कला,संस्कृति र जातीय सद्भावको सुन्दर बगैँचा -सिन्ज्याङ
चीन कला,साहित्य र संस्कृतिले भरिपूर्ण तर औंलामा गन्न सकिने विश्वका थोरै मुलुकमध्येको हो । मानव सभ्यताको विकासमा आदिमकालदेखि चिनियाँ समाजको योगदान ऐतिहासिक,सांस्कृतिक, वैज्ञानिक, प्राविधिक,र आर्थिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण पाइन्छ ।
विश्वका चार प्रमुख प्राचीन सभ्यतामध्ये चीन एक हो । ह्वाङ्गहो नदीको किनारमा विकास भएको चिनियाँ सभ्यतालाई पाँच हजार वर्ष पुरानो मानिन्छ । उत्तर पश्चिममा रहेको सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्र प्राचीन समयदेखि एशिया र युरोपको सांस्कृतिक,धार्मिक, र व्यापारिक पुलको रुपमा रहँदै आएको छ ।
प्राचीनकालमा सिल्क रोड र आधुनिक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई) को केन्द्र भएको सिन्ज्याङले मानव सभ्यताबीचको सम्पर्क, आदानप्रदान,र सहकार्यमा निकै गहिरो र स्थायी योगदान दिएको धेरै प्रमाण पाइन्छ । प्राचीन सिल्क रोडको केन्द्र सिन्ज्याङबाट त्यो समयमा चीनको मध्य एसिया,मध्यपूर्व,दक्षिण एसिया र युरोपसम्म व्यापारिक सम्पर्क थियो ।

यिनछुआन, कासगर,हर्मी अर्थात् तुरपानलगायत प्राचीन शहरहरू उक्त समयमा महत्वपूर्ण व्यापारिक र सांस्कृतिक केन्द्र बनिसकेका थिए । सिल्क रोडले पूर्वी एसिया र पश्चिमा विश्वबीच नयाँ खालको सिर्जना, विज्ञान,धर्म र सभ्यताको आदानप्रदान गराएको ऐतिहासिक प्रमाणहरु सिन्ज्याङका ऐतिहासिक स्थल,संग्रहालयमा सचित्र देख्न पाइन्छ ।
सिन्ज्याङमा बस्दै आएका दर्जनौं अल्पसंख्यक जातिले परम्परागत ढोल वादन,कपडा बुनाई, चामल र स्याउको उत्पादनमा आदिमकालदेखि विशिष्ट शैलीको विकास गरेका छन् । ती अमूर्त सांस्कृतिक सम्पदा चीनसँगै विश्वको लागि मानवजातिको महत्वपूर्ण सांस्कृतिक धरोहरको हिस्सा बनिसकेको छ ।

सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरमुछीमा रहेको सिन्ज्याङ युगुर स्वायत्त क्षेत्र संग्रहालय, सिन्ज्याङ मुकाम आर्ट ट्रुप (कला समूह), सिन्ज्याङ प्राचीन पर्यावरणीय पार्कले सिन्ज्याङ र त्यहाँका बासिन्दाले मानव सभ्यताको विकासमा पुर्याएको योगदानलाई स्पष्ट रुपमा झल्काएको छ । इली कजाख प्रिफेक्चरको राजधानी यिनिङ शहर नजिकै रहेको छिङ वंशकालीन जर्नेलको दरबार,कजाक लोक सांस्कृतिक पर्यटन क्षेत्र,सांस्कृतिक तथा ऐतिहासिक लिउसिङ बजार र टेकेस काउन्टीको यिजिङ सांस्कृतिक पार्कले पनि स्वायत्त क्षेत्रको कला, साहित्य र संस्कृतिको बेजोड इतिहासलाई जीवन्त रुपमा पस्केका छन् ।
टेकेस काउन्टीको केन्द्रमा रहेको ताइची शहरी विकासको प्रदर्शनी हलमा पनि पछिल्लो सात दशकमा भएको उपलब्धी र स्थानीय विकासको झल्कोलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुले चीनको केन्द्र सरकारदेखि प्रान्तीय, प्रिफेक्चर, काउन्टी तहका सरकारले अल्पसंख्यक जातीको पहिचान र सामूहिक सद्भावमा विकसित समाजलाई चिनियाँ विशेषताको रुपमा अघि बढाएको भन्न सकिन्छ । चीनले आफ्नै विशेषतायुक्त सभ्य समाज निर्माण गरिरहेको सन्दर्भमा सिन्ज्याङको पछिल्लो दृश्यले पनि त्यसलाई प्रमाणित गरेको छ ।
सन् १९५९ मा स्थापित उरमुछीको सिन्ज्याङ युगुर स्वायत्त क्षेत्र संग्रहालय भवनलाई सन् २००५ मा नयाँ रुप दिइएको बताइन्छ । ४९ हजार ६०८ वर्गमीटर क्षेत्रफलमा फैलिएको संग्रहालयको ११ हजार ३०८ वर्गमीटर क्षेत्रफलमा प्रदर्शनी राखिएको छ । सन् २०२२ मा पुनः विस्तार गरेर डिजिटल सेक्सन थपिएको हो । संग्रहालयमा मानव सभ्यता विकास क्रममा प्रयोग भएका २२ सय वर्ष पुरानो दुर्लभ कपडा, तामाका मूर्ति, बुद्ध चित्रहरू राखिएको छ ।

