बालेनविरुद्ध अख्तियारमा अर्को उजुरी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ ।
बालेनले मात्र प्रयोग गर्नेगरी बनाइएको लिफ्ट निर्माणमा अनियमितता भएको जिकिरसहित सिन्धुलीका युवराज सफलले आज उजुर हालेका हुन् । ठेक्का बोलपत्र आह्वान नै नगरी करोडौं रकमको लिफ्ट जडान गरिएको उजरीकर्ताको दाबी छ ।
सरकारी तथा सार्वजनिक निकायले कुनै पनि खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था भएपनि बालेनले बिना प्रतिस्पर्धा, टेण्डर र कोटेसन नगरी करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट व्यक्तिगत प्रयोगका लागि जोडेको उजुरीमा उल्लेख छ ।
‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा, बिना टेण्डर र बिना कोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेको छन्’ , दर्ता नम्बर सि-०७५०४३ रहेको उजुरी पत्रमा लेखिएको छ, ‘विशेषतः सो लिफ्ट मेयर शाहकै लागि जडान गरिएको पनि महानगर स्रोतले जनाएको छ ।’
नयाँ लिफ्ट जडानप्रति आफ्नो विरोध नभएपनि लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा (११) बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिना प्रतिस्पर्धा, बिना टेण्डर र बिना कोटेसेन अपारदर्शी, अनियमित तरिका जोडिएकोमा आपत्ति भएको उनले बताएका छन् ।
सफलले लिफ्ट जडानसम्बन्धी टेण्डर, बोलपत्रलगायत आवश्यक कागजात, निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचरलगायत कागजात झिकाई सत्यतथ्य छानबिन गर्न अख्तियारसँग माग गरेका छन् ।
‘तत्काल काठमाडौं महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडानसम्बन्धी टेण्डर, बोलपत्रलगायत आवश्यक कागजात, निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचरलगायत कागजातसमेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवम् भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्नुहुन प्रस्तुत उजुरी पेश गरेको छु’, उजुरीमा उल्लेख छ ।
बालेनविरुद्ध यसअघि पनि अख्तियारमा धेरैवटा उजुरी परिसकेको छ ।
टिप्पणीहरू