सर्वत्र ‘घुस डिल’, ‘मौनता’ र ‘रहस्यमय’ को चर्चा

सर्वत्र ‘घुस डिल’, ‘मौनता’ र ‘रहस्यमय’ को चर्चा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘घुस डिल’ गरेको भनिएको अडियो प्रमाणित गर्न चुनौती दिएका छन् । उनले समाजिक सञ्जालमार्फत् कसैसँग पनि घुस नलिएको र आफूमाथि नियोजित रुपमा षड्यन्त्र गरिएको बताएका हुन् । 

मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीको अध्यक्ष बनाइदिन मन्त्री गुप्ताले ‘घुस डिल’ गरेको दावीसहित मिडियाले केही दिनअघि अडियो सार्वजनिक गरेका थिए । तर उक्त अडियोमा सुनिने आवाज आफ्नो नभइ एआईद्वारा बनाइएको मन्त्रीको गुप्ताको दाबी छ । उनले पाँच बुँदे धारणा राख्दै ‘घुस डिल’मा संलग्न भनिएका बिचौलिया र कर्मचारीलाई आफूले नचिनेको बताए । 

‘केही दिन अघिदेखि मसँग जोडिएर सिलसिलेवार रुपमा सरुवा, नियुक्तिलगायतमा घुस बार्गेनिङ, रकम लिएको जस्ता प्रायोजित समाचारहरु केही मिडियाहरुमा आएका छन् जुन मेरो लागि गम्भीर छन्’, उनले भनेका छन्, ‘बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाब दिने को हुन् ? प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन, अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ?’

सार्वजनिक तस्बिरमा देखिएको पैसाको बण्डल राखिएको टेबल आफ्नो नभएको पनि मन्त्री गुप्ताको प्रश्टोक्ति छ । ‘नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ, त्यो मकहाँ कहिल्यै छैन’, उनले अघि भनेका छन्, ‘नोटको नम्बरसहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो मलाई थाहा छैन ।’

मन्त्री गुप्ताको ‘घुस डिल’को विषयले आजको प्रतिनिधि सभा बैठक तातेको थियो । प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको मौनतालाई ‘रहस्यमय’ भनेका थिए, भने सत्तापक्ष दलका सांसदहरुले पनि यसमा ‘प्रधानमन्त्रीले जवाफ दिएर स्पष्ट पार्नुपर्ने’ बताएका थिए ।

टिप्पणीहरू