उइगुर शैलीको वास्तुकलामा निर्मित संग्रहालयमा २४ हजार ६०६ थान ऐतिहासिक वस्तु छन् । तीमध्ये झण्डै चारसय थान पहिलो श्रेणीका पुरातात्विक सम्पदा हुन् । सिल्क रोडताकाका मुद्रा, हस्तलिपि सामाग्री, युद्ध सामाग्री, मूर्ति, धातु र माटोका भाँडाका संंग्रह जतनसँग गरिएको छ । जसमा पूर्व–छिनदेखि छिङ राजवंशसम्मका संग्रह, उइगुर, कजाख, किरगिज, हुइलगायत १२ जातीय समूहको परम्परागत पोशाक, घरको नमूना, हस्तकला, संगीत उपकरणसहित जातीय जीवनशैलीको प्रदर्शनी गरिएको छ ।
नयाँ चीन स्थापनापछि कम्युनिस्ट पार्टीको नेतृत्वमा सिन्ज्याङको विकासमा प्रयोग भएका वस्तुहरू, फोटा र दस्तावेजहरू पनि संग्रहालयमा देखिन्छ । उक्त संग्रहालयलाई सिन्ज्याङको जातीय विविधता, इतिहास, र सिल्क रोड सभ्यताको संगमको रुपमा लिइन्छ । उरुमुछीमै रहेको मुकाम कला समूहले स्थानीय गीत, संगीतलाई जीवन्त राख्दै ऐतिहासिक विरासतलाई कायम राखेको देखिन्छ । त्यहाँको मुकाम कला समूहलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्कोले अमूर्त सांस्कृतिक सम्पदा सूचीमा राखेको छ । नेपालको कुमारी परम्परा, बुद्ध जयन्ती पर्व र गौरा पर्व पनि उक्त सूचीमा परिसकेका छन् ।
कुनै समुदाय वा जातीय समूहले पुस्तैनी रुपमा हस्तान्तरण गर्दै आएको परम्परालाई सांस्कृतिक सम्पदा मानिन्छ । चिनियाँ परम्परागत संस्कृतिको एउटा पक्षको रुपमा रहेको युगुर सांस्कृतिक जीवनमा गीत र संगीतको जीवन्त भूमिका पाइन्छ । त्यसैले उरमुछीको मुकामलाई चीनमा ‘राष्ट्रिय सम्पत्ति र सिल्क रोडको मोती’ को संज्ञा दिइएको छ । पहाड, मरुभूमि, खेतीयोग्य जमिनसहितको विशिष्टकृत भूमिले सजिएको स्वायत्त क्षेत्रको ऐतिहासिक पहिचान दिलाउन राजधानी उरुमुछीको शहरी क्षेत्रमा झण्डै ३३ एकड जमिनमा प्राचीन पर्यावरणीय पार्क सञ्चालनमा ल्याइएको छ ।

सयौं वर्ष पुराना रुखका अवशेषदेखि वनस्पति र सिन्जियाङको जीवनसँग जोडिएको घोडाको सम्बन्धलाई जीवन्त रुपमा पार्कमा देखाइएको छ । पार्कभित्र रहेको अखल टेके घोडा प्रदर्शनी केन्द्र धेरैको आकर्षणको केन्द्र बनेको छ । पार्कले पर्यावरणीय पर्यटन, सांस्कृतिक पहिचान र त्यसको विकास एवम् लोक अनुभवले चीनको प्राचीन र आधुनिक सिल्क रोड जीवन्त रुपमा झल्काएको छ ।
सिन्जियाङकै उत्तर पश्चिममा रहेको वेनछुवान काउन्टीको चालेमुटे टाउनसिपमा अवस्थित बोर्ताला रिभर वेटल्याण्ड (सिमसार) पार्क पर्यावरणीय संरक्षणको अर्को नमूना बनेको छ । त्यहाँको तातो पानीको मुहान स्थानीयबासी र पर्यटकका निम्ति अर्को आकर्षणको केन्द्र बन्न थालेको देखिन्छ । वरपरका सेता हिमाल र हरियो घाँसे मैदान अवलोकन गर्दै स्थानीय र पर्यटकलाई प्राकृतिक तातोपानीमा निःशुल्क गोडा डुबाउने सुविधा प्राप्त छ । सिन्ज्याङ स्वायत्त क्षेत्रमा समुदायको तल्लो तहदेखि नै वातावरण र पर्यावरणीय संरक्षणमा विशेष ध्यान दिइएको यी दुई उदाहरण नै पर्याप्त हुन्छ ।

