भ्रष्टाचारमा तानिए वडाध्यक्ष
घुससहित समातिएका रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जर्नादन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित अर्का एक जनामाथि मुद्दा दायर गरेको छ ।
वडाध्यक्ष यादवसँगै सिद्धार्थनगर नगरपालिका–९, का विपिनकुमार पाण्डेयविरुद्ध मुद्दा दर्ता भएको छ । आयोगको बुटवलबाट खटिएको टोलीले गत असार २३ गते उनीहरुलाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा विभिन्न योजनाको काम सम्पन्नपश्चात् भुक्तानी सिफारिस गर्ने बेला उनीहरुले घुस खुलेको अख्तियारको ठहर छ ।
‘सिसु सेमरा दक्षिण धोवहिया छठ घाट निर्माण, पुर्निकोट गाउँभित्र सडक पीसीसी ढलान र सुरहवाँ गाउँभित्र सडक पीसीसी ढलान कार्य योजनाहरुको काम सम्पन्न भई सिफारिस दिने कार्यमा सेवाग्रहीसँग तीन लाख रुपैयाँ घुस–रिसवत माग गरी पाण्डेयमार्फत रिसवत लिन लगाएको तथ्य पुष्टि हुन आएको,’ अख्तियारले भनेको छ ।
अख्तियारद्धारा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम तीन लाख रुपैयाँ बिगो कायम गर्दै दुवै जनालाई कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।
टिप्पणीहरू