शक्तिशाली राष्ट्रपतिको कान्छीसँग सुटुक्क सम्बन्ध

शक्तिशाली राष्ट्रपतिको कान्छीसँग सुटुक्क सम्बन्ध

एलिना मारातोभ्ना काबायभा ४२ वर्षकी भइन् । ५ फुट ५ इञ्च अग्ली काबायभा तात्कालीन सोभियतसँगको तास्कन्दमा जन्मिएकी हुन् । तासकन्द उज्बेकिस्तानको राजधानी हो । काबायभाका बुबा मारात फुटबल खेलाडी र धर्मले मुस्लिम हुन् । टुर्की भाषा बोल्ने तातार उनकी पत्नी ल्युबोभा रुसी हुन् । काबायभाले ३ वर्षको उमेरमै जिम्नास्टिक खेल्न थालिन् । पहिलो पल्ट १० वर्षको छँदा सन् १९९३ मा कजाख्स्तानको प्रतिनिधित्व गर्दै जापानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइन् ।

१२ वर्षको हुँदा आमाले मस्को शहर लिएर गइन् र त्यहाँका नामुद जिम्नास्टिक प्रशिक्षक इरिना भिनेरकोमा पु¥याइन् । शुरुमा इरिनाले काबायभालाई सिकाउन मानिनन् किनभने उनको उचाइ होचो थियो अनि शरीरको तौल धेरै । तर, काबायभाको कला देखेर दंग परिन् । इरिनाले तौल घटाउन काबायभालाई ३ दिन त पानी मात्र पिउन लगाइन् । काबायभा भोकले तिल्मिलाउँथिन् र खाना माग्थिन् तर इरिनाले अन्नको एक दाना पनि दिइनन् । यसरी कडा अनुशासन र प्रशिक्षणपछि रुसका लागि ‘शुद्ध सुन’ सावित भइन् । सन् १९९६ देखि विभिन्न मुलुकमा हुने प्रतियोगितामा भाग लिन थालेकी उनले सन् २००४ भित्र राष्ट्रका लागि २ वटा ओलम्पिक मेडल, १४ वटा विश्व च्याम्पियनसिपको उपाधि र २१ वटा युरोपियन च्याम्पियनसिपको पदक दिलाइन् । 

खेलजीवनबाट संन्यास लिएपछि युनाइटेड रसियन पार्टीमा लागिन् र दुईपटक सांसद भइन् । उनले राजनीति शुरु गरेको दलका नेता हुन् दिमित्री मेदभेदेभ । दिमित्रीलाई वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको ‘गोटी’ मानिन्छ । रुसमा एकै व्यक्तिले राष्ट्रपति पद दुई कार्यकालसम्म चलाउन नपाउने भएका कारण पुटिनले दोश्रो कार्यकालपछि आफ्नो कुरो सुन्ने–मान्ने प्रधानमन्त्री दिमित्रीलाई राष्ट्रपति बनाए र आफू प्रधानमन्त्रीमा झरेका थिए । अनि दिमित्रीको कार्यकाल सकिएपछि निर्वाचनमार्फत फेरि आफैँ राष्ट्रपति बने र दिमित्रीलाई प्रधानमन्त्री बनाए । यसरी पुटिन आजसम्म राष्ट्रपति छन् । 

काबायभाको चर्चा हिजो उनले रुसका लागि पदक जित्दा हुन्थ्यो तर त्योभन्दा बढी चर्चा आजभोलि वर्तमान विश्वका शक्तिशाली नेता भ्लादिमिर पुटिनसित जोडिन पुगेकाले हुन थालेको छ । यहाँसम्म कि उनीहरूको दुई छोरासमेत भएको चर्चा छ । दि इकोनोमिक टाइम्सका अनुसार जेठो छोरा इभान १० र भ्लादिमिर ६ वर्षको भइसकेका छन्् । पुटिन र काबायभाबीच गोप्य सम्बन्धको पर्दाफास पहिलो पटक सन् २००८ मा राजधानी मस्कोबाट प्रकाशन हुने अखबार मस्कोभ्स्की करेस्पोण्डेन्टले गरेको हो । उक्त अखबारले अप्रिल १२ को अंकमा पुटिनले पत्नी ल्युडमिलासित सम्बन्ध बिच्छेद गरी २५ वर्षीया जिम्नास्टिक खेलाडी एलिना काबायभासित बिहे गर्न गइरहेको आशयसहित समाचार प्रकाशित गरेको थियो, समाचार छापिएलगत्तै ठूलै हंगामा खडा भयो र अक्टोबरमा पत्रिका बन्द गराइयो । यसपछि भने प्रायः अखबारले दुर्ईजनाबीचको प्रेम सम्बन्धबारे समाचार छापेको छाप्यै गर्न थाले । यो समाचार न्युयोर्क टाइम्स र पेरिस म्याच जस्ता पत्रिकाले पनि छापे । स्मरणीय छ, त्यतिञ्जेलसम्म पुटिन र ल्युदमिलाको सम्बन्ध बिच्छेद भइसकेको थिएन । 

