छोपिएर हिँड्नुपर्नेलाई देखिएर स्वागत
राष्ट्रिय अनुसन्धान विभाग, दाङ्गका प्रमुख उपअनुसन्धान निर्देशक ओम खड्का (एसपी दर्जा) माओवादी सम्वद्व व्यापारीको स्वागत कार्यक्रममा सहभागी भएका छन् । हाजिर भएको ३ दिनमै उनी उद्योग व्यापार महासंघले गरेको स्वागत कार्यक्रममा सहभागी भएका हुन् ।
नेपाल उद्योग व्यापार महासंघ एकीकृत नेकपा माओवादीको जनवर्गीय संगठन हो । सोही संगठनले आज उनकै स्वागतकालागि घोराहीको मालाइन होटेलमा तामझामका साथ स्वागत कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा खड्कालाई माओवादी सम्वद्व व्यापारीहरूले खादा ओढाएर स्वागत गरे । एसपी खड्काले भाषणसमेत गरे ।
उनले आफूलाई स्वागत गरेकोमा नेपाल उद्योग व्यापार महासंघलाई धन्यवाद दिदैं आफू सधैं महासंघको साथमा रहने प्रतिवद्वता जनाए । महासंघले उनकै स्वागत तथा भेटघाटकालागि छुट्टै ब्यानर समेत बनाएको थियो ।
राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भएबमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । यो संस्था प्रधानमन्त्री कार्यालय मातहत रहेको छ । देशको इन्टेलिजेन्सका जिल्ला प्रमुख राजनीतिक दलको कार्यक्रममा स्वागत थाप्न जानु मर्यादाहीन काम भएको सोही बिभागका एक उच्च अधिकारीले बताए ।
‘अनुसन्धानको एसपी राजनीतिक दलका भातृ संगठनको स्वागत थाप्न जानु सांगठानिक अराजकता हो ।’ उनले भने ‘यसले उनको करिअरमै धक्का लाग्न सक्छ ।’
राष्ट्रिय अनुसन्धानका प्रवक्ता अनुसन्धान निर्देशक(डिआइजी) भीमबहादुर बुढाथोकीले अनुसन्धानका कर्मचारी राजनीतिक दलको स्वागत सम्मानमा जान नहुने बताउँछन् । ‘स्वागत तथा सम्मानकालागि भनेर त्यसरी जान मिल्दैन’, बुढाथोकीले भने, ‘दाङमा के भएको रहेछ,हामी बुझ्छौं ।’
यस विषयमा प्रतिक्रिया माग्दा दलीय कार्यक्रममा स्वागत थाप्न गएका एसपी खड्काले आफू अहिले नेपालगन्ज जान लागेको र यस विषयमा पछि कुरा गर्ने प्रतिक्रिया दिए ।

टिप्पणीहरू