सर्पको डसाईबाट युवतीको निधनपछि छाउगोठ भत्काउन निर्देशन
सर्पको डसाईबाट छाउगोठमा सुतेकी एक युवतीको निधन भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठहरू भत्काउन निर्देशन दिएको छ ।
सबै वडा कार्यालयलाई आज पत्राचार गर्दै नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन भनेको हो । सो अवधिमा छाउगोठ नभत्काएमा १० हजार रुपैयाँ जरिवाना गरिने नगरपालिकाको चेतावनी छ ।
‘यस कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरुमा छाउपडी गोठहरु निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरुलाई भत्काउने र उक्त कार्य कार्यान्वयनमा नल्याए कानुनी कारबाहीसहित रु १० हजार जरिवाना हुने व्यहोरासमेत सम्बन्धितहरुलाई जानकारी गराउन हुन आदेशानुसार अनुरोध छ’,पत्रमा उल्लेख छ ।
छाउगोठमा सुतेकी वडा नम्बर १ निगालीकी २८ वर्षीया कमला आउजीलाई शुक्रबार राति सर्पले गालामा डसेकोमा हिजो बेलुका उपचारको क्रममा उनको निधन भएको थियो ।
मुलुकको कानुनले छुवाछुत, विभेदलाई बन्देज गरेको छ । तैपनि, सुदूरपश्चिम प्रदेशमा महिला रजश्वला र सुत्केरी हुँदा छाउगोठमा सुत्ने कूप्रथा अहिले पनि कायमै छ ।
टिप्पणीहरू