आयल निगमकी महिला हाकिममाथि जनप्रतिनिधिद्वारा दुर्व्यवहार
नेपाल आयल निगमको झापा चारआलीस्थित शाखा कार्यालय प्रमुख गीता सापकोटामाथि दुर्व्यवहार भएको छ । जनप्रतिनिधिहरुले आज दिउँसो उनीमाथि दुर्व्यवहार गरेका हुन् । प्रदेशबाट हटाइएका कर्मचारीलाई पुनःबहाली गर्नुपर्ने मागसहित निगमको शाखा कार्यालय पुगेका मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल (उप्रेती) र वडा नम्बर–१३ का वडाध्यक्ष कृष्ण सिग्देलले ‘कर्मचारी किन हटाएको ?’ भन्दै हप्कीदप्की गरेको स्रोत बताउँछ ।
स्रोतका अनुसार उनीहरुले ती पाँच जना ज्यालादारी कर्मचारीलाई फेरि काममा राख्न दबाब दिएका थिए । झण्डै ६ महिनाअगाडि प्रादेशिक कार्यालयको निर्णयानुसार हटाइएका कर्मचारीलाई राख्नैपर्ने ढिपी कसिएको स्रोतले बतायो । ‘शाखा कार्यालयले कर्मचारी हटाउनै मिल्दैन । प्रदेश र केन्द्रको कार्यालयले हटाउने हो । माथिबाट निर्देशन आएपछि उनीहरुलाई हटाइएको हो । महिनौंपछि सो कुरालाई लिएर विवाद गर्न आएका थिए । स्थानीय भएकाले ती कर्मचारी राख्नैपर्छ भनेर दबाब दिएर गएका छन्’,स्रोतले भन्यो ।
यता,उपमेयर पोखरेलले भने कुनै विवाद नभएको दावी गरिन् । आफूहरु बुझ्न मात्र निगमको कार्यालय गएको उनको जिकिर छ । जनआस्थासँग भनिन्,‘हटाइएका कर्मचारीले गुनासो गरेपछि हामीहरु दिउँसो बुझ्न गएका थियौं । माथिको आदेशले हटाएको भनेपछि फर्कियौं । त्यस्तो कुनै विवाद भएको छैन ।’
टिप्पणीहरू