जे नाम दिए नि त्यो जेलसरह नै हो
नेपालमा आजभोलि बृद्धाश्रमको संस्कृति फैलिएको छ । गरिब बुबाआमा त वृद्धाश्रममा भेटिए, भेटिए । सुनको थालमा भात खाने हैसियत भएका सिनियर सिटिजन पनि आजभोलि त्यहाँ पाइन थालेका छन् । गरिब आमाबुबा बस्ने घरलाई वृद्धाश्रम भनिन्छ भने धनी बस्नेलाई ‘ओल्ड सिटिजन होम’ । यस्ता घरलाई ‘वृद्धाश्रम’, ‘ज्येष्ठ नागरिक गृह’, ‘ओल्ड एज होम’जे नाम दिइए पनि त्यसको अभिष्ट कारागार नै हो जस्तो लाग्छ । आमाबुबालाई, जीवनको उत्तरार्धमा सन्तानबाट विमुख भएर प्राण त्याग्नुपर्ने अवस्था कम दयनीय छैन । पखेटा लागेपछि भँगेराले बचेराजसरी उडाउन नसक्ने मानवजातिको, नैसर्गिक प्रेमलाई काट्न सक्ने कैंची कहाँ छ ? जहाँनिर सहारा आवश्यक पर्छ, त्यहीँ प्रेम काट्नुपर्ने कुरा स्वीकार्य छैन ।
जुनसुकै देशमा अशक्त कुरालाई वृद्धाश्रममा राखेर संरक्षण गरिन्छ । नेपालमा पनि धेरै वृद्धाश्रम छन् । त्यसमध्ये पनि राजा सुरेन्द्रविक्रम शाहले १८८२ मा स्थापना गरेको पशुपति पाकशाला नै हाल पशुपति वृद्धाश्रमका रूपमा चिनिन्छ । ६५ वर्षभन्दा माथिको हुनुपर्ने र शारीरिक रूपमा अशक्त साथै पारिवारिक संरक्षण नभएको भनी स्थानीय अधिकारीले प्रमाणित गरेको हुनुपर्ने प्रावधान छ ।
हुन त फरक वृद्धाश्रममा राखिएका वृद्धवृद्धा फरकै हुन्, तर तिनीहरूको कथा र व्यथा एउटै छ । नयाँ पुस्ताबाट तिरस्कृत यी पुराना पुस्ताका प्रतिनिधि अनुहारहरूमा दुःख र पीडाका रेखाहरू प्रशस्तै कोरेका देखिन्छ । ६५ भन्दा बढी, भित्तेपात्रो च्यातिइसकेका यिनका कष्टकर दिन वृद्धाश्रममै बित्छन् । कुनै कारागारको ज्यानमारा कैदीले समय बिताएझैँ यिनीहरू पनि जीवनका पछिल्ला दिन काटिरहेका छन् । यिनीहरू पनि कसैका आमा हुन्, बुबा हुन् ।
आफैँले जन्म दिएका सन्तानले बेवास्ता गर्दा, प्रमाणपत्र च्यापेर वृद्धाश्रमको भित्तामा अडेस लिन आएका हुन् । यिनीहरू भौतिक र मानसिक रूपमा कैद छन्, कुनै अपराधीझैँ । कुनै अपराधी निर्दोषको हत्या गरी थुनिनु स्वाभाविक हो । बिडम्वना, यिनीहरू आफ्ना सन्तानलाई कोखबाट जन्म दिएर पनि थुनिएका छन् । यी वृद्ध आमाबुबाका पनि बुढेसकालमा नातिनातिनासँग खेल्ने रहर होलान् । जति दुःख परे पनि परिवारमै संरक्षित हुने धोको होलान् । हरेक वृद्धवृद्धालाई वृद्धाश्रमको खीरभन्दा आफ्नै छाप्रोको ढिँडो रसिलो हुन्छ । बाबुआमालाई एक छाक ढिँडो पनि खुवाउन समक्ष छैनन्, आजका कैयन छोराछोरी । देशैभरि खुलेका वृद्धाश्रममा गएर हेर्ने हो भने, कैयन तिरस्कृत आमाबुबा वृद्धाश्रममा बसेर आँसु बगाइरहेका होलान् ।
श्राद्धको चौरासी व्यञ्जन खाएर आजसम्म कुनै पुर्खाले डकारेको छैन ।
यो भन्नु अत्युक्ति नहोला कि, नेपाली परिवेशमा जन्म दिने आमाबुवालाई तिरस्कार गर्ने संस्कृति बन्दै गएको छ । एक्काइसौँ शताब्दीमा एकल परिवारप्रति बढ्दै गएको मोहले बाबुआमाको मूल्य विस्मृत हुँदै गएको छ । फलस्वरूप अशक्त उमेरमा बाबुआमालाई वृद्धाश्रममा हाल्नु फेसन हुँदै गएको देखिन्छ ।
