सरकारलाई खबरदारी गर्न पिछडा वर्ग सडकमा

सरकारलाई खबरदारी गर्न पिछडा वर्ग सडकमा फाइल फाेटाे

संघीय निजामती सेवा विधेयक र शिक्षा विधेयकमा पिछडावर्ग (ओबिसी) लाई समावेश गर्नुपर्नेसहित पाँच बुँदे माग राखेर सरोकारवालाहरु सडकमा उत्रिएका छन् ।

नेपाल पिछडावर्ग महासंघ तथा दलित, वादी, पिछडावर्ग संघर्ष समितिको संयुक्त आयोजनामा आज कोटेश्वरको आकाशे पुलनजिकै चक्रपथ सडकखण्ड पेटीमा आज सातौं दिनसमेत धर्ना जारी छ । समितिका संयोजक गोपाल सुनारको नेतृत्वमा भएको धर्नामा आठ जना सहभागी छन् ।

उनीहरुले उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिमा तत्काल पदाधिकारी नियुक्त गरी कार्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगद्धारा पिछडावर्गको थर सूचीकरण सम्बन्धमा बुझाइएको प्रतिवेदन मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र आरक्षण लागू गर्न, तीन वटै विकास समितिमा दुई दशकदेखि कार्यरत कर्मचारीलाई बिनाकारण सेवाबाट निकालिएकोले पुर्णबहाली गर्न, विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न र पिछडावर्गका निम्ति राज्यको सरकारी र निजी क्षेत्रको रोजगारीमा आरक्षण सिट निर्धारण गरी लागू गर्नुपर्ने माग पनि गरिएको छ ।

टिप्पणीहरू