यसबीच, सन् २०१५ को मार्चमा काबायभाले सुटुक्क स्विट्जरल्याण्ड गई त्यहाँको सेन्ट एनस्थित भिआइपी अस्पतालमा सन्तान जन्माएको सनसनीपूर्ण खबर छापियो । पुटिन र काबायभाको गोप्य प्रेम सम्बन्ध यसकारण पनि चर्चाको शिखरमा पुग्यो किनभने पुटिन त्यसबेला ५७ वर्षका थिए भने काबायभा मात्र ३२ की थिइन् । पुटिननिकट मानिने नेशनल मिडिया ग्रुपको बोर्ड अध्यक्षसमेत भइराखेकी उनले सन् २०१९ मा मस्कोकै एउटा अस्पतालमा फेरि दोश्रो सन्तानको रूपमा छोरो जन्माएको खबर बाहिर आयो । यसपछि पुटिन बिरोधीहरूले उनलाई रुसकी अवैध महारानी भन्न थाले । ‘मेल अनलाइन’ मा प्रकाशित समाचारअनुसार सन् २०१३ मा काबायभा स्वयंले खुलासा गरेकी थिइन्, ‘मैले एउटा यस्तो व्यक्तिलाई भेटें, जोसँग म प्रेम गर्छु ।’

शीतयुद्धताका निकै शक्तिशाली मानिएको गुप्तचर संस्था केजिबीमा १६ वर्ष लेफ्टिनेन्ट कर्नेल र सोभियत संघको विघटनपश्चात् रुसी राष्ट्रपति बनेका बोरिस येल्तसिनको पालामा गुप्तचर संस्था (संघीय सुरक्षा सेवा) को निर्देशक र रुसी सुरक्षा परिषद्को सचिव हुँदै राजनीतिमा होमिएलगत्तै पुटिन एकैचोटी सन् १९९९ मा प्रधानमन्त्री बनेका थिए । उनले अन्तर्राष्ट्रिय कानुनमा स्नातकसम्मको पढाइ पूरा गरेपछि सन् १९७५ मा तत्कालीन सोभियत कम्युनिष्ट पार्टीको सदस्यता लिए । पछि अर्थशास्त्रमा स्नातकोत्तर गरे । सन् १९८१ मा केजिबीमा कार्यरत थिए । एकदिन हाँस्य कलाकारको कार्यक्रम हेर्न लेनिनग्रादस्थित थिएटर पुगेका थिए । त्यहीं उनको भेट ल्युदमिला अलेक्ज्याण्ड्रोभ्ना ओचेरेन्तायासित भयो । फ्रेन्च, स्पेनिश र जर्मन भाषा समेत जानेकी ल्युदमिला रुसी विमान सेवा एरोफ्लोटमा विमान परिचारिकाको काम गर्थिन् । पहिलो भेटपछि नै उनीहरू मिल्ने साथी बने । भेटघाट बाक्लो बनाए । एकार्कालाई मन पराउन थाले । यो क्रम १८ महिनासम्म चल्यो । 

पुटिनले उनलाई आफू जासुस भएको बताएनन्, प्रहरीको अनुसन्धान इकाइमा कार्यरत रहेको भनेर झुटो बोलिरहे । ल्युदमिलाले पुटिनको यथार्थ पेशा सन् १९८३ मा बिहेपछि मात्र थाहा पाइन् । ल्युदमिला पहिलो पटक सन् १९८५ मा छोरी मारियाको आमा बनिन् भने १६ महिनापछि फेरि अर्की छोरी क्याटरिनाको । उनले लेनिनग्राद विश्वविद्यालयमा जर्मन भाषा पढाइन् । पुटिन सन् १९९९ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि मस्को फर्किइन् र लोग्नेका लागि जनसम्पर्कको व्यवस्थापन मिलाउनतिर लागिन् । सन् २००० मा जब पुटिन पहिलोपटक राष्ट्रपतिमा चुनिए, स्वतः प्रथम महिला बन्न पुगेकी उनी पर्दा पछाडि नै बसिन् । पुटिन आफ्नो निजी जीवनलाई सार्वजनिक जीवनभन्दा टाढै राख्न चाहन्थे । पुटिन र ल्युदमिलाको दाम्पत्य जीवन ३० वर्षसम्म चल्यो । उनीहरूबीच कहिल्यै खटपट भएको सूचना सार्वजनिक भएन, हो एकपटक उनले जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा हाँस्दै लोग्नेबारे टिप्पणी गरेकी थिइन्, उनी पिशाच हुन् भनेर । यसबीच, सन् २०१३ मा अकस्मात छुट्टिने निर्णयमा पुगे र अर्को वर्ष अलग्गिए । ल्युदमिलाले लोग्नेसित छुट्टिने निर्णय गर्नुको कारण पुटिनले आफूलाई कहिल्यै समय नदिनु रहेको बताएकी थिइन् तर धेरैले काबायभासितको सम्बन्ध प्रमुख कारण रहेको बताउने गरेका थिए । लोग्नेसित छुट्टिएको दुई वर्षपछि ६४ वर्षीया ल्युदमिलाले ४४ वर्षीय अर्टर ओचेरेट्नीसँग बिहे गरिन् ।

