आफ्नो सुको नझार्ने,राज्यको बजेटमा तर मार्ने
विनोद चौधरी नेपाली काँग्रेसको सांसद हुन् । उनको व्यावसायिक विगत निकै विवादास्पद छ । मुलुकको एकमात्र डलर अर्बपतिको नाममा अनेक हल्ला गर्छन् । पछिल्लो सयम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।
विदेशमा गरिएको लगानीको हरहिसाब राख्न उतै दौडन्छन् । संसदको अर्थ समितिको बैठक र बजेट तर्जुमाको बेलामा भने यतै बसेर ठूलै कुरा गर्छन् । आगामी आर्थिक वर्ष २०८२–८३ मा उनले पश्चिम नवलपरासी १ मा शहरी विकास मन्त्रालयअन्तर्गत ३१ करोडभन्दा बढीको बजेट विनियोजन गराएको भनेका छन् । उनले पूर्वाधार विकास,शहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माणलगायतका परियोजनामा बजेट विनियोजन गर्न लगाएको दावी गरेका छन् ।
मुलुकको सबैभन्दा धनीले मुलुकभित्रै गरेको लगानी र सहयोगको अंक भने नगण्य छ । भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङ, ग्लोबल बैंक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र उनै चौधरीका माहिलो भाइ बसन्त चौधरीले सामाजिक क्षेत्रमा गरेको योगदान चर्चायोग्य छ।
विनोदले विकासका लागि राजनीति भन्ने नारा अघि सारेको र तीन वटै तहका सरकारसँग विकासका लागि आवश्यक पहल र समन्वयको काम गर्दै आएको दाबी उनका समर्थकहरुको छ । आज बिहान सामाजिक सञ्जालमा फोटोसहित उनले लेखेका छन् - पश्चिम नवलपरासीको गण्डक (नेपाली) नहर २०३९ सालमा निर्माण भएको हो जसको सिंचाई क्षमता ८७०० हेक्टर क्षेत्रफल हो । तर,उक्त नहरको मर्मत सम्भार एवं नहरमा बालुवा थुप्रिदै जाँदा क्षमताको २० प्रतिशत भूमिमा मात्रै सिंचाई हुँदै थियो । २०७९ सालमा नवलपरासी १ बाट निर्वाचित भएपछि मैले नेपाली नहरलाई पूर्ण क्षमतामा सञ्चालन गरी सिंचाई सुविधा विस्तार गर्ने प्रतिवद्धतासहित काम अगाडि बढाएँ । नहरमा ३५ करोड लगानी गरी नदीको बालुवा नहरमा जानबाट रोक्ने प्रविधि (डिसिल्ट्रेसन) कार्यान्वयनमा ल्याइएको छ र अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुँदैछ ।’
अगाडि लेखेका छन्, ‘जसका कारण अब साविकमाभन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुनेछ । नेपाली नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुशी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ । उक्त डिसिल्ट्रेसन परियोजनाको यही जेठ २६ गते सोमवार माननीय उर्जा मन्त्रीज्यूबाट समुद्घाटन हुने कार्यक्रम छ । आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका ठोस उपलब्धी यहाँहरूसमक्ष सेयर गर्न पाउँदा म अत्यन्तै खुशी छु ।’
टिप्पणीहरू