श्रीमतीमाथि नै आर्थिक शोषण
बाजा बजाएर बिहे गरेको श्रीमानले नै ठगी गरेपछि कसको के लाग्दो रहेछ र ! अग्नीलाई साक्षी राखेर सात फेरासहित जन्ती लिई घरबाटै मागी बिहे गरेका स्याङ्जा वालिङका करिब ४२ बर्षीय अमित गैह्रेले आफ्नै श्रीमतीलाई इन्तु न चिन्तु पारेका छन् ।
श्रीमती नाम परिवर्तन (अर्चना पाण्डे) श्रीमानबाटै आर्थिक शोषण र मानसिक यातना भइरहेको भन्दै अड्डा अदालत धारहेकी छन् । १९ बर्षको किशोरावास्थामा बिहे गरेकी उनी यतिबेला ६ बर्षे छोरा डोर्याउँदै माइतीको भाइलाई साथमा लिएर प्रहरी प्रशासनसहित सञ्चारगृह गुहारिरहेकी छन् ।
२०७२ सालमा गैरेले नवलपरासीकी अर्चनासँग हिन्दू संस्कारसहित मागी विवाह गरेका थिए । श्रीमानसँगै खुशी र सुखको जीवन जिउने सपना त्यतिबेला चकनाचुर भयो जतिबेला अमितले २ महिनाकी गर्भवती श्रीमतीलाई बुबाको रेखदेख गर्न भन्दै भारत लगेर छाडे । ससुरालाई भात पकाउने, खुवाउने काम गरेर दैनिकी चलाइरहेकी उनी जब छोरा जन्मिएपछि घर आइन्न त्यसपछि भने छांगाबाट खसे झैं भइन् । उनी भारत गएको मौका पारी अमितले एक जना कोरियन ३२ बर्षीय युवतीलाई घरमै ल्याएर राखेका रहेछन् ।
उक्त विषयमा कुरा राख्दा उनले घुम्न आएको साथी हो भन्दै टारिदिए । सासू ससुरासहित परिवारले पनि साथी नै भएको बताएपछि श्रीमानको के बद्नाम गर्ने भनेर उनी चुपचाप बसिन् । तर यो सहनशीलतामाथि अमितले फेरि खेलबाड गर्दै गए । र श्रीमतीलाई माईती पठाएर आफू काठमाण्डौमा जागिर गर्ने भन्दै दूधे बालकसहितकी अर्चनालाई नवलपरासीमै छाडे । अर्चनाले यत्तिकै बस्नुभन्दा सानो तिनो आयआर्जनको बाटो गर्ने भन्दै पार्लर खोलिन् । त्यसैबाट दैनिक खर्च चलाउँदै पनि गइन् ।
काठमाण्डौ गएका अमितले फेरि स्याङ्जाकै २५ बर्षिया केटीलाई मायाजालमा पारेर लिभिङ टुगेदरमा बसे । केही महिना अगाडि अस्ट्रेलिया उडेकी उनलाई मायाजालमा पारेर बसेका अमितले माइती बसेकी श्रीमती र नाबालक छोरालाई बेवास्ता गर्दै गए ।
यही क्रममा बेलायत जाने भन्दै अर्चनालाई पैसा खोजिदिन आग्रह गरे । नवलपरासी नै आएर फकाए । दु:ख दिए पनि श्रीमान नै हो भनेर अर्चनाले विगतका सबै सास्ती र पीडा बिर्सिई माइतीसँग रिण सापटी जग्गा बैंकमा राखेर पैसा पठाइदिइन् । किस्ता किस्तामा ४२ लाखभन्दा बढी पैसा पठाउँदा पनि अमितले भीसा नआएको भन्दै ढाँटिरहे । अर्चना यतिबेला न श्रीमानसँग बस्न पाएकी छन् न त श्रीमानलाई खोजिदिएको रिण रकम नै फिर्ता पाएकी छन् । साहुहरुले पैसा फिर्ता मागिरहेका छन् । सानो ब्युटिपार्लरको कमाई ब्याज तिर्नमा ठिक्क छ । तर श्रीमानले पैसा माग्ने हो भने डिभोर्स गर भन्दै धम्काइरहेका छन् ।श्रीमानले फोन म्यासेजबाट मानसिक यातना दिएपछि धेरैपटक जीवनदेखि विरक्तिएकी पनि थिइन् । तर पछि छोराको भविष्यकोलागि मन थामेर दु:ख पीडा सही बाँचिरहेकी छन् ।
ठगीको उजुरी लिएर श्रीमान विरुध्द जिल्ला प्रहरी कार्यालय नवलपरासी पनि गइन् । त्यहाँ अर्चनाका भाइ नारायणले भिनाजुलाई पठाईदिएको पैसाको प्रमाणसहित उजुरी छ । स्याङ्जा जिल्ला अदालतमा माना चामलको मुध्दा हालेकी छन् । तर श्रीमानले माना चामलको मुध्दा हालेलगत्तै परिवारसँग अंश बण्डाको कागज बनाई आफ्नो नाममा स्याङजाको सम्पत्ति मात्रैको केही भाग राखेको सूचना गाउँलेले अर्चनालाई दिएका छन् । जबकि उनका श्रीमानको काठमाण्डौमा घर,बुटवलमा जग्गासमेत रहेको छ । श्रीमतीलाई ललाई फकाई ४२ लाखभन्दा बढी ठगी गरी काठमाण्डौमा केटीहरुसँग रमाईलो समय बिताइरहेका उनले यतिबेला सम्पत्तिमा पनि ठग्न खोजेका छन् ।
टिप्पणीहरू