सोही काउन्टीमा रहेको मंगोलियन जातिको वाद्यवादनका साधनहरुको संग्रह अर्थात् अमूर्त सांस्कृतिक सम्पदाको म्युजियम त्यसको प्रमाण हो । म्युजियम सञ्चालन गर्दै आएको मंगोलियन वाद्यवादन संकलकका चौथो पुस्ताका एरगेली उक्त कार्यमा दद्धचित्त देखिन्छन् ।
कला, संस्कृति र ऐतिहासिक पक्षको चर्चा गर्दा यिनिङ शहर नजिकै रहेको इलि जर्नेलको दरबार पनि अर्को महत्वपूर्ण भाग हो । सन् १७६२ देखि चीनमा छिङ वंशले इलि क्षेत्रको शासनका लागि “इलि जर्नेल” नियुक्त गरेको हो । ती जर्नेलको हैसियत सिङ्ज्याङको प्रमुख सैन्य तथा प्रशासनिक अधिकारी हुन्थ्यो । उनको मूल दरबार १९औँ शताब्दीको विद्रोह र रूसी अतिक्रमणमा नष्ट भएकाले सन् १८८२ मा परम्परागत चिनियाँ शैलीमा पुनःनिर्माण गरिएको थियो । सोही दरबारलाई संग्रहालयको रूपमा खुल्ला गरिएको छ । जसमा छिङ वंशकालीन मुद्रा, हतियार, राजकीय दस्तावेजहरु प्रदर्शन गरिएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा घोषित दरबारलाई प्राचीन सिल्क रोडमा रहेको चिनियाँ शासनको सीमा प्रशासन, बहुजातीय सहअस्तित्व र सैन्य रणनीति बुझ्न निकै सहयोगी हुने विश्वास स्थानीयको छ ।
यिनिङ शहरमा रहेको कजाक लोक संस्कृति पर्यटन केन्द्रमा यिली कजाक स्वायत्त प्रिफेक्चरको जातीय सहअस्तित्व र सामूहिक सद्भावको झल्को देख्न पाइन्छ । सानो सहरमा युगुर, कजाक, हुइ, उज्बेक ४२ जातिको सद्भावपूर्ण बसोबासले जातीय रंगीन फूलबारीको अनुपम नमूनासँगै सामाजिक सुगन्ध फैलाएको छ । शहरी क्षेत्रमा शताब्दीदेखि ठडिएका चिनियाँ परम्परागत डिजाइनका भवनसँगै युरोपेली र मध्य एसियाली देशका डिजाइनयुक्त भवनको लस्करले जोकोहीलाई एउटा विशाल संग्रहालयको अनुभूति गराउँछ ।

यिनिङ शहरकै अर्को भागमा रहेको लिउशिंग स्ट्रिटलाई सांस्कृतिक जिल्लाको उपमा दिइएको छ । सन् १९३४ मा निकै बुद्धिमतापूर्वक डिजाइन गरेर बनाइएको उक्त बजारका मुख्य छ वटा सडकका दुबै किनारका विभिन्न जातीय पहिचानयुक्त व्यवसायले पर्यटकलाई मोहित पार्ने गरेको छ । चीनको पश्चिम भेगमा रहेको सानो यो शहरले आधुनिक बगैंचा शहरलाई प्रतिविम्व गरेको पाइन्छ ।
बजारमा हान, उइगुर, कजाक, हुई, तातार, रुसी जातीको बसोबास र सहअस्तित्वले सांस्कृतिक विविधता र मेलमिलापलाई प्रष्टसँग झल्काएको छ । बजार क्षेत्रमा रुसी अर्थोडक्स चर्च, हातले बनाउने आइसक्रिम स्टोर, साँस्कृतिक कार्यक्रम, नाइट लाइफका लागि उत्तम थलोको रुपमा विकसित यो बजार चिनियाँ, जर्मन, रुसी, उइगुर कलाको अनुपम संयोजन पनि हो ।

उता, टेकेस काउन्टीको यिजिङ सांस्कृति पार्क र शहरको केन्द्रमा रहेको ताइजी शहरी प्रदर्शनी हलको व्यवस्थापनले पनि समग्र सिन्ज्याङलाई चिन्न सकिने निश्कर्ष निकाल्न सकिन्छ । आफ्नो भाषा, कला, साहित्य, लिखित इतिहास, पहिचान र ऐतिहासिक पक्षलाई स्वायत्त क्षेत्रको राजधानी उरमुछी, बोर्ताला मंगोल स्वायत्त प्रिफेक्चर र इलि कजाक स्वायत्त प्रिफेक्चरसँगै ती अन्तर्गतका काउन्टी सरकारले जतनसँग जोगाउनु नै स्थानीय र चीनका लागि अमूल्य सम्पत्ति हो ।
टिप्पणीहरू