श्रीमतिमाथि ज्यादती गरेको आरोपमा एमाले नेताविरुद्ध चारवटा मुद्दा

श्रीमतिमाथि ज्यादती गरेको आरोपमा एमाले नेताविरुद्ध चारवटा मुद्दा

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बालेश्वर कामतविरुद्ध मोरङ जिल्ला अदालतमा चार वटा मुद्दा दर्ता भएको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४१ वर्षीय कामतकी श्रीमती नम्रता काफ्लेले अंश, सम्बन्धविच्छेद, घरेलु हिंसा र गाली बेईज्जतीको मुद्दा दायर गरेकी हुन् । 

बालेश्वर माओवादी पृष्ठभूमिका एमाले नेता हुन् । जनयुद्धकालमा भूमिगत भएका र शान्ति प्रक्रियापछि माओवादी मोरङको इञ्चार्ज बनेका उनको ग्रामथान गाउँपालिकाकी ४० वर्षीया नम्रतासँग जनवादी विवाह भएको हो । पार्टीको होलटाइमर कार्यकर्ता रहेका उनीहरुले २०६१ साउन १३ गते जनवादी बिहे गरेको अदालतमा दायर फिरादपत्रमा उल्लेख छ । 

तर, विवाहको केही समयमै श्रीमानले आफूलाई शारीरिक र मानसिक यातना दिएको, नाबालक सन्तानलाई कुटपिट गर्ने गरेको र घरमा बन्धक बनाएर राखेको नम्रताको आरोप छ । फिराद पत्रमा भनिएअनुसार बालेश्वरले उनलाई चाडपर्वको बेला आफन्तकहाँ जानसमेत दिँदैनथें । घरबाट बाहिर निस्कन रोक लगाएका उनले मोबाइलसमेत खोसेर राख्ने गरेका थिए । 

२०८० सालको तीजमा माइत जान लिन आएका भाइलाई बालेश्वरले मनपरी गाली गरेको र ज्यान मार्ने धम्कीसमेत दिएको नम्रताको भनाइ छ । त्यसैगरी, बाटोमा हिँडिरहेको बेला अश्लील गाली गर्दै निर्घात कुटपिट गरेको पनि उनले सुनाइन् । श्रीमानको यातना र ज्यादती सहन नसकेपछि नम्रताले २०८० असार ५ गते अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । 

त्यसपछि ‘मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की दिएको’ नम्रताको भनाइ छ । यता, बालेश्वर पनि नम्रताविरुद्ध अदालत पुगेका छन् । श्रीमतीको नाजायज सम्बन्धबाट जेठी छोरी जन्मिएको र झुक्याएर जन्मदर्ता गराएको भन्दै उनले जालसाजीको मुद्दा हालेका हुन् । 

नम्रताले पुनः अर्को दुई वटा मुद्दा दायर गरेकी छिन् । उनका अनुसार बालेश्वरले जेठी छोरीको जन्मदर्ता बनाइदिईसकेका छन् । बालेश्वर र नम्रताका तीन सन्तान छन् । अदालतले दुवैको मुद्दाको पेशी आज तोकेको छ । 

लामो समयदेखि माइती बस्दै आएकी नम्रताले बालेश्वरबाट बारम्बार धम्की आएपछि मोबाइल फोन प्रयोग गर्नसमेत छाडेकी छिन् ।

टिप्पणीहरू