प्रकाश श्रीमान, पीडितकाे आँशुले पाेल्दैन तपाईलाई ?
रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशहरुमाथि कारबाहीको माग गर्दै पीडित पक्षले न्याय परिषद् गुहारेको छ ।
घटनामा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बुवा नारायणसिंह राजपुतले हिजो न्याय परिषद्मा उजुरी दिएका हुन् ।
जिउँदो मान्छेलाई इँटाभट्टामा पोलेको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिएको थियो ।
मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै घटना नै नघटेको भन्ने मुख्य आधार लिएर हतारहतार सफाइको फैसला सुनाइएको भन्दै राजपुतले न्यायाधीशद्धयमाथि कारबाहीको माग गरेका छन् ।
घटनाका प्रत्यक्षीदर्शीहरु मेवालाल यादव, शंकर साह तेली, परीक्षण साह, रामबहादुर साह, शिव कानु, हरिनारायण साह, रवि कुमारसहितले अनुसन्धानमा बयान र अदालतमा बकपत्र गर्दा सो दिन विष्फोटको आवाज सुनेर घटनास्थलतर्फ जाँदा घाइते भएकाहरुलाई सुई दिई ट्याक्टरमा हालेको र आफूहरुलाई भाग भनि आलमसहितले धम्की दिएको पनि उनले उजुरीमा खुलाएका छन् ।
‘तत्कालीन प्रहरी नायब निरीक्षक इन्द्रप्रसाद सुवेदीले अनुसन्धान र अदालतमा बकपत्र गर्दासमेत बम विष्फोटको आवाज सुनेको र त्यसतर्फ जाँदा तत्कालीन एसपी लक्ष्मण न्यौपानेले आफूलाई फर्कन भनेकाले फर्केको हो, बम विष्फोट भएको हो भनि बकपत्र गरेका छन् भने निज यसै मुद्दाका ज्यान मार्ने उद्योगका जाहेरवालासमेत हुन्,’ उजुरीमा भनिएको छ, ‘बम विष्फोटमा परी घाइते भएका गौरीशंकर राम चमारले घटना घट्दाको समयमा आफैं त्यहाँ रहेकोमा बम विष्फोटले गर्दा घाइते भई त्यहाँबाट कुदेकोमा केही पर पुगेपछि बेहोस भएछु । पछि मेरा मानिस उपचार गर्दा बाँचेको हुँ । मेरो शरीरमा भएका घाउ खत बम विष्फोटमा परेर लागेको हो भनी बकपत्र गरेका छन् भने निजको घाउ जाँच प्रतिवेदनसमेतले त्यसलाई पुष्टि गरिरहेको छ ।’
घटना घटेको घरमा नयाँ भाटा छाएको, भुइँ तथा भित्ता मर्मत गरेको भन्ने मुचुल्कासमेतले देखाएको अवस्थामा घटना नै नघटेको भनि लिइएका आधारहरु केबल प्रतिवादीलाई उन्मुक्ति दिने मनशाय र उद्देश्यबाट प्रेरित भई फैसला गरिएको प्रष्ट हुने पीडितको ठहर छ ।
‘रौतहट जिल्ला अदालतको ३ वैशाख २०८१ को फैसलाका निर्णयाधार, प्रत्यक्षदर्शीहरुको बकपत्र र मिसिल संलग्न प्रमाण कागज एवं तथ्यहरुलाई नजरअन्दाज गरी हतारहतार प्रतिवादीहरुलाई सफाइ दिने गरी फैसला गरेको,’ उजुरीमा लेखिएको छ ।
केबल चार–पाँच घण्टा र आर्थिक चलखेलसमेत गरी फैसला गरेको भन्ने सुनिन आएको बताउँदै उनले मुद्दा मिसिलसहित न्यायाधीशद्धय थारु र महर्जनलाई न्याय परिषद्मा झिकाएर निलम्बन गरी कारबाही गर्न जोडदार माग गरेका छन् । यस विषयमा कांग्रेस पृष्ठभूमिकै वर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकाे माैनताले पीडितकाे घाउमा झनै नुनचुक छर्केको अवस्था छ ।
यस प्रकरणमा न्यायाधीशद्वय थारु र महर्जनले विवेक बन्धक राखेकोबारे जनआस्थाले जेठ २१ गतेको अंकमा सप्रमाण समाचार प्रकाशित गरेको छ । विस्तृत समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्:
प्रमाण प्रस्तुत छ श्रीमान्, थप नहुनु है बदनाम

टिप्पणीहरू