पाथीभराको कुरा प्रष्ट छ
फाइल फोटो
जबर्जस्त विवादमा तान्न खोजिएको ताप्लेजुङस्थित केबलकार निर्माण विवादको भित्री कथा बाहिर आएजस्तो नभएको बुझिएको छ ।
निर्माता कम्पनीले पोल गाड्ने कामलाई अगाडि बढाएको छ । विरोधमा कांग्रेसको एउटा समूह सक्रिय रहेको देखिन्छ भने थोरै मात्र पहिचानवादीले विरोध गर्दा धेरै जसो स्थानीय निर्माणको पक्षमा देखिएका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको समूहले केबलकार निर्माणको क्रममा पोल राख्ने ठाउँमा खाल्डा खनिरहेको स्रोत बताउँछ । ‘पाथीभरा मौनजस्तै छ । अलि अलि काम गर्दैछन् । विरोधको ठूलो आवाज आएको छैन,’ स्रोतले भन्यो, ‘विरोधीले केही ठाउँमा वृक्षरोपण गर्दा खाल्डो खन्ने काम पनि विस्तारै अगाडि बढेको छ ।’
अदालतले अन्तरिम आदेश जारी नगरेपछि स्थानीयले चाहेर पनि विरोध र प्रदर्शन गरिरहने स्थिति नबनेको हो । ‘ठेकेदार अलि तगडा नै छन् । उनले युवा शक्तिलाई साथ लिएका छन् । यसैले अवरोध गर्न सक्ने अवस्था छैन,’ स्थानीय स्रोतले भन्यो, ‘बाहिरबाट मान्छे ल्याई उत्पात गरे मात्रै फरक हुन सक्छ । यहींकाले विरोध गर्न सक्दैनन् ।’
केबलकार बन्दा ३० वटा साना होटल मात्रै विस्थापित हुने स्थिति छ तर बाहिर भने सयौं होटल सुक्ने हल्ला चलाइएको छ । बरु केबलकार निर्माण भएपछि साढे तीन सय जति होटल थपिने स्थिति रहेको स्थानीय स्रोत बताउँछ । ‘अहिले सदरमुकामदेखि पाथीभरा फेदीसम्म तीन सयजति होटल छन् । केबलकार बनेपछि अरु तीन सय थपिन्छन्,’ स्रोत भन्छ, ‘काफ्लेपाटीको उकालो हिँड्नुपर्ने ठाउँभन्दा माथि साना होटल ३० वटाजति छन् । विस्थापित हुने होटल यीमात्रै हुन् । त्यो पनि आफ्नो निजी जग्गामा बनेका होइनन् । सरकारी जंगल फाँडेर बसेका हुन् । केबलकार बनेपछि उनीहरूले व्यापार व्यवसायको लागि तल झर्नुपर्ने मात्रै हो ।’
स्थानीय स्तरमा प्रभाव भएका कांग्रेस, एमाले संस्थागत रुपमा विरोधमा लागेका छैनन् । पार्टीभित्रै केही जातीय कुरा गर्नेले मात्रै विरोध गरेजस्तो देखिएको बताइन्छ । रास्वपाको नेतृत्व गतिलो छैन, उनीहरूको प्रभाव पनि कम छ । झापादेखि माथि रास्वपाले कुनै प्रभाव देखाउन नसकेको स्रोत बताउँछ ।
बरु माओवादीको पुरानोजस्तो प्रभाव अझै छ । सदरमुकाम र जिल्लाभरि गर्दा ५ हजार मत रहेको बताइन्छ । यो हत्पती दायाँबायाँ नहुने मत हो । यता, एमाले ताप्लेजुङमा भने गुट बलियो बन्दै गएको छ । केपी ओली समूह एउटै हो भन्छन् तर जिल्ला तहमा दुई गुट छन् । ‘तिलकुमार मेन्याङ्बो पोलिटब्यूरो सदस्य हुन्, कोशीमा प्रदेशसभा सदस्य पनि छन्,’ स्रोतले भन्यो, ‘अर्कोतिर बलबहादुर साम्सोहाङ छन्, जो योगेश भट्टराईलाई समर्थन गर्छन् । जिल्लामा अलि बढी वर्चस्व योगेशविरोधी तिलकुमार समूहको छ ।’ भूगोलको राजनीतिलाई महत्व दिने तिलकुमार अन्यत्र नजाने र चासो पनि नदिने नेतामा पर्छन् । अरू जिल्ला जाँदैनन् । जातीय मतमा उनको राम्रो होल्ड छ ।
केही समयअघि युवा संघको नेतृत्व जबर्जस्त घोषणा गर्न खोजिएको थियो । तर, बलबहादुरको समूहले विरोध गर्यो, झगडा पनि भयो । पछि अधिवेशन गरेजस्तो गरेर मिलाउने प्रयास गरेका थिए । जातीय मतमा कांग्रेस, एमाले र माओवादीकै होल्ड छ । तर, पहिचानवादीहरू १०–२० जनाको समूह बनाएर हिँड्ने गरेका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू