रोशनीको सुसाइड नोटमा छोरालाई हाँसीखुशी भएर जीवन बिताउन सल्लाह
तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणीको आरोप र मुद्दा दायर गरेर चर्चामा आएकी रोशनी शाही हिजो अपरान्ह मृत अवस्थामा भेटिइन् । भक्तपुरको बालकोटस्थित निवासमा मृत भेटिएकी उनको आत्महत्या हो वा हत्या, अनुसन्धान जारी छ । तर अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट आत्महत्या नै भएको प्रहरीको अनुमान छ ।
उनी हिजो बिहान विराटनगर जाने तयारीमा थिइन् भनिन्छ । विराटनगरको एक गैरसरकारी संस्थामा कार्यरत श्रीमान चित्रजंग शाहीलाई भेट्न त्यता जाने लागेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी माधवप्रसाद बुढाथोलीले जानकारी दिए । ‘तर विराटनगर जानुअघि नै यो सबै भयो’, उनले जनआस्थासँग भने, ‘बरु विराटनगरबाट उहाँको श्रीमान आइसक्नुभएको छ, शव पोस्टमार्टमका लागि टिचिङ पठाएका छौँ ।’
शाहीको कोठामा विषको बोटल भेटिएको भन्ने खबर सत्य नभएको एसपी बुढाथोकी बताउँछन् । ‘विषको बोटल होइन, उहाँले प्रयोग गर्दै आएका केही औषधिहरु थिए । ती औषधिको साइड इफेक्ट कतिसम्म हुन्छ भन्नेबारे पनि बुझिरहेका छौँ’, उनले थपे ।
श्रीमान चित्रजंगले भने घटनालाई स्वाभाविक रुपमा लिएका छन् । एसपी बुढाथोकीले थपे, ‘पहिले पनि पटकपटक धेरै औषधि खाएर सुसाइडको प्रयास गर्नुभएको रहेछ, एक दिन रोकिएला, दुई दिन रोकिएला, तर सँधै रोक्न सकिन्न भन्ने श्रीमानको बुझाइ छ, उहाँले नै यो अनपेक्षित घटना होइन भन्नुभयो, तर पनि श्रीमतीको निधनमा दुःखी नै हुनुहुन्छ ।’
शाहीले छोरालाई सम्बोधन गर्दै दुई पृष्ठको पत्र समेत लेखेकी छन् । ‘पत्रमा छोरालाई तिम्रो लागि यस्तो गर्न सकिनँ, उस्तो गर्न सकिनँ, खुशी भएर बाँच्नु, यस्तै यस्तै सामान्य कुरा छन्’, उनले सुनाए ।
टिप्पणीहरू