बरामद गरिएको अर्बौंको लागुऔषध नष्ट

बरामद गरिएको अर्बौंको लागुऔषध नष्ट Photo: AP

म्यानमारले देशभरबाट जफत गरिएको २९८ मिलियन अमेरिकी डलर बराबरको लागुऔषध नष्ट गरेको छ ।  

लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ति लागुऔषधहरु औपचारिकरुपमा जलाइएको हो ।

देशका तीन प्रमुख शहर याङ्गुन, मन्डले र ताउन्गीमा हिजो लागुऔषध नष्ट गरेको अधिकारीहरुले जनाएका छन् । समाचारमा उल्लेख गरिएअनुसार याङ्गुनमा ११७.७५ मिलियन डलरभन्दा बढी मूल्यका ३६ प्रकारका, मन्डलेमा ८२.०२ मिलियन डलर बराबर ४३ प्रकारको र ताउन्गीमा ९८.१८ मिलियन डलर बराबर ३१ प्रकारका लागूऔषध जलाइएको हो ।

नष्ट गरिएका लागुऔषधहरूमा हेरोइन, अफिम, उत्तेजक ट्याब्लेट, मेथाम्फेटामाइन, भांग, केटामाइन र एक्स्टेसी लगायत समावेश थिए । गत वर्ष तीन ठाउँमा ३४ करोड ९० लाख डलरभन्दा बढी मूल्यका लागुऔषध र पूर्वसूचक पदार्थहरू पनि जलाइएको थियो ।

लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरूप म्यानमारमा यसअघि पनि ठूलो परिमाणमा लागुऔषध नष्ट गरिएको थियो ।

टिप्पणीहरू