछिल्लो समय सुरक्षा संयन्त्रलाई हैरान बनाएको छ । उनको चतुर्याइँ देखेर विभिन्न कारगार प्रशासनका कर्मचारी र सुरक्षाकर्मी तर्सिन थालेका छन् । लामिछानेकै कारण कति बेला कुन विवादमा परेर कारवाही भोग्नुपर्ने हो । कर्मचारीमा तनाव सिर्जना भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान हुँदै गर्दा गत वर्ष पुस पहिलो हप्ता कास्की प्रहरी हिरासतबाट लामिछानेको तस्वीर सार्वजनिक भयो । मुलुकी अपराध संहिता ०७४ को दफा २९५ अनुसार हिरासतमा कसैको फोटो तथा भिडियो खिच्न नपाइने भए पनि लामिछाने सुतिरहेको तस्वीर सार्वजनिक भएपछि सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको थियो । यद्यपि, कास्की प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाले त्यतिबेला सूचना नै निकालेर तस्वीर सार्वजनिक गर्ने व्यक्तिको खोजी भइरहेको बताएपछि लामिछानेकै ‘अन्धभक्त’ मानिने निकोलस भुसालले गल्ती स्वीकार गरे, र उनलाई कानुनी कारवाहीको दायरामा ल्याइयो । ‘भुसाललाई समातेर अदालतमा मुद्दा चलाएका थियौँ, धरौटीमा छाड्न आदेश भयो’, एसपी ओलिया भन्छन्, ‘उनलाई कानुनी कारवाहीको दायरामा ल्याउन त सफल भयौँ, तर त्यो फोटो प्रकरणले तनाव चाहिँ दियो’ । उक्त फोटो सुनियोजित रूपमै खासगरी लामिछाने, दीपक बोहरा र भुसालको योजनामा सार्वजनिक गरिएको त्यतिबेलै प्रमाणित भइसकेको छ ।
पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्धनिर्देशक समेत रहेका लामिछानेकै कारण तनाव भोगेका अर्का पात्र हुन्, शान्तिप्रसाद लुइँटेल। चितवनको सहारा सहकारी ठगी प्रकरणमा संगठित अपराध देखिने पर्याप्त प्रहरी प्रतिवेदन हुँदाहुँदै लामिछानेविरुद्ध ठगीको मात्रै मुद्दा चलाएपछि सरकारी वकिलको कार्यालय (जिल्ला न्यायाधिवक्ता) रहेका उनलाई तत्काल महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको थियो । गत वर्ष माघ २३ गते बिहान झोला बोकेर काठमाडौँ आउँदै गरेका उनले जनआस्थासँग भने, ‘उहाँ (लामिछाने)को मुद्दासँग ठोक्किन नपरोस् भन्ने चाहना थियो, ठोकिनैपर्यो तर मैले प्रहरी अनुसन्धानको प्रतिवेदनकै आधारमा निर्णय लिएको हुँ ।’ त्यतिबेला लुइँटेलले विभागीय कारवाही भोगे पनि मिडियामार्फत लामिछानेले नै सहानुभूति बटुलेका थिए ।
लामिछानेले हालसालै (साउन २२) रूपन्देहीको भैरहवा कारागारबाट पनि ‘मिडिया स्टन्ट’को ‘अपग्रेड भर्सन’ देखाए । कारागारमा भेट्न पुगेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईसँग आफूलाई अन्धकार कोठामा राखिएको, घाम नदेखेको, अत्यधिक गर्मी भए पनि एसी राख्न नदिइएको र पत्रपत्रिका समेत पढ्न नदिइएको लगायत कृत्रिम आर्तनाद सुनाएर आँशुको खेती गरे । कतिसम्म भने मानवअधिकार आयोगलाई समेत भुलभुलैयामा पार्न सफल भए । जबकि, लामिछानेलाई भैरहवा कारगार पुर्याएको केही दिनमै कोठामा एसी जडान गरिएको र पछिल्लो समय नियोजित रूपमै हटाइएको तथ्य सार्वजनिक भइसकेको छ । रोचक के भने, ललितपुरस्थित नख्खु कारागारको लागि हिँड्नुअघि उनले कोठाको भित्तामा लेखेका छन्, ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’ तर उनले आफूजस्तै हजारौँ नागरिकले रगत र पसिना बगाएर सहकारीमा जम्मा गरेको बचत अपचलन गर्ने ‘कृष्ण’को जन्म चाहेका हुन् वा पीडितलाई रकम फिर्ता गरेर न्याय दिने वास्तविक कृष्णको, त्यो भने रहस्यमय नै छ ।
सिआरसी ब्लकमा रविलाई ठूलो झ्याल
