भ्रष्टाचारीले खाइरहने भए भसक्कै
अख्तियारको राडारमा तानिएका एक कर्मचारीको हर्कत देखेर नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै लज्जित बन्ने स्थिति आएको छ । साढे तीन वर्षअघि अर्थात् ०७८ माघमा ६ जना सिनियरलाई पाखा लगाएर माधवकुमार नेपालको पार्टीलाई करोडौँ कोशेली बुझाउँदै नागरिक प्राधिकरणको महानिर्देशकमा बनाइएको थियो प्रदीप अधिकारीलाई । ११औँ तहका कर्मचारीलाई प्रेम आलेको हस्ताक्षरबाट महानिर्देशक बनाउँदा बाह्रौं तहका प्रेमनाथ ठाकुर, भोलाप्रसाद गुरागाईँ र प्रतापबाबु तिवारी पछि परेका थिए । अहिले कार्यकाल सकिएर घर जाने मुखैमा उनैलाई एक तह घटुवा गरी उपमहानिर्देशक नखाई भएको छैन ।
महानिर्देशकको कार्यकाल चार वर्षको हुन्छ । कानुनी यही व्यवस्थाबमोजिम उनी आगामी माघमा जिम्मेवारीबाट हट्दै छन् । त्यसअघि नै एक तह झरेर उपमहानिर्देशक बन्ने खेलोमेलोमा लागेका छन् । यस्तो गलत हर्कतमा साथ दिइरहेका छन्, मन्त्रालयदेखि लोकसेवा आयोगसम्मले ।
उसो त उनले महानिर्देशक भएको वर्ष दिनपछि ०७९ चैतदेखि नै उपमहानिर्देशक बन्ने प्रयास थालेका हुन् । तीन वर्षअगाडि यो प्रयासमा असफल भएका उनी हालै मात्र एक उपमहानिर्देशक अवकाशमा गएसँगै फेरि चलखेलमा लागेका हुन् । आफू उपमहानिर्देशक हुने गरी ११ औँ तहका कर्मचारीलाई सिफारिस समितिमा राखेर नाम सिफारिस गर्न लगाएको प्राधिकरण स्रोतले जनाएको छ । नियमविपरीत गठित पदपूर्ति समितिले अधिकारीसहित ११औँ तहका जगन्नाथ निरौला, नविना कर्माचार्य, टेकनाथ सिटौला, बाबुराम पौडेल र विनोद न्यौपानेसहित अधिकारीको नाम सिफारिस गरेको थियो, त्यो समय । त्यहीबेला निरौला र कर्माचार्य १२औँ तहमा बढुवा भए । माघमा कार्यकाल सकिएर एघारौं तहमै फर्किनुपर्ने अवस्था आएपछि प्रदिप बाह्रौं तहमा बढुवा हुन चलखेलमा लागेका छन् ।
प्राधिकरणमा ११ औँ तहलाई निर्देशक, १२ औँ तहलाई उपमहानिर्देशक सम्बोधन गरिन्छ । पहिले नै १२ औँ तहभन्दा माथिल्लो मानिने महानिर्देशक पद हत्याएका अधिकारीले त्यहाँबाट अवकाशमा गएपछि एक तह मुनि झरेर उपमहानिर्देशक खानेगरी चाँजोपाँचो मिलाएका हुन् । प्राधिकरणमा ठाकुरसहित हंशराज पाण्डे, जगन्नाथ निरौला उपमहानिर्देशकको जिम्मेवारीमा छन् । जसमध्ये हालै मात्र हंशराज पाण्डेलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धकको जिम्मेवारी दिएको छ । १४ महिनाअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको महाप्रबन्धक र पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरण केन्द्रीय कार्यालयमा ल्याइएको छ । अधिकारीउपर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला र गैरकानुनी सम्पत्ति आर्जनमा अख्तियारले पट्यारलाग्दो तर पत्यार नलाग्दो छानबिन गरिरहेको छ । लोकसेवा आयोगका एक सदस्यका अनुसार पुल दरबन्दीमा भएको कर्मचारी बढुवा प्रयोजनका लागि सिफारिस हुन पाउँदैन । तर, लोकसेवा आयोगकै सदस्यलाई समेत प्रभावमा पारेर बढुवा गर्ने गरी नाम सिफारिस भएको जनाइएको छ ।
यो विषयमा जनआस्थाले पर्यटन मन्त्रालयका उच्च अधिकारीसँग जिज्ञासा राख्दा प्रदीपको बढुवा प्रक्रिया अगाडि बढेको स्विकारेको छ । तर, यसमा मन्त्रालयको कुनै भूमिका नहुने ती अधिकारीको प्रतिक्रिया छ । क्यानको बोर्ड निर्णय नै सर्वेसर्वा हुने भन्दै मन्त्रालयका अधिकारीहरू पन्छिए । क्यानको बोर्डमा पर्यटन मन्त्री अध्यक्ष र महानिर्देशक सदस्य सचिव रहन्छन् ।
टिप्पणीहरू