विश्वविद्यालयमा एमालेकरणको आरोपपछि उपकुलपतिको गर्जन
मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ ले धुमधामका साथ पूर्वप्रधानमन्त्री एवम् आदर्श वामपन्थी नेता स्वर्गीय मनमोहन अधिकारीको १०५ औं जन्मजयन्ती मनाएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढास्थित विश्वविद्यालय प्राङ्गणमा रहेको नेता अधिकारीको शालिकमा माल्यार्पणसँगै रक्तदान, वृक्षरोपण र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर जन्मजयन्ती मनाइएको छ ।
पुरस्कार वितरणका क्रममा विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले आक्रोशका साथ विरोधीहरुलाई कडा जवाफ दिएका छन् । सीमित बजेटका बाबजूद विश्वविद्यालय प्रगतिपथमा रहेको उल्लेख गर्दै उनले भ्रमपूर्ण अफवाह फैलाइएकोमा आपत्ति जनाए । भने, ‘मनमोहन विश्वविद्यालय बन्द हुन्छ भनेर हल्ला गर्नेहरु हेरि राखून्, आगामी १० वर्षमा यो विश्वविद्यालय दक्षिण एसियामा चिनिन्छ ।’
उत्पादनमुखी अनुसन्धानमा विश्वविद्यालयले सफलता हात पारिसकेको बताउँदै उनले विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याइरहेकाले प्रगतिको यात्राबाट कसैले रोक्न नसक्ने पनि जनाए । जति नै बाधा हालेपनि आफूहरु पछाडि नहट्ने उनको जिकिर छ । उनका अनुसार विश्वविद्यालयले सन् २०३० भित्रका महत्वाकांक्षी लक्ष्यसहित रणनीति तयार गरी कार्यान्वयन गरिसकेको छ ।
सीमित बजेट र जनशक्ति भएपनि मधुमेह नियन्त्रण तथा अन्य औषधि उत्पादनमा विज्ञ टोलीबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए । फार्मेसी संकायका विद्यार्थीहरुको समूहले विभिन्न प्रकारका भिक्स र सञ्चो औषधि उत्पादन गरेका छन् । हाल मधुमेहका लागि जडीबुटीजन्य औषधि उत्पादनको तयारी भइरहेको छ ।
विश्वविद्यालयमा ‘एमालेकरण’ ले सीमा नाघेको र अनियमितता भएको आरोपको सन्दर्भमा उपकुलपति पोखरेलले हिमाल, पहाड र तराईका विद्यार्थीहरु पढ्ने र शिक्षकहरुले पढाउने प्रष्ट पारे । अध्यापन र अनुसन्धान विश्वविद्यालयको मुख्य लक्ष्य भएको प्रष्ट्याउँदै उनले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति गर्न लागिएको र कोशी प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएकोमा धन्यवाद दिए ।
यसै शैक्षिक सत्रदेखि बीएससी नर्सिङ्ग, बीएनएमटी, साइकोलोजी काउन्सिलिङलगायतका विषयमा कक्षा शुरु गरिनेछ । २०७६ सालमा प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयले २०७८ सालदेखि उच्च प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । हाल यहाँ सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कानूनमा बीबीए–एलएलबी, अपराधशास्त्रमा एलएलएम, हस्पिटल एण्ड हेल्थकेयर म्यानेजमेन्ट, फार्मेसीलगायतका विषयमा पढाइ भइरहेको छ ।
साथै, आंगिक शिक्षालय पोलिटेक्निकमार्फत आठ विषयमा डिप्लोमा तहको शिक्षासमेत दिइरहेको छ । मनमोहनले भ्यागुतो जस्तै उफ्रेर लक्ष्य हासिल गर्न मिसन २०३० रणनीति पनि तयार गरेको छ । विश्वविद्यालय भएर पनि डिप्लोमा तहको शिक्षालाई समेटेर गुणस्तर गिराएको भन्ने आरोपको सन्दर्भमा उपकुलपति पोखरेलले प्राविधिक विश्वविद्यालयको जग नै पोलिटेक्निक भएको उल्लेख गरे ।
वडा नम्बर २, टंकीका स्थानीय तथा कोशी प्रदेश सांसद, पूर्वमुख्यमन्त्री र पूर्वउपकुलपति समेत रहेका केदार कार्कीले विश्वविद्यालयमा ‘एमालेकरण’ भएको आरोप लगाउँदै खारेजीको मागसहित प्रदेश सभामा आवाज उठाएका थिए । सांसद कार्कीले मनमोहनमा भएको बेथितिको विषयमा छानबिन समिति बनाउन माग गरेका थिए । डा.पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गरेर दोषी पाइए कानुनबमोजिम कारबाही गराउन चुनौती दिएका छन् ।


टिप्पणीहरू