गत वर्ष चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको छ । उनले कारागार सरुवाको लागि निवेदन दिएकोमा जिल्ला अदालतले स्वीकृति दिएपछि शनिबार (साउन ३१) नख्खु कारागार ल्याइएको हो । त्यसो त, लामिछानेले जेठ तेस्रो साता काठमाडौँको डिल्लीबजार कारागारमा सरुवाको लागि निवेदन दिएका थिए । तर दिपक मनांगेले हातपात गर्नसक्ने डरका कारण लामिछानेले नख्खु कारगारका लागि मञ्जुरीनामासहितको निवेदन फेरेको बुझिएको छ ।
लामिछानेले संशोधित निवेदन दिएपछि नख्खु कारागार सरुवा गर्ने निर्णय भएको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरेले जानकारी दिइन् । ‘शुरुमा डिल्लीबजार आउन चाहनुभएको थियो तर सुरक्षा थ्रेटलाई मध्यनजर गरेर हुँदैन भन्यौँ’, घिमिरेले भनिन्, ‘कारागार सरुवा गर्ने अदालतको आदेशमा डिल्लीबजार कारागार नै भनेर तोकिएको छैन, उपत्यकाको जुन कुनै पनि भनिएको छ र उहाँले पनि नख्खु रोजेर निवेदन दिनुभएको हो ।’ जहाँ गयो त्यहाँ कुनै न कुनै विवाद सिर्जना गर्दै आएका लामिछानेलाई अब नख्खु कारागारमा कसरी राखिन्छ त ? सर्वत्र जिज्ञासा पैदा भइरहँदा जेलर भीमराज कोइराला भन्छन्, ‘यहाँ त्यस्तो कुनै विवाद सिर्जना गर्न नदिनेगरी राखिन्छ, कानुनले दिएको छुट पाउनुहुन्छ, त्योबाहेक अरु दायाँबायाँ हुँदैन ।’
नख्खु कारगारमा हाल कूल १२७५ कैदीबन्दी छन्, र उनीहरूलाई तीन वटा ठूला भौतिक संरचनामा राखिएको छ । सिआरसी ब्लकमा ४१४, डिआरसी ब्लकमा ४५९ र न्यु ब्लकमा ४०२ कैदीबन्दी रहेको जेलर कोइरालाले जानकारी दिए । उनका अनुसार लामिछानेलाई सिआरसी ब्लकमा राखिएको छ । कस्तो कोठामा राखिएको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटा ठूलो झ्याल छ, हावा मस्त पास हुन्छ, मौसम औसत रहेकाले एसी वा पंखा राख्न आवश्यक छैन, अरु कैदीबन्दीलाई राखिएकोजस्तो सामान्य कोठा छ ।’
कोठामा बेड र टेबल लामिछाने आफैले जोड्दैछन् । भैरहवा कारागारबाट आउँदा कपडा र पुस्तकको पोको बोकेर आएका उनले कोठा व्यवस्थापनको लागि कारागार प्रशासनका कर्मचारीसँग सहयोग पनि मागेका छन् । ‘कैदीबन्दीको लागि सामान्य ओढ्ने र ओछ्याउने कपडा कारागारले नै दिन्छ, तर कैदीबन्दी आफैले ल्याउन पनि पाउँछ’, कोइराला अघि थप्छन्, ‘उहाँ (लामिछाने)ले आफै ल्याउनुभएको थियो, बेड र टेबल खोज्नुभएको छ, हामीले व्यवस्थापन गरिदिँदै छौँ, खर्चचाहिँ उहाँकै हुन्छ ।’
लामिछानेले कारागारभित्र सामूहिक रूपमै खाना खाइरहेका छन् । ‘पाँच–सात जनाको एउटा मेस छ, त्यहीँ खानुहुन्छ’, कोइरालाले थपे । लामिछानेलाई कारागार प्रवेश गराएको दिन सबैभन्दा पहिले पत्नी निकिता पौडेल र उनकी बहिनी भेट्न पुगेका थिए । त्यसयता लामिछानेलाई भेट्न पुग्नेहरूलाई कारागार प्रशासनले कडा निगरानीमा राख्दै आएको छ । ‘पूर्वगृहमन्त्री भएको हैसियतले कानुनले दिएका अधिकार प्रयोग गर्न छुट दिएका छौँ’, कोइराला सुनाउँछन्, ‘भेट्न आउनेहरूलाई कडा निगरानीमा राखेका छौं, विधि र विवेकलाई हेरेर कसलाई भेट्न दिने अनुमति दिन्छौँ, परिवार र पार्टीका नेताबाहेक अरुलाई विचार गरेर मात्र भेट्न दिइरहेका छौँ ।’ यसअघि लामिछानेलाई राखिएका हिरासत र कारागारमा कुनै न कुनै विवाद सिर्जना भएकाले नख्खुमा भने त्यस्तो कुनै विवाद नहुनेगरी सतर्कता अपनाइएको पनि कोइरालाले बताए । भन्छन्, ‘उहाँ आएपछि चुनौती र चिन्ता दुवै थपिएको छ, तर हामी सतर्क छौँ ।’
टिप्पणीहरू