नेताहरुले जिम्मेवारी बोध गर्न नसकेको प्रचण्डको निष्कर्ष

नेताहरुले जिम्मेवारी बोध गर्न नसकेको प्रचण्डको निष्कर्ष

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूपू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेहरूले त्यसअनुसार जिम्मेवारी बोध गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 

काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले आफूले भने जिम्मेवारीबोध गर्ने गरेको बताउनुभयो । 

‘अहिले म सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छ कि राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ, गर्ल्यामगुर्लुम ढल्ने पो हो कि जस्तो लाग्छ, र पूरै जिम्मा मेरै काँधमा भएको जस्तो महशुस हुन्छ’, प्रचण्डले  सुनाउनुभयो, ‘कहिलेकाहीँ सोच्छु कि यस्तो त हुँदैन जीवन, मान्छे त एउटा निश्चित अवधीसम्म गर्ने हो, त्यसपछि प्रकृतिको नियम अनुसार शास्वत कुरा त मरिन्छ, अर्को आएर लान्छ गाडी । तर जिम्मेवारी बोध भन्ने कुरा यस्तो हुँदो रहेछ कि फेरि आफू अन्तिम अवस्थामा हुँदासम्म पनि त्यसको महशुस भइरहने, त्यो जिम्मेवारीले थिचिराख्ने, अन्तिम अवस्थासम्म पनि समर्पित भइरहन मन लाग्दाेरहेछ ।’ 

आफूलाई साहित्यमा रुचि भए पनि समय दिन नसकेको प्रचण्डले बताउनुभयो । यद्यपि, साहित्य र खेलकुदलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ छ । 

‘साहित्य क्षेत्रमा मैले धेरै समय दिन नसके पनि शान्ति प्रक्रियामा आएपछि र पहिलो पटक प्रधानमन्त्री भएपछि साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको छु’, भन्नुभयो ।

टिप्पणीहरू