च्यासलमा एक्ला ईश्वरलाई भ्याइनभ्याइ

च्यासलमा एक्ला ईश्वरलाई भ्याइनभ्याइ

एमाले वरिष्ठ उपाध्यक्ष भएर पनि खासै जिम्मेवारी नपाएपछि च्यासलस्थित कार्यालय जाने, कथा र कविता लेख्ने ईश्वर पोखरेलको दिनचर्याजस्तै थियो । र, माथिल्लो तलामा बसेर आइप्याडमा औंला दौडाउँदै साहित्य सिर्जना गर्थे । ओलीपछिको पहिलो वरीयता भए पनि काम थिएन, अझै छैन । बलेको आगो मात्रै ताप्ने यो देशमा कोही उत्सुक भएर शक्तिहीन ईश्वरलाई भेट्न जाँदैनथे । तर, असार १४ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा ल्याउने गरी देखिने भूमिका खेलेका पोखरेललाई यतिखेर भ्याइनभ्याइ छ । 

कार्यकारी महासचिव शंकर पोखरेलको भन्दा ईश्वरको च्याम्बरमा नेता–कार्यकर्ताको भीड बढेको छ । पार्टी कार्यालय स्रोतले भन्यो, ‘यसअघि ढोका खोल्नेबित्तिकै पोखरेल मात्रै भेटिन्थे । अहिले उनको अगाडिपट्टि सोफामा गएर ठाउँ भेट्न मुश्किल छ । भेट्न पालो पर्खिनुपर्ने स्थिति छ ।’

विद्या भण्डारीलाई एमालेमा सक्रियतापूर्वक लाग्ने गरी वातावरण बनाउन र सहजीकरण गर्न पोखरेल खुलेरै अगाडि आएका छन् । असार १४ गते पोखरेलले नै पार्टीमा लोकतान्त्रिक अभ्यास जिरो भएको बताएका थिए । उनीपछि बोलेकी भण्डारीले आफू अब एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा होमिएको घोषणा गरेकी थिइन् । 

‘ईश्वर पोखरेलको कोठामा पहिले नछिर्ने स्थायी कमिटी सदस्यहरूले अहिले चियाउन थालेका छन्, तिनको नामै भन्दा हामीलाई नै अप्ठ्यारो पर्छ तर दिनहुँ जानेको सूची लामो छ,’ एमाले स्रोतले भन्यो, ‘पोखरेल अब शक्तिकेन्द्र बन्ने आशामा यसरी नेताहरूले भेटघाटको रफ्तार बढाएका हुन सक्छन् ।’ गत शुक्रबार पोखरेलले अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा. सुजन कडरियाको टिमलाई भेटेर केही समयअघि विमोचित आफ्नो ‘आमा’ उपन्यास उपहार दिएको स्रोत बताउँछ । अर्को गुटबाट जिते पनि पोखरेललाई उपेक्षा गर्न नहुने भन्दै कडरियासहितको हुल उनको च्याम्बरमा छिरेको थियो । पोखरेलको सोही उपन्यास विमोचन ओलीको उपस्थितिमा भण्डारीले निकै पहिले गरेकी थिइन् । 

भण्डारीले राजनीतिमा आउने घोषणा गर्नुअगाडि एक दिन बिहान ईश्वर पोखरेल बालुवाटार पुगेर ओलीसँगै खाना खाएको स्रोेतको दावी छ । फस्र्ट म्यान बन्ने सम्भावना र अनुभव भएर पनि पोखरेल पछि परेका नेता हुन् । पार्टी संगठनमा पोखरेल ओलीभन्दा माथि रहेको इतिहासै छ । कतिसम्म भने बालुवाटारमा ओलीलाई भेट्न जाँदासमेत घण्टौं कुरी निराश भएर फर्किनुपर्ने स्थिति उनले भोगेका थिए । पोखरेल जहाँ उभिन्छन् त्यही पक्ष निर्णायक भएको इतिहास छ । ओलीबाट पेलिएका विद्यार्थी नेता प्रकाश पौडेल, युवा संघका बागी सुमन पुरी, प्रेस चौतारीमा उठ्न नदिइएका राजेश राई यसअघि पार्टी कार्यालय जाने क्रम ठप्प थियो । अहिले तिनलाई समेत भ्याइनभ्याइ छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू