गाजाको भोकमरी र चीन, भारत, रुसको लाचारी
गाजामा नरसंहार चलिरहेको छ । इजरायली सेनाले अस्त्रलाई मात्रै नभई आहारलाई पनि हतियार बनाएको छ । मारिनेको आँकडा लाख पुग्न लाग्यो । अहिलेको सूचना प्रविधिको युगमा लाइभस्ट्रिम हुँदाहुँदै मारिएका, अंगभंग भएका बालबालिकाको दृश्य कहालिलाग्दो छ । इजरायली बमबारीले त जिउज्यानको क्षति भएकै थियो । नाकाबन्दीले गर्दा आकाशबाट खसाइएका खाद्यान्न लागेर मारिने नै कैयौँ पुगे । यस्तो दुःखद घडीमा इजरायललाई हाइसञ्चो छ । बहाना छँदै छ– सन् २०२३ अक्टोबर ७ मा हमास हाम्रा सयौँ मान्छे मा¥यो । ऊ आतंककारी हो । हामी हमासमुक्त गाजा बनाउन लागेका छौँ । इजरायललाई प्रतिरक्षाको अधिकार छ ।
इजरायलले हमास आतंकलाई बिर्साउने प्रतिआतंक गरिरहेको छ । हजारौँ बालबालिका मारिँदा पनि इजरायली सत्तालाई कुनै चिन्ता छैन । लाखौँलाई भोकमरी हुँदाहुँदै पनि याहुलाई कुनै पीर छैन । बरु बेञ्जामिन नेतान्हायुले गाजा कब्जाको कार्यक्रम जारी राख्छन् । अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराध गरेको भन्दै हमास नेतासँगै नेतान्याहुलाई पनि सजायँ तोक्छ । नेतान्याहुलाई कुनै कारबाही हुन्न । अरू त्यस्तो फैसला गर्नेहरू र फैसलासँग जोडिएकाहरूलाई कारबाही हुन्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी बालबालिका ‘अपहरण’ गरेको लगायत कसुरमा अन्तर्राष्ट्रिय अदालतले फैसला गर्दा सही गर्यो । अब पुटिन अदालतको तर्फबाट हस्ताक्षर गर्ने देशमा पुग्दा पक्राउ हुनुपर्छ भनी तर्क गर्ने पश्चिमा देशहरू नेतान्याहुले पुटिनको भन्दा करोडौँ गुणा धेरै कसुर गर्दा पनि त्यो स्तरमा बोल्न सकिरहेका छैनन् ।
यस्तो लाग्छ ऊ विश्व शक्ति अमेरिका र नेतृत्वको पश्चिमा देशको गुटको असली नेता त इजरायल पो रहेछ । अनि इजरायल रहेछ पश्चिमा देशको गठबन्धनका चालक । त्यही भएर त आज चुपचाप छन् पश्चिमा देश । पश्चिमा देशका चर्को स्वर निकालेर मानव अधिकारका कुरा गर्ने एनजिओहरू । मानव अधिकार पढाउने पश्चिमा देशको अनुदानमा चल्ने संस्थाहरू । मिडियाहरू । अहिले इजरायलले गरेको नरसंहार र भोकमरीको दृश्य छताछुल्ल भएपछि भने बल्ल पश्चिमा मिडिया पनि बोल्न थालेका छन् ।
न्युयोर्क टाइम्सजस्तो इजरायल पक्षधर मिडियाले पनि भोकमरीलाई इजरायलले हतियार बनाउनु हुन्न भनिसक्यो । बिबिसी, रोयटर्स, एपी, एएफपीजस्ता बेलायती, अमेरिकी तथा फ्रान्सेली मिडियाका संस्थाले भोकमरीले पत्रकारलाई नै छोयो भन्न बाध्य भइसके । पत्रकारका अन्तर्राष्ट्रिय संस्थाले पत्रकार हत्याको आलोचना गरिसके । अरू त अरू डोनाल्ड ट्रम्पले पनि इजरायलले नकारेको भोकमरी छैन भन्ने तर्क अस्वीकार गरेर भनिसके, ‘मैले देखिरहेको भोकमरी झुटो होइन । वास्तविक हो ।’
पश्चिमा विश्वकै जनतामा इजरायलसँगको धारणा नकारात्मक आइसकेको विभिन्न सर्वेक्षणले देखाइसके । तर पश्चिमा नेतृत्वको विश्वको विकल्पमा धेरैले कल्पेका र कतिपय सूचकले हो कि भन्ने जस्तो देखाएका गैर पश्चिमा देश भने यो मुद्दामा एकदम लाचार देखिएका छन्् । खासगरी ब्रिक्स देशमा यो कमजोरी देखिन्छ । ब्रिक्स देशले आफ्नो बल र व्यक्तित्व गाजाको न्यायका पक्षमा देखाउन सकेनन् । केही थान विज्ञप्ति, केही थान भोट, केही थान राहत र केही थान भावुक अभिव्यक्ति दिएर मात्रै उनीहरू पन्छिरहेका छन् । बरु पश्चिमा देशका मिडियामा क्रमशः बाध्यकारी चेत आइसक्यो । इजरायललाई पुल्पुल्याउनेहरू पनि अहिले आलोचनात्मक बन्दैछन् । ब्रिक्स देशहरू भने इतिहासमा नालायकी विम्ब बन्ने स्तरमा लाचार देखिएका छन् । ब्रिक्स देशमा पनि चीन, भारत र रुस यो मामिलामा एकदम लाचार देखिएका छन् ।