पुटिन र ल्युदमिलाकी छोरी मारिया मेडिकल रिसर्चर हुन् र मस्कोमा डच पति जारिट फेसेनसँग बस्छिन् । अर्की छोरी क्याटरिना एक्रोब्याट डान्सर हुन् । उनी कुनैबेला मस्को स्टेट युनिभर्सिटीको उच्च पदमा आसिन थिइन् तर सुरक्षाका कारण पुटिनले त्यहाँबाट हटाइदिए । क्याटरिना मनमौजी र रसिक स्वभावकी छिन्, जो रेस्टुराँमा मस्तीका लागि नाम बदली रहन्छिन् । क्याटरिनाले सन् २०१७ मा रुसका अर्बपति काइली श्यामलावसँग विवाह गरेकी थिइन् तर हालै उनीहरूको पनि सम्बन्ध बिच्छेद भइसकेको छ । दुवैलाई पुटिनले आफ्नी छोरीको रूपमा कहिल्यै सार्वजनिक पहिचान दिएनन् । उनले यसलाई ‘सुरक्षाको कारण’ बताउने गरेका छन्् । पुटिनले सधैं आफ्नो बाह्य अफेयरलाई नकार्दै आइरहेका छन् तर रुसी अखबार प्रोएक्टले सन् २०२० मा उनको अर्को गोप्य सम्बन्ध पर्दाफास गरिदियो । उक्त अखबारका अनुसार उनको गोप्य सम्बन्ध स्वेतलाना क्रिभोनोगिखसँग पनि रहेको छ र उनीहरूका एक छोरी लुइजा रोजाभा हुन् जसलाई पुटिनले एलिजाभेटा ओलेगोभ्ना रुडनोभाको नाउँबाट पेरिसमा पढ्न पठाएका छन् । 

लुइजाको जन्म सन् २००३ मै भएको थियो । रुसले युक्रेनमा सैन्य आक्रमण गरेपश्चात युक्रेनी टेलिभजन टिएसएनले लुइजा पुटिनकी गुप्त छोरी हुन् भनेर जोडतोडले समाचार प्रशारण गरेको थियो । त्यसपछि लुइजालाई धेरै सञ्चारमाध्यमले पुटिनसितको सम्बन्धबारे सोधेका थिए तर उनले सधैं जवाफ दिन अस्वीकार गरिन् । टिएसएनका अनुसार पुटिनकी प्रेमिका र लुइजाकी आमा भनिएकी स्वेतलाना यतिखेर ५० वर्षकी भइन् र रुसी एक धनाढ्यमा पर्छिन् । उनको मोनाकोको मोन्टेकार्लोमा ठूलो व्यवसाय र आलिशान बंगला छ । स्वेतलाना एक सफाइ कर्मचारी थिइन् जो रातारात करोडपति बनिन् । पुटिनको बेलाबखत अन्य युवतीसितको सम्बन्धबारे पनि चर्चा चल्ने गर्छ । जस्तो ब्राजिलकी मोडल अर्थात् मिस बमबम सुजी कार्टेज । त्यस्तै चर्चित मिडिया टाइकुन रूपक मर्डोककी पूर्वपत्नी वेण्डी दे¨, रुसको सेफ इन्टर्नेट लिग चलाउने कात्या मिलिजुना, मिस रुस बनिसकेकी र टिभी कार्यक्रम सञ्चालिका भिक्टोरिया लोप्रेभा । तर, यी सम्बन्धको पुष्टि कहिल्यै हुन सकेन ।
 

टिप्पणीहरू