बथानै स्वार्थ बाझिने गरी बिदेशतिर

बथानै स्वार्थ बाझिने गरी बिदेशतिर

यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख राजुप्रसाद मैनालीसहित झण्डै एक दर्जन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको छ । ड्राइभिङ सेन्टरको प्रायोजनमा विदेश भ्रमणमा गएको भन्दै अख्तियारमा आज उजुरी दर्ता भएको हो । 

गत असार २५ गते प्रमुख मैनालीसहित सूचना अधिकारी पवन बजगाईँ, इञ्जिनियर दीपक थापा,टिका राउत, लक्ष्मी भण्डारीलगायत कार्यालयका १० कर्मचारी थाइल्याण्ड,भियतनाम, मलेसिया,सिंगापुरलगायतका मुलुक गएका थिए । कार्यालय नै खाली गरेर उनीहरु सुमन ट्रायल सेन्टरको प्रायोजनमा विदेश गएको उजुरीकर्ताको आरोप छ । 

दर्ता नम्बर ८२८३ सि–००२९०३ भएको उजुरी पत्रमा भनिएको छ,‘कार्यालय प्रमुख राजुप्रसाद मैनाली,सूचना अधिकारी पवन बजगाईँ,प्राविधिक इञ्जिनियर दिपक थापासहित अन्य कर्मचारीहरु टिका राउत,लक्ष्मी भण्डारीलगायत १० जना कार्यालयका कर्मचारी यही असार २५ गते भारत, दुबई,मलेसिया,सिंगापुरलगायतका मुलुक भ्रमणमा निस्किएका हुन् । कार्यालय नै खाली गराएर सरकारी कर्मचारीहरु काभ्रेस्थित सुमन ड्राइभिङका सञ्चालक सुमन केसीको प्रायोजनमा विदेश घुम्न जानुले भ्रष्टाचारमा संलग्न रहेको विषय स्पष्ट रहेको छ ।’

प्रदेश सरकारले ट्रायल सेन्टर छनौट गर्न आह्वान गरेकै बेला विदेश घुम्न जानुले भ्रष्टाचारको संकेत गरेको उजुरीकर्ताको ठहर छ । उजुरीकर्ताले उनीहरुमाथि छानबिन र कारबाहीको माग गरेका छन् । पत्रमा अगाडि लेखिएको छ,‘ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गर्नुपर्नेमा ट्रायल सेन्टर सञ्चालन गरिरहेका सुमन केसीको प्रायोजनमा विदेश घुम्न जानुले शंका मात्रै नभई भ्रष्टाचार गरेको ठूलो संकेतसमेत दिन्छ । कर्मचारीहरु हुल बाँधेर विदेश जानुले सरकारको राजश्व संकलनमा समेत गम्भीर क्षति पुगेको छ ।’

त्यसैगरी,केसीको पक्षमा निर्णय गराउन सूचना अधिकारी बजगाईँ लागिरहेको उजुरीकर्ताको दावी छ । ‘पवन बजगाईँ चाबहिल यातायात कार्यालयमा हुँदादेखि नै विभिन्न सेटिङमा रहेको समेत पाइन्छ । सुमन केसीको पक्षमा निर्णय गराउन बजगाईँले भूमिका खेलिरहेका छन्’,पत्रमा उल्लेख छ । इञ्जिनियर थापाले आफ्नै खर्चमा विदेश भ्रमणमा गएको ठोकुवा गरे । एक जनाको एक लाख ४५ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ । 

जनआस्थासँग भने,‘हामी पहिल्यैदेखि विदेश भ्रमणमा जाने सोचमा थियौं । तर,समय मिलेको थिएन । यसपटक भने सबैले प्लान बनाएर गएका हौं । त्यहाँ जाँदाको खर्च आफैंले व्यहोरेका हौं । एक जनाको एक लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । पाँच–सात सय डलर साटेर लगेका थियौं ।’ त्यसैगरी, उनले ड्राइभिङ सेन्टरका सञ्चालक केसी आफूहरुसँग नगएको दावी गरे ।

टिप्पणीहरू