हतार हतार जवाफ आयो– मलाई के मतलव !
पहिले प्रष्ट कुरा गरेनन्, अहिले सम्मानित पदमा पुगेको मान्छे पार्टीमा आउन हुँदैन भन्दै सदस्यतासमेत खोसिएपछि राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘अलपत्र’ परेकी छन् । साउन ५ गते च्यासलमा भएको ‘वान टु वान’ वार्तामा अध्यक्ष केपी शर्मा ओलीसँग यही विषयमा सरोकार राख्दा ‘सकारात्मक जवाफ’ पाएकी थिइन् । तर, केन्द्रीय समितिले पार्टीमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि राजनीतिमा एक कदम राखिसकेकी भण्डारी अप्ठेरोमा परेकी हुन् ।
साउन ४ गते पोलिटव्युरो बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी भोलिपल्टै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी थिइन् । अघिल्लै दिन अपराह्न ३ बजे भेट्ने तय भएअनुसार समयमै पुगेकी उनलाई पहिलो गाँसमै ढुंगा भनेझैं १ घण्टा कुर्नुपर्यो । भेटमा भएका छलफलका भित्री कुरा औपचारिक रुपमा दुवै पक्षले खुलाएका छैनन् । तर, विद्या सम्वद्ध स्रोतका अनुसार त्यसदिन अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन उपयुक्त वातावरण बनाउन सघाउने बचन दिएका थिए ।
बताइएअनुसार शुरुमा अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा फर्किने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे । दबाबको रुपमा नभई सम्मानित पदमा पुगिसकेको मान्छे सम्मानित भएरै बस्नु उपयुक्त हुने भन्दै त्यसतर्फ ध्यान दिन सुझाइयो । ‘सम्मानित मान्छे, पार्टीमा नआउनु भन्ने मेरो सुझाव छ’, अध्यक्षलाई भण्डारीको जवाफ रह्यो– ‘म धेरै अगाडि बढिसकेँ कसरी ब्याक हुनु, यही कुरा तपाईंले पहिले नै भनेको भए हुन्थ्यो, अब त सम्भव नै छैन !!’
त्यसपछि यसबारे थप छलफल भएन । बरु कुराकानीकै क्रममा विद्याले पार्टी कार्यालयमा आफ्नो लागि कार्यकक्ष स्थापना गर्न अध्यक्षको ध्यानाकर्षण गराइन् । ‘म यहाँ आएको बेला कहाँ बस्ने हो, एउटा रुम बनाइदिनुपर्यो !’, त्यसको जवाफमा ओलीले हुन्छको संकेतमा मुन्टो हल्लाएको स्रोतको दावी छ ।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे कुरा चल्यो । अघिल्लो दिन प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधानको विभिन्न धारा उद्धृत गर्दै सदस्यता होल्डमा रहेको समाचार टिपाएका थिए । त्यसप्रति चासो राख्दा ओलीले आश्वस्त पार्दै भने– ‘यो राजनीतिक कुरा हो, तपाईं पार्टीमा आउने हुँदा सदस्यता नवीकरणमा समस्या हुँदैन !’ यसरी पार्टी कार्यालयमा कार्यकक्ष समेत पाइने भएपछि खुशी हुँदै निस्किएकी भण्डारीले बाहिर अध्यक्षसँग सकारात्मक कुरा भएको प्रतिक्रिया दिएकी थिइन् । ‘उहाँ केपी ओलीले पार्टी अफिसमा कोठा दिन्छन् भनेर ढुक्क हुनुहुन्थ्यो, तर ७ गते त बाटो छेक्ने निर्णय गरिहाले’, जानकार स्रोतले उक्त दिनको प्रसँग खुलाउँदै भन्यो ।
