प्रहरीलाई उपसमूहमा विभाजन गरिँदै

प्रहरीलाई उपसमूहमा विभाजन गरिँदै फाइल फाेटाे

नेपाल प्रहरीले विभिन्न उपसमूहको योग्यता तथा दक्षताका सम्बन्धमा राय सुझाव मागेको छ ।

विविध सात उपसमूहमा समूहीकृत हुनका लागि आवश्यक योग्यता र दक्षताका मापदण्डबारे मातहतका कार्यालयसँग प्रहरी प्रधान कार्यालयले राय सुझाव मागेको हो । 

मानवस्रोत विकास विभागले विभिन्न विभाग तथा शाखा, प्रतिष्ठान र ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाउँदै प्रशासन तथा व्यवस्थापन, अपराध अनुसन्धान,सुरक्षा व्यवस्थापन तथा नियन्त्रण, ट्राफिक प्रहरी,कानून,आर्थिक प्रशासन र खेलाडी प्रहरी उपसमूहको मापदण्डबारे राय सुझाव पठाउन आग्रह गरेको छ । 

जनपद समूहका जवानदेखि वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) दर्जासम्मका कर्मचारीलाई योग्यताका आधारमा क्रमशः समूहीकृत गर्दै सेवा विशिष्टिकरण गर्न विस्तृत छलफल तथा गहन अध्ययनमार्फत मापदण्डको मस्यौदा बनाएर प्रतिवेदन पेश गर्न गत असारमा समिति गठन गरिएको थियो । सोही समितिअनुसार त्यससम्बन्धमा सात प्रहरी उपसमूहका लागि योग्यता तथा दक्षता मापदण्डबारे सुझाव मागिएको जनाइएको छ । 

पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी कार्ययोजना, २०८० (संशोधनसहित) व्यवस्था भएबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागअन्तर्गत पर्ने कार्ययोजना क्रियाकलाप ४.४.२ नेपाल प्रहरीका जनपद समूहका प्रहरी जवानदेखि वरिष्ठ नायव निरीक्षक दर्जासम्मका कर्मचारीलाई योग्यताका आधारमा क्रमशः समूहीकृत गर्दै सेवा विशिष्टिकरण गर्नका निमित्त तोकिएको समयभित्र विस्तृत छलफल तथा गहन अध्ययन गरी समूहीकृत सेवा विशिष्टीकरणसहितको मापदण्डको मस्यौदा निर्माण गरी प्रतिवेदन पेश गर्न सचिवालयको च.नं. ५११ मिति २०८१–०६–२० गतेको पत्रद्वारा गठित समितिअनुसार सो सम्बन्धमा निम्न उपसमूहअन्तर्गत योग्यता तथा दक्षता मापदण्ड सम्बन्धमा राय सुझाव पठाउन हुन सादर अनुरोध गरिएको छ ।’


 

टिप्पणीहरू