जनआस्थाले बाहिर ल्याएको मन्त्रीको घुसकाण्ड, यी हुन् रकम प्रस्ताव गर्ने बिचौलिया

जनआस्थाले बाहिर ल्याएको मन्त्रीको घुसकाण्ड, यी हुन् रकम प्रस्ताव गर्ने बिचौलिया

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मालपोत अधिकृत सरुवा र भूमि आयोगको पदाधिकारी नियुक्ति दिलाउन ५० लाख घुस डिल गरेको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तातेको छ । 

सार्वजनिक अडियोमा मन्त्री गुप्ताको आवाज प्रस्ट सुनिन्छ, जहाँ अंक नै खुलाएर रकम बार्गेनिङ्ग गरिएको छ । तर, उक्त अडियोमा सुनिने आवाज आफ्नो नभइ एआईद्वारा बनाइएको उनको दाबी छ । ‘घुस डिल’मा संलग्न भनिएका बिचौलिया र कर्मचारीलाई आफूले नचिनेको पनि गुप्ताले बताएका छन् । 

यता, मन्त्रीले लिएको भनिएको पैसाको नोट र नम्बरसहित अख्तियारलाई जिम्मा लगाइएको छ । मन्त्री गुप्ताले घुस मागेको अडियो सार्वजनिक भएपछि भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री ओली स्वयं नैतिक संकटमा परेका छन् । सडकदेखि सदनसम्म मन्त्रीलाई बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । 

प्रधानमन्त्रीको दलबाट क्याविनेटमा प्रतिनिधित्व गर्ने मन्त्रीले ठाडै घुस मागेको यो प्रकरणले सिङ्गै सरकार बदनाम भैरहँदा बिचौलियाहरू भने गुमनाम छन् । आखिर पैसाको झोला बोकेर मन्त्री क्वार्टर पुग्ने विचौलिया को हुन् ? जनआस्था साप्ताहिकको असार १८ गते बुधबार प्रकाशित समाचारमा त्यसको सम्पूर्ण विवरण उल्लेख छ । जनआस्था अनलाइनमा समेत आइसकेको उक्त समाचारमा आफू अनुकूल कर्मचारीलाई मालपोत प्रमुख बनाउन बिचौलिया सुजन लामाले मन्त्री गुप्तालाई ५० लाख घुस अफर गरेको खुलाइएको छ । 

भूमि व्यवस्था मन्त्रालयको चर्चित बिचौलिया भनी चिनिएका प्रमोद खड्काको चेलो हुन् लामा । आफूअनुकूल कर्मचारी लैजान उनले यसअघिका भूमिमन्त्री रञ्जिता श्रेष्ठसम्मलाई प्रयोग गरेको तर ‘दाल नगले’ पछि रकमको लोभ देखाएको समाचारमा प्रष्ट्याइएको छ ।

जनआस्थाले प्राप्त गरेको अडियोमा बिचौलियाको प्रस्ताव छ– ‘भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई लैजान २० सम्म बुझाइदिन्छु, बलरामलाई भनिदिनुहोस् त मन्त्रीज्यू’ ! गुप्ताले बलरामले पहिल्यै पैसा बुझिसकेको जवाफ फर्काउँछन् । बिचौलियाको अर्काे प्रस्ताव सुनिन्छ ‘अहिले १५ गर्दिन्छु,  अदालतको १० पेटी भोलि बिहान ल्याएर छोडिदिन्छु ।’ मन्त्रीको जवाफ छ, ‘मैले राख्ने होइन, भोलि बिहानै सम्बन्धित ठाउँमा बुझाउनुपर्छ ।’ योचाहिँ २५ लाखको डिल हो ।

कास्कीको बाटुलेचौरस्थित १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिची बगैँचा हत्याउने योजनाअनुरूप बिचौलियाको खेलोफड्को धेरै अघिदेखि चलिरहेको थियो । पहिलेका भूमि मन्त्री श्रेष्ठसँग कुरा अघि बढाएका उनीहरुले अहिले बलराम अधिकारीसम्म प्रस्ताव पुर्याए । रञ्जिताले यही विषयमा पाँच पटक गुप्तालाई भेटिन् तर पार नलागेपछि भूमि आयोगको अध्यक्ष र उपसचिव लैजान आधा करोडको डिल गरेको बताइन्छ । कुरा मिलेपछि मन्त्री गुप्ताले बिचौलियालाई लस्सी,  माछा हुँदै रक्सी खान अफर गर्दछन् तर बिचौलियाले आफूले रक्सी नछुने, काम भएपछि आफैंले रक्सी खुवाउने जवाफ दिएका छन् ।  

यसअघि मन्त्री गुप्ताका स्वकीय सचिव शिव पटेलले प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि सातदेखि दश लाखसम्म डिल गरेको च्याट नै जनआस्थाले सार्वजनिक गरेको थियो । यसरी खुलेआम घुस डिल गर्नेलाई अगाडि सारेर मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १०८ किलोको फूलमाला लगाइदिएका थिए ।

 

टिप्पणीहरू