त्यसो त, केपी ओलीको स्वभाव नै हो अप्ठेरो परेपछि सम्झौता गरिहाल्ने तर कार्यान्वयन नगर्ने । पार्टीभित्र होस् या बाहिर थुप्रै लिखित सम्झौता पनि उनले तोडेको उदाहरण छ । नेकपाकालमा प्रचण्डसँग भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयनमा अनिच्छा देखाएकै कारण विवाद चर्किएको र पार्टी फुटको तहमा पुगेको भन्ने गरिन्छ । अहिले ‘शेरबहादुर देउवालाई बेलैमा सत्ता हस्तान्तरण गर्छु’ भन्दै हिँड्नुपरेको यही अविश्वासले गर्दा हो । पूर्वराष्ट्रपति भण्डारीसँग कुनै लिखित सहमति भएको थिएन । तैपनि सम्माननीय पद छोडेर कमरेड बन्न इच्छुक उनलाई अप्ठेरो नपार्ने बचन दिएका ओलीले ठीक विपरित निर्णय गराएपछि भंगालमा भेला हुनेहरूले धोका पाएको निश्कर्ष आपसमा सुनाउने गरेका छन् । केन्द्रीय समितिबाट भण्डारीलाई रोक्ने निर्णय त गराइयो नै, उनको पक्षमा नबोल्न नेताहरूलाई उर्दी जारी गरेर थप दबाबमा राख्ने प्रयाससमेत भयो । यो क्रम विस्तार हुँदै अहिले दिनदिनै सरकारी निवासमा गुटको भेला गरेर तलैसम्म भण्डारी पक्षलाई रोक्न निर्देशन दिन थालिएको छ ।
पछिल्लो एक हप्तामा दुई वटा त्यस्ता गुटको भेला बालुवाटारमा सम्पन्न भैसकेको छ । केन्द्रीय कमिटी बैठकको भोलिपल्ट पुष्पलाल जयन्तीको दिन साउन ८ गते सातै प्रदेशका इञ्चार्ज, अध्यक्ष र ओलीनिकट सचिवालय सदस्यको बैठक बसेको थियो । ओली हेलिकोप्टर चढेर मधेस झरेको अघिल्लो रात बालुवाटारमा भएको बैठकमा शंकर पोखरेल र विष्णु रिमाल त हुने नै भए रामबहादुर थापा बादल, पृथ्वीसुब्बा गुरुङ र पद्मा अर्याललाई पनि राखिएको थियो । भेलाको चाँजोपाँजो मिलाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल त हर्ताकर्ता नै भइहाले ।
बेलुकी ८ बजेका लागि खबर गरिएकाले प्रायः तोकिएकै समयमा बालुवाटार पुगेको टोलीले ३ घण्टा कुर्नुपर्यो । अध्यक्ष ओली पौने ११ बजे बैठक हलमा प्रवेश गरेपछि शुरु भएको छलफल बिहान ३ बजेसम्म चलेको थियो । ८ बजेदेखि कुर्दाकुर्दा हैरान भएपछि केही नेता बीचैमा घर फर्किए । मुटु रोगी बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल औषधि खानुपर्ने भएकाले साढे १० बजेतिर बाहिरिएका थिए । त्यसो त, ओलीको सहभागिता रहने बैठक/कार्यक्रम दुई–चार घण्टा ढिलो हुनुलाई एमालेमा सामान्य मानिन्छ ।
उपाध्यक्ष विष्णुले छलफलको प्रयोजन र विषयवस्तुबारे प्रष्ट्याएसँगै शुरु भएको बैठकमा पहिले प्रदेश इञ्चार्जहरूलाई बोल्न दिइयो । पूर्वराष्ट्रपतिलाई रोकेपछि पार्टीलाई पुग्नसक्ने सम्भावित क्षतिबारे प्रदेशगत रुपमा रिपोर्ट गराइएको थियो । त्यसपछि एकैचोटि ओलीले संबोधन गरे ।
निर्णायक राष्ट्रिय शक्ति भन्दै ०८४ को निर्वाचनमा एकल बहुमतको सरकार बनाउने हैसियतमा पार्टीलाई पुर्याउने लक्ष्य एमालेले राखेको छ । त्यसनिम्ति पार्टीमा आन्तरिक एकता बलियो हुनुपर्नेमा ओलीसहितका नेताहरूले जोड दिँदै आएको पाइन्छ । तर, नेताहरूका बोली र व्यवहार भने त्यसअनुकूल देखिंदैन । होहल्ला र कोलाहलपूर्ण वातावरणमा आफ्ना कुरा सुनाएर केन्द्रीय समिति बैठक समापन गरी बाहिर निस्कँदै गर्दा उपाध्यक्ष युवराज ज्ञवालीलाई ओलीले दिएको एउटा जवाफले धेरै कुरा छर्लंग हुन्छ । अध्यक्ष ओली केन्द्रीय समितिको बैठक सकेर हतार हतार निस्कँदै थिए । सुरक्षा घेरामा गाडी चढ्न लागेका उनलाई रोक्दै ज्ञवालीले भने– ‘बर्बाद भयो नि !’ रुखो शैलीमा ओलीले जवाफ फर्काए– ‘मलाई के मतलव, जेसुकै होस् ।’ आफू सरहको नेतालाई उनले दिएको यस्तो गैरजिम्मेवारपूर्ण जवाफ त्यहाँ रहेका सुरक्षाकर्मीले पनि सुनेका थिए ।
(जनआस्था साप्ताहिकको साउन १४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू