निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको छ ।

राष्ट्रिय किताबखाना (निजामती) ले आज सूचना जारी गर्दै आर्थिक वर्ष २०८१–०८२ को सम्पत्ति विवरण बुझाउन भनेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) र निजामती सेवा नियमावली, २०५० को नियम ११८ (१) मा प्रत्येक निजामती कर्मचारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालयमार्फत किताबखानामा दर्ता गराउनुपर्ने व्यवस्था छ ।

सोहीअनुरुप आव २०८१–०८२ मा सेवा निवृत भएका कर्मचारीलाई समेत तोकिएको सीमाभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्न भनिएको छ । त्यस्तै, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका सरकारी कर्मचारीहरुले किताबखानामा नै यस्तो विवरण बुझाउनुपर्नेछ ।

अध्ययन, असाधारण र अन्य बिदा, तालिम, काज वा निलम्बनमा रहेका कर्मचारी पनि सार्वजनिक पद धारण गरेकै अवस्था हुने भएकोले सम्पत्ति विवरण पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । किताबखानाका अनुसार हुलाक वा अन्य माध्यममार्फत तोकिएको अवधिभित्र प्राप्त भएको सम्पत्ति विवरणको अभिलेख राखिने छ । तर, तोकिएको समयावधिभित्र विवरण पेश नगर्ने कर्मचारीलाई दश हजार रुपैयाँ जरिवाना हुने कार्यालयको भनाइ छ ।
 

टिप्पणीहरू