पहिरोमा परी मृत्यु भएका खेलाडीको स्मृतिमा फूटबल प्रतियोगिता हुने

पहिरोमा परी मृत्यु भएका खेलाडीको स्मृतिमा फूटबल प्रतियोगिता हुने

गत वर्ष मकवानपुरमा पहिरोमा परी ज्यान गुमाएका ६ खेलाडीको सम्झनामा यु-१४ छात्र/छात्रा अन्तर विद्यालय फूटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा) र परिवारमाबीच एन्फा कम्प्लेक्समा आज भएको छलफलबाट उनीहरुको सम्झनामा फूटबल प्रतियोगिता गर्ने निर्णय भएको हो ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा परि श्री वत्सलादेवी माध्यमिक विद्यालय इन्द्रसरोवर-३ सिस्नेरी मकवानपुर स्थित एन्फा एकेडेमीमा रहेका खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको मृत्यु भएको थियो ।

एन्फाको अनुसार स्वर्गीय खेलाडीहरूको स्मृतिमा एन्फा यू–१४ छात्र/छात्रा अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ सञ्चालन गर्ने निर्णय भएको हो । यसअनुसार, सम्बन्धित परिवारजनलाई सम्बन्धित जिल्लामा जिल्ला फुटबल संघमार्फत र केन्द्रमा केन्द्रीय स्तरमा सहभागी गराई प्रतियोगिता सञ्चालन गर्ने सहमति गरिएको छ ।

यस्तै, स्वर्गीय खेलाडीहरूको अर्धकदको सालिक एन्फा कम्प्लेक्स, सातदोबाटोमा स्थापना गरिने भएको छ । सालिक निर्माण सम्पन्न भएपछि परिवारजनको आपसी सहमतिमा घटनाको वार्षिक पुण्यतिथि वा अन्तर–विद्यालय प्रतियोगिताको फाइनल खेलको अवसरमा अनावरण गरिने एन्फाले जनाएको छ।

खेलाडीहरूको स्मृतिमा स्थानीय स्तरमा फुटबल खेलको विकासलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्न सम्बन्धित परिवारजनको सहमतिअनुसार क्षेत्रमा अक्षयकोष स्थापना गर्ने र उक्त कोष निर्माणका लागि अन्य सहयोगी संघ–संस्था तथा व्यक्तिहरूलाई समेत सहयोगको लागि आह्वान गरिने एन्फाल जनाएको छ । कोषको सञ्चालन सम्बन्धित परिवारजनकै पूर्ण अधिकारमा रहनेछ ।

यस्तै उनीहरुको पुण्यतिथि असोज १२ गतेको दिनमा संघले वार्षिक रूपमा परिवारजनको सहभागिता सहित श्रद्धाञ्जली सभा आयोजना गर्ने आजको बैठकबाट भएको छ ।
 

टिप्पणीहरू