बाबुरामको जिल्ला कमिटी प्रचण्डमा विलय

बाबुरामको जिल्ला कमिटी प्रचण्डमा विलय

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुकुम पूर्व जिल्ला कमिटी माओवादीमा समाहित भएको छ । 

जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’को नेतृत्वमा उक्त पार्टीको सिंगो कमिटी माओवादीमा मिसिएको हो । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा उनीहरुलाई  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।

नेकपा (एमाले) निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका नेताहरूले पनि माओवादी रोजेको बताइएको छ । उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरेका छन् । 

आफूले सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामको कारण पार्टीप्रति सकारात्मक लहर आएको बताउँदै उनले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे ।

टिप्पणीहरू