लोकतन्त्र आएपछि विकासले फड्को मारेको छ- मदनकृष्ण
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि मुलुकमा धेरै विकास भएको दाबी गरेका छन् ।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनसँगै विकास र संमृद्धिको यात्रा अघि बढेको बताए । नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको भन्दै कलाकार श्रेष्ठले खुसी व्यक्त गरे ।
अहिले गाउँ-गाउँमा सडक र बिजुली बत्ती पुगेको जनाउँदै उनले विद्युतबाट चल्ने बस सञ्चालन हुनुलाई सकारात्मक हो भनेका छन् । पेट्रोल र डिजेलमा अर्बौं रुपैयाँ खर्च हुने स्थितिबाट देशलाई मुक्त गर्नुपर्ने उनको राय छ ।
‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो’, भने, ‘लोकतन्त्र आएपछि धेरै डेभलपहरु मैले देखेको छु ।’
वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटर चढेरै त्यहाँ पुगेको स्मरण गरे । बसको मात्रा र स्ट्याण्डर बढ्न भने जरुरी रहेको उनको भनाइ छ ।
टिप्पणीहरू