बाबुआमा भनेका नैतिक रूपमा ईश्वर हुन् । संसारमा जति पनि सपुत छन्, तिनीहरू बाबुआमाको उत्सर्गलाई बुझेरै महान् भएका हुन् । बाबुआमालाई तिरस्कार गर्ने सन्तान धर्तीका भार हुन् । र, यस्तालाई धर्मको हरेक ग्रन्थले धिक्कारेको छ । बाबुआमाले सदैव छोराछोरीको हित मात्र चाहेका हुन्छन्, अपितु छोराछोरी जति नै कुपात्र किन नहुन् । जिउँदो हुँदा बाबुआमालाई भोकै राखेर मृत्युपछि तर्पन दिने छोराछोरी यो समाजमा नभएका होइनन् । जुन कार्यमा मूर्खता मात्र छ । श्राद्धको चौरासी व्यञ्जन खाएर आजसम्म कुनै पुर्खाले डकारेको छैन । सात, आठ पेटलाई अघाएर, आफ्नो पेट भोकै राख्ने बाबुआमाका दुई पेट पाल्न नसक्ने हामी छैनौँ । बाबुआमालाई सुस्वादु परिकार दिनु ईश्वरलाई प्रसाद चढाउनुभन्दा ठूलो पुण्य हो ।
वर्षभरि बाबुआमालाई भोकै राखेर एकचोटि फलफूलले काख भरिदिनु पनि गलत हो । शारीरिक तृप्ति मात्र तिनीहरूको चाहना अवश्य होइन । बुढेसकालमा जो पनि परिवारको आत्मीयता र सहाराटको खोजीमा हुन्छन् । हामीले तिनीहरूको भित्री इच्छा बुझेर मानसिक सन्तुष्टिका लागि पनि पहल गर्नुपर्छ । कति छोराछोरीले यही कानुनी रिक्तताको लाभ उठाउँदै बाबुआमालाई वृद्धाश्रममा हालिदिने गर्छन् । यदि कानुनले नै छोराछोरीका लागि सजायँको व्यवस्था गरेको भए, आज दिन दुगुणा रात चौगुणा बढिरहेको वृद्धाश्रमको संस्कृतिमा ह्रास आउने थियो । बाबुआमालाई पाल्नैपर्ने हस्तक्षेप नै बुढेसकालको एक मात्र भरपर्दो सुनिश्चितता हो । नत्र धर्म र नैतिकताको भावना पलायन हुँदै गएको परिवेशमा एकाध कपुत छोराछोरीले बाबुआमालाई गला रेटेर हत्यासम्मको गम्भीर अपराध नगर्लान् भन्न सकिन्न ।
आज बाबुआमालाई बूढाबूढी भयौ भनेर तिरस्कृत गर्ने छोराछोरीले जीवनचक्रको हरेक पाटोलाई केलाउन सक्नुपर्छ । आजको पुस्ता भोलिको पुरानो पुस्ता हो । यो पुस्ता—द्वन्द्वको अवसान छैन । एउटा छोरा बाबु बनेर भोलि फेरि छोरामै निर्भर हुनुपर्ने अवस्था घामजत्तिकै सत्य हो । यसकारण कुनै पनि छोराछोरीले आफ्ना बाबुआमालाई जस्तो व्यवहार गरेको छ, आफ्ना छोराछोरीका लागि त्यो व्यवहार पाठ बन्न जान्छ र भोलि आफूले पनि त्यो व्यवहार खेप्नुपर्ने पालाको पैँचो बन्न जान्छ । त्यो बेला विगतको आफ्नै कर्तुतलाई सराप्नुसिवाय विकल्प रहँदैन । अहिले बाबुआमालाई सुख दिएर आध्यात्मक लाभ लिने छोराछोरी नगण्य बन्दैछन्, जुन दुखद पक्ष हो ।
यदि, ईश्वरको अस्तित्व यो संसारमा कहीँ छ भने त्यो बाबुआमाको आत्माभित्र छ । त्यो ईश्वरलाई नपुजी संसारको अरु हरेक पूजन सार्थक हुन्न । छातीमा ममता रसाउने मातृत्व होस् वा काँधमा पहाडी भार लिने पितृत्व, बाबुआमाको उत्सर्गको यो संसारमा कदरयुक्त शब्द छँदै छैन । यसकारण आजै बाबुआमाको महत्व बुझौँ । बाबुआमालाई पूजा गरी हुर्किरहेको विकृतिको जरा काटौँ । यिनीहरूलाई कारागार होइन, मुक्त परिवेश दिऔँ । बाबुआमालाई भार भोे भनेर वृद्धाश्रममा हाल्ने सबैले आ–आफ्ना बाबुआमाको महत्व बुझी वृद्धाश्रमबाट फर्काएर आफैँसँग पाले कस्तो हुन्थ्यो ! बुबाको मुख हेर्ने आसन्न दिन नआउँदै, पाकशालाबाट शुरु भएको नेपाली वृद्धाश्रमको इतिहास पाठशालामा टुंगिएमा यो उत्सवले पनि सार्थकता पाउँथ्यो कि !
टिप्पणीहरू