ठग्ने र चोर्नेको यो हद !
चितवनमा सर्वसाधारणलाई ठग्दै हिँड्न पल्केका दुईजना पुरुष र चोरी गर्न माहिर महिला समातिएका छन् । सुनजस्तो पहेँलो धातु देखाई मानिसहरुलाई ठग्दै हिँड्ने पुरुष दुवै छिमेकी जिल्ला मकवानपुरका हुन् ।
मकवानपुरको बागमती गाउँपालिका–१ बस्ने वर्ष ५९ को ढक्कल बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका–१९ बस्ने वर्ष ६१ को राधाकृष्ण ढकाललाई नारायणगढबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिप्रका चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा विगत लामो समयदेखि नक्कली सुन देखाई पैसा हत्याउने, डलर साट्ने भनी मानिसहरुलाई झुक्यानमा पारी ठगी गर्दै आएको भन्ने उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
गत आइतबार शहीदचोकमा फेला परेका उनीहरुलाई चेकजाँच गर्दा सुनजस्तो देखिने एकथान पहेंलो धातुको चारपाटे टुक्रा भेटिएको थियो । त्यस्तै, माथि एक हजारको पाँचवटा नोट राखी पत्रिकाको पेपर पैसाको जस्तो बिटो बनाइएको एउटा र १० रुपैयाँको ९५ वटा नोट माथि एक हजारको दुईवटा नोटले बेरेर रबरले बाँधेर बनाइएको अर्काे बिटो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
उनीहरुको साथबाट ३० हजार ५९५ नगद र विभिन्न कम्पनीका तीनवटा मोबाइल पनि बरामद भएको छ । पक्राउ परेका दुवैमाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
केही दिनअघि नारायणगढको कपडा पसलबाट कपडा चोरी गर्ने दुई जना महिला पनि पक्राउ परेका छन् । गत शनिबार साँझतिर भरतपुर–१ हङकङ बजारमा रहेको बिक्स राइडर फेन्सी पसलमा कपडा किन्न गएजस्तो गरी पसलेको आँखा छली कपडाहरु लटपटाउँदै झोलामा हालेर टाप कसेका मकवानपुरकै मनहरी गाउँपालिका–५ घर भई भरतपुर–३ न्यूरोडमा डेरा गरी बस्ने वर्ष ३६ की अन्जु प्रजा र भरतपुर–२६ दिव्यनगरकी ३८ वर्षीया बालकुमारी महतोलाई सोही राति पीडितहरुले नै नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएका थिए ।
सिसिटिभी फुटेजको आधारमा चोरी पत्ता लागेको हो । अरु ग्राहकलाई पनि कपडा देखाउन लागेकी पसलकी महिलालाई चोर्न आएका एउटीले कपडाले छेल पार्ने र त्यही मौकामा अर्कीले सलले छोपेर आफूले भिरेको ब्यागमा कपडाहरु लटपटाउँदै हालिरहेको भिडिओमा देखिन्छ ।
टिप्पणीहरू