प्रशंसाले बद्नाम बनाउँदैछ है नेताहरु !

प्रशंसाले बद्नाम बनाउँदैछ है नेताहरु !

किन बद्नाम हुँदैछन् नेताहरु ? के असामाजिक अभिव्यक्तिको स्रोत हुँदै गएका सामाजिक सञ्जाल, सञ्चारमाध्यम, नेताहरुकै एक अर्कालाई पखालेर वा चाटेर ‘गाई बनाउने’ यत्नका लागि गरिएका सार्वजनिक टिप्पणी (भाषण आदि) मा जस्तै सबै नेता खराब मात्र छन् त ? यदि सबै नेता त्यति धेरै खराब छन् भने राम्रो भएन र यदि त्यति धेरै खराब नभए पनि खराब नै मात्र भएको प्रचार मात्र गरिएको हो भने त्यो झन् राम्रो हुँदै होइन । 

‘अति सर्वत्र बर्जयत’ भनिन्छ । ती नेताहरु जो पदमा छन्, उनीहरु पनि तपाईं–हामीमध्येकै हुन् । उनीहरुसँग कुनै जादूको छडी छैन । पदीय जिम्मेवारी त्यस्तो प्राविधिक संयोग मात्र हो, जसको क्षमतामा सामान्यतः १९–२० को मात्र अन्तर हुनसक्छ । पदासिन नेतामा जादूको छडी बोकेको चमत्कार गर्नसक्ने क्षमता हुन्छ, हुन सक्छ वा हुनुपर्छ र बाँकी सबै निकम्मा हुन् भन्ने हुँदैन । सामाजिक वातावरणका आधारमा पदासिन नेता, पदबाहिरका नेता र सर्वसाधारणको क्षमता भनेको औसतमा बराबर अर्थात् १९–२० नै मात्र हो । तर, एकातिर हामी औसतहरुको ‘चाट्ने’ र ‘पखाल्ने’ प्रवृत्ति यस्तो छ कि मानौं ती कोही गाई हुन्, कोही गधा हुन् ! एकै छानो र एकै मानो बाँडेर हुर्केको समाजमा कोही गधा र कोही गाई हुँदैनन्।

लोककृष्ण भट्टराई नेपालको वामप्रजातान्त्रिक आन्दोलनका परिचित अगुवा हुनुहुन्छ । सामाजिक, साँस्कृतिक जागरण र कृषि प्रणालीको सबलीकरणका अभियन्ता हुुनुहुन्छ । लेखक–पत्रकारका अतिरिक्त कम्युनिष्ट राजनीतिमा वैचारिक नेतृत्वको उत्तराधिकारी पनि मानिनुहुन्छ । व्यक्तिगत रुपमा उहाँको कुनै पनि कृति र कर्मप्रति गुनासो होइन यो । सामाजिक सञ्जालमा अति प्रशंसा र निन्दाका लागि अरु धेरै उदाहरण छन् । तर, ती उदाहरण दिँदा आइपर्ने अवगालको सामना गर्न नसकिने भएकाले आफ्नै अग्रजको नामको टेको लिएर ‘सर्प मर्ने, लौरो पनि नभाँचिने’ रहर हो लोककृष्ण दाइ यो । निन्दा–घृणा गर्न नसक्दा, नचाहँदा अनावश्यक, अति र असान्दर्भिक प्रशंसा गरेर पनि बद्नाम गर्न सकिन्छ । 

पूर्वराष्ट्रपति विद्या भण्डारीको जन्म दिनको अवसरमा भट्टराईले केही दिन पहिले शुभकामना दिँदै लेख्नुभएको रहेछ– ‘भाउजू, तपाईंलाई मेरो र मदन दाइको गहिरो सम्बन्धको बारेमा थाहा छैनन् ।’ मेरो क्रान्ति नेपाली सभ्यता, विगत र वर्तमान बजारमा पाइन्छ, खोजेर पढ्नुहोला ।’ अंग्रेजीमा लेखिएको सन्देशको सार त्यही वा त्यस्तै छ । उहाँले दिनुभएको यो सन्देशले सामाजिक जीवनमा कुनै महत्व राख्दैन, यो उहाँहरु दुवैलाई उत्तिकै थाहा छ । सम्भावना ज्यादा के छ भने भट्टराईको सन्देश भण्डारीले थाहा नपाउन सक्नुहुन्छ । राजनीतिक उद्देश्यले शुभकामना दिएको भए ‘दाइ–भाउजू’ आवश्यक हुन्न थियो । तर, भाउजू–दाइ (मदन भण्डारी) सँगको गहिरो सम्बन्धको पृष्ठभूमि जोडेपछि उहाँकै साथीहरुले यसलाई सहज रुपमा लिएनन् । परिणामतः पूर्वराष्ट्रपति भण्डारीप्रति अप्रिय, अराजनीतिक र अमर्यादित टिप्पणीहरु सार्वजनिक भए ।

