भिजिट भिसा काण्डमा माओवादी झन कसिलो

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले अडान नछोड्ने संकेत गरेको छ । नेपाली काँग्रेसले ल्याएको मध्यमार्गी प्रस्तावमा लचिलो देखिएको माओवादी आज विपक्षी दलको बैठकपछि पुरानै अडानमा फर्किएको हो । 

दलालसँग साँठगाँठ गरेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा करोडौँ कुम्ल्याएको काण्ड छानबिनका लागि समिति गठनको सुनिस्चितता नभएसम्म संसदको अवरोध कायमै राख्ने विपक्षीहरुले निर्णय गरेका छन् । यसअघि काँग्रेसले राखेको मध्यमार्गी प्रस्तावमा माओवादीसहित विपक्षीहरु सहमत भएको भनिएको थियो । सोअनुसार विपक्षीले गृहमन्त्रीको राजीनामाको अडान छोड्ने, सत्तापक्ष छानविन समिति बनाउन राजी हुने अनि सदन खुलाउने मौखिक समझदारी थियो । 

तर, आज काँग्रेस नेताहरुले गृहमन्त्री लेखकमाथि छानविन गर्न नहुने अड्को थापेपछि परिस्थिति भाँडिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समिति गठन गर्न अनिच्छुक रहेकाले काँग्रेस पनि भड्किएको विपक्षीहरुको बुझाइ छ । 

माओवादी सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुको विकल्प नभएको बताए । गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि उहाँ मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि पद छोड्नुपर्ने आफ्नो पार्टीको धारण उनले सुनाए ।

गृहमन्त्री लेखक पदमा रहँदासम्म निष्पक्ष छानविन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानविन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा आलेमगरले जोड छ । 

‘भिजिट भिषा प्रकरण नेपालमा एक नयाँ मानव तस्करी काण्डका रुपमा देखापरेको छ । त्यसैले यसलाई माथिल्लोस्तरबाट छानविन गरिनुपर्छ भनेर हामीले माग गरेका छौं’, आजको संसद बैठकमा उनले भने, ‘यसै सन्दर्भमा माननीय गृहमन्त्रीज्यू इमान्दार हुनुहुन्छ, नैतिकवान पनि हुनुहुन्छ उहाँको नैतिकता र इमान्दारितामा हामीलाई विल्कुल शंका छैन । तर, उहाँको मातहतमा रहेको अध्यागमन कार्यालयबाट जे जस्ता मानिसहरु त्यहाँ गएका छन् र उहाँको सचिवालयमा जे जस्ता मानिसहरु छन् ती सबै मानिसहरुको इतिहास हेर्दा विभिन्न प्रकरणमा डामिएका छन् । त्यस्तो मान्छे नै गृहमन्त्रीज्यूको छनोटमा किन पर्यो ? हाम्रो प्रश्न त्यही हो ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानविनमा सहजताका लागि गृहमन्त्रीले पद छोड्नुपर्ने आफूहरुको माग रहेको उनले स्पष्ट पारे । 

शुरुमा गृहमन्त्री लेखकको राजीनामा माग्दै सदन अवरुद्ध पारेका विपक्षीहरु पछिल्लो समय भने सत्तापक्ष छानविन समिति गठन गर्न तयार भए सदन खोल्न दिने पक्षमा छन् । त्यसनिम्ति सहमति जुटाउन दलहरु विभिन्न पक्षीय छलफलमा जुटिरहेका छन् ।

टिप्पणीहरू