चौधरीको इभी, बिगार्दै छवि

चौधरीको इभी, बिगार्दै छवि

– यदुनाथ बञ्जारा 

पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको चहलपहल बाक्लिँदै छ । त्यसमा पनि अर्बपति व्यापारी बिनोद चौधरीको ड्रिम प्रोजेक्ट चौधरी ग्रुपले आयात गरेको इभी गाडी दुर्घटनाको अग्रपंक्तिमा पर्न थालेको छ । देशभर दुर्घटनाका सूची हेर्दा सिजी मोटर्स ब्राण्डका कमर्सियल भ्यान बढी पाइएको छ ।

सिजी मोटर्सको निजीभन्दा व्यावसायिक भ्यान सडकमा बग्रेल्ती देखिन्छन् ।  न्यून भन्सारअन्तर्गत नेपाल भित्रिने र विद्युतीय चार्जिङ ब्याट्रीबाट चल्ने गाडीमा इन्धन खपत नहुने भए पनि यात्रुले भाडामा खासै सहुलियत पाएका छैनन्, बरु कोचिएर जोखिमपूर्ण लामो र मध्यम दूरीको यात्रा गर्न बाध्य छन् ।

पछिल्लो समय इभी गाडी दुर्घटना र क्षतिको अंक ह्वात्तै बढ्न गई सुरक्षामा चिन्ता आउन थालेपछि सिजी मोटर्स र टिटी इभी रिभोलुसनको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीसँगको समन्वयमा विद्युतीय सवारी चालकका लागि प्राविधिक प्रशिक्षण तथा सचेतना कार्यक्रम पोखरामा आयोजना गरिएको छ । 

कम्पनीले चालक प्रशिक्षणको ब्यानर टाँगेर कार्यक्रम गर्‍यो, केही प्राविधिक पनि झिकाइए तर सिजी मोटर्सले चालकको गुनासो, दुर्घटनाको कारण र न्यूनीकरणका उपायबारे कुनै प्रश्न राख्न र निकास सुन्नसमेत चाहेन ।सञ्चारकर्मीलाई समेत इभी गाडीमा देखिएका समस्याबारे सोध्ने अवसर दिइएन । स्मरणीय छ, सिजी मोटर्सले चीनबाट आयात गरेको गाडीमध्ये ११ सिटर किङलङ भ्यान बढी असुरक्षित रहेको, दुर्घटनामा पर्दा जनधनको क्षति कहालिलाग्दो हुने गरेको छ ।

कमर्सियल गाडी नागरिकको जनधनसँग प्रत्यक्ष जोडिएको हुन्छ । हामीले गाडी आयातकर्ता कम्पनी सिजी मोटर्सबाट जवाफ चाहन्थ्यौँ तर विडम्बना, प्रश्न राख्ने अवसर नै नदिई हतारमा कार्यक्रमको बिट मारियो । आखिर किन डराए जनताको चासो, गुनासो र प्रश्न सुन्न ? 
 

टिप्पणीहरू