चीन विश्वको सबैभन्दा धेरै व्यापार नाफा कमाउने देश हो । दोस्रो ठूलो अर्थतन्त्र हो । सैन्य शक्तिमा पनि अब्बल छ । विश्व मिडियामा होस् वा उसको गुडविल बढ्नु भनेको अमेरिकाले नजाऊ भन्दाभन्दै झण्डै १५० देशलाई बिआरआईमा ल्याउने क्षमताको विम्ब हो । तर, चीनले गाजाको नरसंहार रोक्न कुनै देखिने पहल गरेन । न त संयुक्त राष्ट्रसंघको स्थायी सदस्य भएको बल देखाएर इजरायललाई हत्या र भोकमरी बन्द गर्न नै नेतृत्वदायी भूमिका खेल्यो । चीनले प्यालेस्टाइनी शक्ति जोड्ने, इरान र साउदीको हात मिलाइदिने, पाकिस्तान र तालिवान मिलाइदिने चीनले न इजरायललाई विश्व दबाब दिएर मानवतावादी राहत दिन सक्यो, न इजरायलले स्थल सीमा बन्द गरे पनि इजिप्टसँगको १२ किलोमिटर सीमाबाट लाखौँ टन राहत दिएर सहयोग पुर्यायो न त भूमध्यसागर हुँदै राहत लगेर भोकमरी अन्त्यकै नेतृत्व गर्यो ।
भारतीय राफाल फाइटर झार्न पाकिस्तानलाई सहयोग गर्ने चीनले गाजामा राहत झार्न प्यालेस्टाइनीलाई सहयोग गरेन । न त सक्यो ब्रिक्स देश इजिप्टलाई सातै दिन सीमा खुला गर्न लगाएर राहत पठाउन । चीनले गर्ने काम गरेन । चीनले इजरायलले स्थल मार्गबाट नदिए हवाई वा जलमार्ग प्रयोग गरेर भए पनि राहत गाजावासीलाई खुवाउन सक्ने ल्याकत राख्छ । तर, उसले त्यो गर्न चाहेन । बरु इजिप्टमा सन् १९५६ मा इजरायल, बेलायत र फ्रान्सले तीन धुरी लागेर बल प्रयोग गर्दा अमेरिकाले धम्क्याएर रोकेको थियो । त्यो त सैन्य मोर्चाको कुरा भयो ।
अमेरिकाले इजरायल, बेलायत र फ्रान्सलाई सन् १९५६ को स्वेज नहर काण्डमा त्यस्तो गरेको हो । आज चीनले ठीक त्यसैगरी इजरायल, अमेरिका र उसका सहयोगीलाई बाध्य बनाएर गाजामा राहत लान सक्छ । तर, लगेको छैन । गाजाको नरसंहार र भोकमरी आतंकले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई फाइदै भएको छ । रुसले युद्धका धेरैजसो नियम पालना गरेको, नरसंहार जानाजान नगरेको र बालबालिकाको क्षति घटाउन प्रयत्न गरेको देखिन्छ । यही गुडविलमार्फत रुसले इजरायललाई दबाब दिन सक्ने अवस्था छ । रुसमा भएका यहुदी र रुसको दोहोरो शक्तिमार्फत इजरायललाई कम्तीमा नरसंहार नगर्न र भोकमरीलाई हतियार बनाउन नदिन पुटिनले नेतृत्व गर्न सक्थे । त्यो गरेको देखिँदैन ।
भारतले आफूलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र मान्दै आएको छ । सबैभन्दा धेरै मतदाताले मत हालेको कोणमा मात्रै नभएर हृदय र नेतृत्वको कोणबाट पनि भारत ठूलो लोकतन्त्र हो भन्ने देखाउन मोदी नेतृत्वको भारतले न गाजाको नरसंहार रोक्नेमा नेतृत्व देखाउन सक्यो न त सक्यो इजरायलले भोकमरीलाई हतियार बनाउँदा कठोर निन्दा गर्न नै ! हमासले इजरायलमा आतंक मच्चाउँदा बोल्ने भारत गाजामा इजरायलले आतंक मच्चाउँदा लगभग मौन छ । यो भारतले आफूलाई ग्लोबल साउथको नेता बनाउन गरेको प्रयत्नमा प्रत्युत्पादक कर्म हो ।
चीन, रुस र भारतले एकल प्रयत्न गर्दा पनि गाजामा भोकमरी नहुन सक्छ । संयुक्त पहल गर्दा त झन् त्यो सम्भावनै हुन्न । ब्रिक्सकै सदस्य देश इजिप्टलाई फ्रन्ट लाइनमा राखेर सबै सदस्यको बलले कम्तीमा अरू विमति भए पनि भोकमरी र बालबालिकाको नरसंहार रोक्नमा मात्रै लाग्दा हुने अवस्था छ । तर, यो ऐतिहासिक मानवताको अवसर लिनमा ब्रिक्स देश निकम्मा देखिएका छन् । छिमेकी भएर पनि इजिप्टले राफ सीमा खुलाउन चाहँदैन । विश्व शक्ति र भिटो देश भएर पनि चीन र रुसले लाउन सक्ने शक्ति लगाउँदैनन् ।
विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएर पनि भारतले त्यो बल गाजाको भोकमरी अन्त्यमा प्रयोग गरेको छैन । यदि, ब्रिक्सले बल प्रयोग गरेर मानवताको पक्षमा उभिने हो भने गाजाको तनाव नयाँ वैकल्पिक विश्व व्यवस्थाको एक कोशेढुंगो हुने थियो । ब्रिक्सले युवा पुस्ताको सबैभन्दा धेरै जस पाउने विश्व समूहको मान्यता पाउने थियो । तर, यो सबै अवसरलाई ब्रिक्सको समूहगत र देशगत लाचारीले गुमाइरहेको छ । विश्वभरका सडक ताते । तर, ब्रिक्स तातेन । यो इतिहासको कालो कालखण्ड हो ।
टिप्पणीहरू