प्रदेशका मुख्यमन्त्री ठेकेदारदेखि ठेकेदारसम्म !

प्रदेशका मुख्यमन्त्री ठेकेदारदेखि ठेकेदारसम्म !

मानव सभ्यतामा पति–पत्नीबीच मत नबाझ्ने र ठाकठूक नहुने कुनै समाज छ ? भनाइ नै छ, मतभेद कहिले काँही हात हालाहालको स्थितिसम्म पनि पुग्ने गर्छ अनि रात नसकिँदै ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भएर सामसुम हुन्छ । तर दुई ठेकेदारबीचको तेरोमेरो झगडा अग्राखको मूढाको आगो जस्तै हुने रहेछ ! त्यही कारणले बागमती प्रदेशका काँग्रेसका दुई ठेकेदारबीचको झगडा कोइलाको चोइलो भन्दा पनि बढी रापिलो र पुत्पुताउँदाे देखिँदोछ । काँग्रेस पार्टीका दुई ठेकेदार नेताबीचको विवाद पार्टीले ह्वीप लगाइसक्दा पनि मत्थर हुन सकिरहेको छैन ! यो आलेख तयार गरिरहँदा नयाँ वागमती सरकार सदनमा विश्वासको मत लिन अग्रसर देखिएको छ तर स्थिति कतिसम्म तरल छ भने काँग्रेसकै मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन बाध्य पार्ने इन्द्रबहादुर बानियाँलाई नयाँ मुख्यमन्त्रीमा विश्वासको मत खन्याउनुभन्दा बरु राजीनामा दिने तर उनलाई मत नदिने अडान लामा पक्षको छ मेरो पक्षका तीन जनालाई मन्त्री बनाउने हो भने मात्र मत दिन्छौं, होइन भने जयनेपाल । काँग्रेसीहरुबीचको आगो झन् धुवाउन पो थालेको छ ।

सातदिन अघि नयाँ मुख्यमन्त्री बनेका बानियाँ र जबर्जस्त हटाइएका लामा दुबै क वर्गका ठेकेदार हुन् । दुई ठेकेदारबीच कि तँ छैनस् कि म छैन भन्ने स्तरको विवाद लामो समयदेखि राजनीतिक दलमा मुखरित हुनुको कारण के हो ? यसको एउटै जवाफ हो, बिचौलिया, डन, अपराधी, माफिया, ठेकेदार, दलाल, व्यापारी, तस्कर, लुटेरा, ठग, नटवरलालहरुलाई राजनीतिमा निषेध गर्नुपर्छ । कुनै पनि सार्वजनिक पद मेयर, सांसद, मन्त्री, मुख्यमन्त्रीको लागि नत टिकट दिनुहुन्छ नत बन्द सूचीमै राख्नुहुन्छ । यो कुरा स्तंभकारले पटक पटक लेख्ने गरेकै हो । कुरा समृद्धि, सुशासन र सामाजिक आर्थिक न्यायको गर्ने काम भने बिचौलिया माफिया ठेकेदारको गर्ने ? यो परस्पर विरोधी कुरा हो । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय परिसर मुख्यसचिवको कार्यालयको बाहिर ढोकामा टाँगिएको छ, बिचौलीयालाई प्रवेश निषेध छ ! त्यस्तै मन्त्री, सचिव र सहसचिवहरुको कार्यालयमा यत्रतत्र सर्वत्र म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार पनि गर्न दिन्नँ ।

