‘नेप्से एआई’ डाउनलोड गरेपछि साढे २८ लाख गायब
‘नेप्से एआई’ नामक एपमार्फत ठगी बढ्न थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सर्वसाधारणलाई सचेत गराएको छ ।
उक्त एप डाउनलोड गरेर सेयर बजारको विश्लेषणमार्फत् बढीभन्दा बढी नाफा कमाउनसक्ने भ्रामक विज्ञापन सामाजिक सञ्जालमा राखेर ठगी गर्ने क्रम बढेपछि सिआईबीले सचेत गराउनुपरेको बताएको छ । सिआईबीका अनुसार उक्त एप डाउनलोड गराएपछि रिमोट सेसन खोली मोबाइलमा पहुँच पुग्छ । त्यसको केही क्षणमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र पठाउने, डाटा र एपहरु मेटाएर प्रमाण नष्ट गर्ने गरेको पाइन्छ ।
हालै एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गर्दा बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ चोरीको उजुरी परेको पनि सिआईबीले जनाएको छ ।
‘निजको विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको र निजको मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरुसमेत मेटाएको भनि यस कार्यालयमा उजुरी प्राप्त र यस्ता कयौं ठूला विगतका घटनाहरु उजुरीहरुसमेत प्राप्त भइरहेको,’ सिआईबीले भनेको छ ।
यस्ता घटनाबाट जोगिन टु–फ्याक्टर अथेन्टिकेसन कोड प्रयोग गर्न, पासवर्ड समय समयमा फेर्न, अपरिचित लिंक वा विज्ञापनमार्फत एप इन्स्टल नगर्न, रिमोट एक्सेस कसैलाई नदिन तथा आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्न सिआईबीको सुझाव छ । साथै, घटनापछि सम्बन्धित बैंक, वित्तिय संस्था वा नजिकको प्रहरी कार्यालय, साइबर ब्यूरोमा खबर गर्न अनुरोध गरिएको छ ।
टिप्पणीहरू