रेशमको तयारीबारे रञ्जिता- ‘मलाई मतलब छैन’

रेशमको तयारीबारे रञ्जिता- ‘मलाई मतलब छैन’

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले घुसकाण्डमा मुछिएकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट निकाल्ने तयारी गरेको छ । संरक्षक रेशमलाल चौधरीसहित बहुमत नेताहरु उनलाई अध्यक्षबाट हटाउनुपर्ने पक्षमा उभिएका हुन् । 

घुस डिलमा रञ्जिताको समेत संलग्नता रहेको तथ्य सार्वजनिक भइरहँदा उनले पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यावाहक जिम्मेवारी सुम्पिएपछि रेशमसहित धेरै नेता रुष्ट छन् । पार्टी स्थापनादेखि योगदान पुर्याएका पुराना नेताको पंति हुँदाहुँदै राप्रपाबाट आएका बास्तोलालाई कार्यवाहक जिम्मेवारी तोकिएपछि किचलो चर्किएको हो ।

यस सम्बन्धमा पार्टीको अनुशासन समितिले रञ्जितालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, उनले जवाफ नदिएको अनुशासन समितिका संयोजक रामलाल डगौरा बताउँछन् । स्पष्टिकरण नदिएपछि उनलाई हटाउन थप प्रक्रिया अघि बढाइदै छ ।  

तीन कारण देखाउँदै रञ्जितालाई निष्कासनको कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई गराउने नाउपाको तयारी छ । अनुशासन समितिको कारवाहीलाई आज मध्य बानेश्वरमा बसेको राष्ट्रिय भेलाले अनुमोदन गरेपछि आयोगलाई जानकारी गराइनेछ । 

उता, अध्यक्ष रञ्जिताले भने आफूलाई स्पष्टीकरणको पत्र नै नआएको र पार्टीमा भइरहेको गतिविधिबारे अनविज्ञ रहेको प्रतिक्रिया दिएकी छन् । स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय निवासमै आराम गरिरहेको उनको भनाइ छ । 

‘मलाई कुनै स्पष्टीकरण पत्र आएको छैन, पत्र नै नआएपछि जवाफ दिने कुरा पनि भएन’, उनले जनआस्थासँग भनिन्, ‘म अलि बिरामी छु, पार्टीलाई समय दिन नसक्ने भएपछि कार्यवाहक जिम्मेवारी तोकेको छ, अरु के के भइरहेको छ, मलाई केही थाहा छैन ।’

पूर्व भूमिमन्त्री रञ्जिताले राष्ट्रिय भेलाले गर्ने निर्णयप्रति आफ्नो कुनै चासो नरहेको पनि बताइन् । ‘अब हेर्नुस्, पार्टीका कसले के के गरिरहेको छु, सबैको जानकारी म राख्न सक्दैन, सीमित साथीहरुको भेलाले गर्ने निर्णयसँग मलाई कुनै सरोकार छैन’, उनले थपिन् ।

टिप्पणीहरू