इमान्दार राष्ट्रसेवकको रुपमा काम गर्छु भनेर लेखेको सूचना औंल्याउदै राजनीतिशास्त्रका प्राध्यापक खित्का छोडेर हाँस्छन् । उनी भन्छन्, जहाँ बिचौलिया निषेध भनेर लेखिएको छ, त्यहाँबाट हुने सबै काम, सबै निर्णयहरु बिचौलियामार्फत् मात्रै हुन्छ । भ्रष्टाचार गर्दिनँ र दिन्न भन्नेहरु पैसा बिना सिन्को भाँच्दैनन् । के जगले यी कुरा पत्याउँछन् ? उनी प्रश्न गर्छन्, यो मुलुकमा त्यस्तो इञ्जिनियर, कर्मचारी, लेखापाल छ जसले ठेकेदारसँग एकपैसा पनि नलिइकन बील पास र भुक्तानी गरेको छ ? छ भने मलाई बताइदिनुस् कृष्णमुरारीजी । म त्यस्तो इञ्जिनियर, लेखापाल र कर्मचारीको अभिनन्दन गर्छु । नेताहरु त बिचरा ! जवानीमा जेल बसे, लोकतन्त्र आएपछि शासनमा पुगे तर न देश बनाउने खाका कोरे नत सिद्धान्त आदर्श र नैतिकताको आचरणमै बसे । तिनै ठेकेदार, बिचौलिया, अपराधी माफियाका पूरा खाने परजीवी जस्ता पो सावित भए !
राजनीतिज्ञले आफ्नो धर्मको पालना नगरेर जथाभावी गर्न थालेपछि उनीहरु जोसँग साँठगाँठ गर्न पुग्छन् तिनले राजनीतिलाई रछ्यानमा ल्याएर पछारिदिए । अहिले भएको यत्ति हो ।

हाम्रो राजनीतिक व्यवस्थामा भएको अस्वस्थ, गलत र घिनलाग्दो होडबाजी त्यसैको सहउत्पादन हो अहिलेको अव्यवस्था । यो कुनै राजनीतिक प्रतिस्पर्धा होइन । राजनीतिको अराजनीतिक व्यापारबाट मौलाएको विकृति र विसंगति हो । बागमती प्रदेशसभामा देखिइरहेका पराकाष्टाहरु त्यसैको अवैध परिणाम हो । मुख्यमन्त्रीको फेरबदल ‘एनीहाउ पैसा कमाउ’ को राजनीति हो । यो राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हो । संघीय राजनीतिमा जे जस्ता अस्वस्थ होडबाजी भए र भैरहेछन् त्यसैको पछिल्लो प्रतिविम्ब हो बागमती प्रदेशमा गाइजात्राको भोलिपल्ट भएको नाली जात्रा !

अन्तरपार्टी लोकतन्त्रको अभावले हाम्रा प्रत्येक पार्टीमा अस्वाभाविक विवादहरु चुलिएका छन् । गाउँसम्म सिंहदरबार पु¥याउने भनिन्थ्यो तर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सिंहदरबारका विकृति, विसंगति र भ्रष्टाचारलाई स्थानीय निकायसम्म संस्थागत गरियो । बिचौलिया, डन, माफिया, तस्कर, भ्रष्टाचारी, कालाबजारियाहरुको बोलवाला संघ, प्रदेश र स्थानीय निकायका वडासम्म बढिरहेछ ।

राजनीति र राजनीतिक पार्टीको विशेषता नै यो कसैको निजी होइन, सार्वजनिक सम्पत्ति हो । तर नेपालमा राजनीतिक दललाई प्राइभेट लिमिटेड कम्पनी जस्तो बनाइएको छ । त्यसैको परिणाम हो अहिलेको विसंगति । सार्वजनिक प्रशासन, प्रहरी र संवैधानिक निकायहरु तिनैका शाखा र उपशाखा सरह बन्न पुगेका छन् ।

राजनीतिलाई मूल्यमान्यता आदर्श नैतिक आचरणमा बाँध्न नसकिएकोले सबैतिर बेथिति विस्तारित भएको हो । भनाइ नै छ, लथालिंग देशको भताभुंग चाला, ज–जसले सक्ला उसैउसैले खाला ! संकटको घडीमा निहित स्वार्थ भएकाहरु मौका कुरिरहेका हुन्छन् । मुढे बल प्रयोग गरेर शक्ति आर्जन गरेका र भ्रष्टाचार गरेर पैसा थुपारेका नेता र तिनका आसेपासेहरु अझ कमाउन र मुलुकलाई हरिकंगाल बनाउन लागिरहन्छन् । तिनले बुझुन् विद्रोही जनताको आँधिबेहरीले ती देश नै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्नसक्छन् । पछिल्लो समय बंगलादेश त्यसैको ज्वलन्त उदाहरण हो ।