 एकै छानो र एकै मानो बाँडेर हुर्केको समाजमा कोही गधा र कोही गाई हुँदैनन् ।निन्दा–घृणा गर्न नसक्दा, नचाहँदा अनावश्यक, अति र असान्दर्भिक प्रशंसा गरेर पनि बद्नाम गर्न सकिन्छ । 

त्यो सम्बन्ध र सन्देशको अन्तर्य वा नियत अनुमान गर्ने कुरा भएन तर पूर्वराष्ट्रपतिलाई अथवा एक जना नेतालाई बदनाम गर्ने मसलाको काम गर्‍यो त्यसले । फोनै गर्दा पनि भण्डारीले उहाँको सन्देश ग्रहण गर्न सक्नुहुन्थ्यो । इनबक्स म्यासेज पनि हेर्न सक्नुहुन्थ्यो । तर, जुन सन्देश सम्भवतः भण्डारीले थाहै पाउनुभएन, त्यसैका कारण उहाँमाथि अमर्यादित टिप्पणी गर्ने मौका पाए साथीहरुले । आखिर यस्तो किन गरिन्छ ? लाग्न सक्छ, दुनियाँले गरेकै छन्, मैले पनि किन नगर्ने ? हो, असामाजिक बन्दै गएको सामाजिक सञ्जालमा लोककृष्ण दाइ एक्लो र पहिलो हुनुहुन्न । प्रश्न र आलोचना राजनीतिक तथा वैचारिक कम हुन थालेको छ भने प्रशंसा र सन्देशहरु पनि ‘पखाल्ने र चाट्ने’ राम्रो होइन । सामाजिक सञ्जालमा नै नदेखिएको यो सन्देश अनुकरण गर्न पर्ने देखिन्छ– ‘परिवारसँग एकसाथ बस्नु, गुरुसँग १० हात पर बस्नु, साथीहरुसँग १० किलोमिटर र सामाजिक सञ्जालबाट एक सय किलोमिटर टाढै बस्नु ।’ एक जना साथीले प्रश्न गरे– यही कुरा सिक्न पनि सामाजिक सञ्जालमा जानुपर्ने रहेछ ! हो, सबै प्रश्नको उत्तर हुँदैन ।

राजनीतिक पार्टीका नेताहरु, राजनीतिक पार्टीका सचेत कार्यकर्ताहरु लेखक–पत्रकार, बुद्धिजीवी, सामाजिक अभियन्ताहरुमा पनि सामाजिक सञ्जालमा सामान्यतः सामाजिक–सार्वजनिक चासोका विषयहरुमा जे–जति बहस हुुनुपर्ने हो, त्यो कम देखिन्छ । स्वस्थ आलोचना, वैचारिक बहस, प्रश्न र उपयोगी सन्देश कम तर व्यक्तिगत–पारिवारिक अथवा त्योभन्दा ज्यादा प्रशंसा र निन्दा सार्वजनिक हुने गरेका छन् । त्यसैको एउटा सानो उदाहरण हो माथिको सन्दर्भ ।

कतिपय बेला केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने ‘भाइरल मनिटाइज’ हुने भएकाले अति प्रशंसा गरेर नकारात्मक टिप्पणी आए पनि आफूलाई फाइदा लिइरहेका हुन सक्छन् । दृश्यमा सकारात्मक टिप्पणी गरेजस्तो पनि देखिने तर अन्तर्य भने बद्नाम गर्ने ध्येय पनि हुन सक्छ कसैको । यी दुई प्रवृत्तिका अतिरिक्त जुनसुकै मूल्यमा नकारात्मक टिप्पणी– विरोध निन्दा नै मात्र गर्ने ‘निषेध’ नीति पनि हुनसक्छ ।

नाम लिँदा यो पंक्तिकारका लागि माथिको उदाहरण सहज लागेको हो तर यस्ता धेरै उदाहरण विशेषगरी राजनीतिक पार्टीका नेता–कार्यकर्ता र ‘बुद्धिजीवी’ समुदायको ‘असाध्य’ रोग बन्दै गएको छ । व्यक्तिका पारिवारिक–सामाजिक सम्बन्ध र सौहाद्र्रतालाई ‘सामाजिक सञ्जाल’ले कमजोर, कटुतापूर्ण बनाउँदैछ । निजी जीवनका सबै खुशी, दुःख, व्यक्तिगत सम्बन्ध आदि सामाजिक–सार्वजनिक चासोका रुपमा उपयोगी वा स्वीकार्य विषय नहुन पनि सक्छन् ।

टिप्पणीहरू