प्रभावशाली बिचौलियाको सेटिङ्गमा बोर्ड अध्यक्ष बनेको दाबी

प्रभावशाली बिचौलियाको सेटिङ्गमा बोर्ड अध्यक्ष बनेको दाबी

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई र्‍याखर्‍याती पारिएको छ । आज बसेको समिति बैठकमा सांसदहरुले उनको नियुक्तिदेखि हालसम्मका कार्यसम्पादनमाथि दह्रो ढंगले प्रश्न उठाएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डा. स्वर्णिम वाग्लेले उनको नियुक्तिलाई लिएर आएको समाचारहरुको विषयमा प्रष्टीकरण मागेका छन् । मुलुकको मिडिया हाउसमाथि आफूले आँखा चिम्लेर विश्वास नगर्ने बताउँदै समाचारमा आएका कतिपय विषयलाई नकार्न नसकिने उनको जिकिर छ । प्रभावशाली बिचौलियाको सेटिङ्गमा बोर्डको अध्यक्षमा नियुक्त भएको कुरा कोट्याउँदै उनले नैतिकता भए–नभएको भनि प्रश्न सोधेका छन् ।

‘जहाँ पहिले काम गर्नुहुन्थ्यो, ती एकदम प्रभावशाली बिचौलिया रे । परिचय नै बनाएका । उनैले तपाईँलाई त्यहाँ लगेर सिस्टम बनाएर गेमिङ्ग गरेर राखेको भन्ने आरोप छ । यसमा के भन्नुहुन्छ ? तीनवटा आवेदकमध्ये एउटा उहाँकै छ रे । भनेपछि स्वार्थ बाझियो कि बाझिएन ?’,उनले भने,‘यसमा स्वार्थ बाझिन्छ, म आफूलाई पन्छाउँछु भनेर गर्ने नैतिक हैसियत छ कि छैन ? यी कुराहरुमा तपाईंले जवाफ दिनुपर्ने हुन्छ ।’

उनले मुलुकमा दोस्रो स्टक एक्सचेञ्जको आवश्यकता नरहेको बताएका छन् । पुरानै नेप्सेलाई सुदृढ बनाएर केही समय हेर्नुपर्नेमा उनको जोड छ । २०८० कात्तिक २४ गते समितिले सर्वसम्मत रुपमा गरेको निर्णयले अहिलेसम्म सातो गएको जनाउँदै डा. वाग्लेले नयाँ स्टक लाइसेन्समाथिको अस्वाभाविक जोडले प्रि–प्रेड करप्सनतर्फ इशारा गरिरहेको बताए । 

यता, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले नियुक्तिको प्रक्रियादेखि आएको थुप्रै समाचारले आफूलाई झसंग बनाएको बताएका छन् । अध्यक्ष श्रेष्ठमाथि आफूसँग जोडिएको कम्पनीलाई आइपिओ दिने र पाइपलाइनमा रहेका कम्पनीहरुलाई बेवास्ता गरेको आरोपको जवाफ उनले माग गरेका छन् । त्यस्तै, आफ्नै भाइको कम्पनी टेट टावरलाई फास्टट्रयाकबाट अनुमति दिएकोमा उनले आपत्ति जनाए ।  

बैठकमा इप्पानका पदाधिकारीहरुले गरेको पत्रकार सम्मेलनको कुरा पनि उठाएका छन् । बार्गेनिङ्ग गरेर दुःख दिएको विषय निकाल्दै उनले भने,‘नियुक्तिको प्रक्रियादेखि थुप्रै खालका समाचारहरु आएको छ, खासमा यो के हो ? आफूसँग जोडिएको कम्पनीलाई आइपिओको अनुमति दिने, त्योभन्दा अगाडि पाइपलाइनमा जोडिएका थुप्रै कम्पनीलाई बेवास्ता गरेको आरोप छ । क्रस गर्न नसक्नेगरी थुप्रै खालका डकुमेण्टसहित समाचार आएका छन् । यसमा तपाईँको के छ ?’,उनले सोधनी छ । 

उनले बोर्डको स्वार्थ बाझिनेगरी आएको हाइड्रोको विषयमा अध्यक्ष श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

टिप्पणीहरू