कांग्रेस र एमालेको सहकार्यमा बनेको वर्तमान सरकार कुन उद्देश्य लिएर बनेको थियो ? दुई दलबीच सहमती भएका सातमध्ये कतिवटा बूँदा कार्यान्वयन भए ? अब कुन कार्यान्वयन गर्न बाँकी छ ? एमाले र काँग्रेसबीच एकवर्ष अघि भएको त्यो सम्झौताका बुँदाहरु कसले केलाउने ? सत्तापक्षले कि प्रतिपक्षले ? प्रतिनिधिसभामा लगभग दुइतिहाई बहुमत भएको एमाले कांग्रेस नेतृत्वको यो कार्यकाल कति कार्यमुखी भयो ? कतै कर्मचारी जस्तै दिन र महिना गनेर समय व्यतित गर्ने, दिन बिताउने, मानो पचाउने र काल पर्खने मात्र साबित भएको त छैन ? जनताको अवस्था र देशले सामना गर्नुपरेका समस्याहरु के कति समाधान भए ?

प्रधानमन्त्री केपी ओलीले गएको साता कुनै कार्यक्रममा मुखै खोलेर भनि पनि सकेका छन्, प्रतिकृयावादीलाई पटक पटक ठेगान लगाउन सकियो तर प्रकृयावादीहरुलाई नसकिने रहेछ ! उनको यो क्रन्दन उनकै आसेपासेले कति बुझे र उनलाई साथ दिए, उनी नै जानुन् । उनले कर्मचारीतन्त्र र प्रहरी प्रशासनमा सुशासन कायम गर्न अप्ठेरो परिरहेको अभिव्यक्ति त दिए तर उनकै नेतृत्वको सरकार यसवारे बेखबर देखिँदैछ ! देशका कार्यकारी प्रमुखको उक्त भनाईले राजनीतिलाई लयमा ल्याउन नसकेको सत्यलाई आत्मसात गरेको मान्नै पर्छ तर किन नेपालमा बारम्बार एउटै कुरा दोहोरिइरहन्छ ? 

देशको कार्यकारी प्रमुखले यसको समाधान गर्न जनतालाई आह्वान किन गर्दैनन् ? किन काविल खोजेर त्यसको समाधानमा लाग्दैनन् ? किन अयोग्यहरुबाट घेरिएर अरण्यरोदन गरिरहेछन् ? जाग केपी ओली, देश र जनताको पक्षपोषण हुने निर्णय गर ! रोजगारी सिर्जना गर्ने उद्योगहरु स्थापना गर ! आफूले गर्छु भनेका काम अगाडि बढाउ, तिनको कार्यान्वयनमा लाग । बकबक बोलेर जग हँसाउने काम नगर, बाँकि रहेको कार्यकालमै आफूले गर्छु भनेका सबैकाम फत्ते गर, शान्तसँग बाँकी जीवन विताउने मार्ग पहिल्याउ !    

देशमा मौलाएको बेथितिको जवाफ प्रधानमन्त्रीले नै दिने हो । सरकार भएको अनुभूति सर्वसाधारण जनतालाई गराउने हो । बाधा अवरोधहरुलाई किनारा लगाउने नेतृत्व पनि उनैले गर्ने हो, राजनीतिशास्त्रका ती प्राध्यापकले भने । उनले थपे, राजनीतिक नेतृत्वले रावणको भाइ कुम्भकर्ण जसरी सुत्न पाउँदैन । कुम्भकर्ण छ महिना सुत्थ्यो र छ महिना उठ्थ्यो तर यहाँ प्रत्येक छ महिना वर्षदिनमा सरकार परिवर्तन भैरहेछन्, केन्द्रमा हुन् कि प्रदेशमा । मंगलबार ४ बजे बागमती प्रदेशमा विश्वासको मत लिने कार्यसूची रहेको समय दुई ठेकेदारबीचको विवादले घर्केपछि राजनीतिमा ठेकेदार हावी हुनुको परिणामले नै बेथिति भएको प्राध्यापकको निश्कर्ष छ । उनी भन्छन्, निर्माण व्यवसायका ठेकेदारहरु कि म्यानपावर, हाइड्रो, जग्गा दलाली र काठ तस्करीका ठेकेदारहरुको हालीमुहालीले राजनीति चाँडैनै सुध्रिएला भन्ने लाग्दैन ।

टिप्पणीहरू