क्याबिनेटका नौ निर्णय, दुई मन्त्रीको भ्रमण स्वीकृत

क्याबिनेटका नौ निर्णय, दुई मन्त्रीको भ्रमण स्वीकृत

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारी चीन जान लागेका छन् । यही जेठ ११ गतेदेखि १९ गतेसम्म आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन उनी त्यता जाने निधो भएको हो । 

अस्ति साँझ बसेको क्याबिनेट बैठकले उनको भ्रमण स्वीकृत गरेको छ । बैठकले नायब महान्यायाधिवक्ता संजीवराज रेग्मी अस्ट्रेलिया र वन तथा वातावरण राज्यमन्त्री रुपा विकको ताजिकिस्तान भ्रमण पनि स्वीकृत गरेको छ । 

यस्तै, नेपाली सेनाको सैनिक प्राविधिक सेवाअन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप्ने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौं संशोधन) आदेश, २०८२ स्वीकृत गर्ने क्याबिनेटको अर्को निर्णय छ । बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत पनि गरेको छ ।

नवनिर्मित चार लेनको महाकाली पुल आसपास महाकाली नदीको बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाएर व्यवस्था गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गरिनुका साथै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८.६० वर्गमिटर जग्गा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

टिप्पणीहरू