तीन महिनापछि वाकयुद्ध, भारतलाई पाकिस्तानको चेतावनी
गत मे महिनामा चार दिन चलेको भारत–पाकिस्तान युद्धमा दुवै पक्षले एकअर्काका लडाकू विमान खसालिएको दाबी गरेका छन् । भारतीय वायुसेना प्रमुख एअर मार्शल अमरप्रित सिंहले ‘अपरेसन सिन्दूर’ मा भारतले पाँचवटा लडाकू विमान र एउटा निगरानी विमान गरी जम्मा छ वटा पाकिस्तानी विमान एस–४०० जमिनबाट आकाशमा प्रहार गर्ने मिसाइलबाट खसालिएको बताएपछि पाकिस्तानले पनि भारतीय विमान खसालिएको दाबी गरेको छ ।
भारतीय मार्शलले ती विमानलाई ३०० किलोमिटरभन्दा टाढाबाट प्रहार गरेर खसालिएको बताएका छन् । पाकिस्तानले भारतले एउटा पनि पाकिस्तानी विमान नखसालेको बरु उल्टै पाकिस्तानले भारतीय विमान खसालिएको बताए । रक्षामन्त्री ख्वाजा मोहम्मद आशिफले भनेका छन्, ‘तीन महिनासम्म कुनै दाबी नगरेको भारतले अहिले राजनीतिक खपतका लागि यस्ता बयान दिएका हुन् । विश्वासका लागि भारत आफ्ना लडाकू विमानहरूको सूची स्वतन्त्र रूपले खुलाउन तयार हुनुपर्छ ।’
पाकिस्तानले भारतका छवटा लडाकू विमान, एस–४०० हवाई प्रतिरक्षा प्रणाली, मानव रहित विमान (ड्रोन) नष्ट गरेको गरेको दाबी गर्दै आएको छ । यसका साथै, भारतीय वायुसेनाका केही प्रमुख हवाई अड्डाहरूलाई समेत निष्क्रिय बनाएको र नियन्त्रण रेखामा भारतीय सेनाले गम्भीर मानवीय क्षति बेहोरेको उसको पटक पटकको भनाइ छ ।
अन्तर्राष्ट्रिय मिडिया र गुप्तचर स्रोतहरूको हवाला दिँदै फ्रान्स निर्मित रफाल लडाकू विमान समेत आफूले खसालेको पाकिस्तानी दाबी छ । भारतले पाकिस्तानी जे–१०सी विमानबाट प्रहार गरिएको चिनियाँ पीएल–१५ मिसाइलको वास्तविक दूरी क्षमताबारे गलत सूचना पाएका कारण रफाल विमान गुमेको रोयर्टर्सको समाचारमा उल्लेख थियो ।
पाकिस्तानले चेतावनी दिँदै भनेको छ, ‘अपरेसन ‘बुन्यानुम मर्सुस’ मा जस्तै आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डता उल्लंघन गर्ने प्रत्येक प्रयासमा छिटो, सुनिश्चित र अनुपातिक जवाफ दिइने छ । यसका लागि कुनै सम्झौता नभई कारवाही गरिनेछ । यदि तनाव बढ्यो भने त्यसको पूर्ण जिम्मेवारी भारतीय नेतृत्वले लिनुपर्नेछ जसले दक्षिण एसियाली शान्तिलाई क्षणिक राजनीतिक लाभका लागि जोखिममा पार्नेछन् ।’
टिप्पणीहरू