उता पत्र वाचन, यता वैठक आह्वान

भ्रष्टाचार मुद्दा लागेका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बनमा परेका छन् । टेरामक्स घोटालामा आज भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनको पद निलम्बित भएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाए । पूर्वमन्त्रीसमेत रहेका उनीसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
गतआम निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट सांसद जितेका तत्कालीन सूचना तथा सञ्चारमन्त्री बस्नेतसहितलाई प्रतिवादी बनाइएको मुद्दामा ३ अर्ब २१ करोड बिगो मागदावी गरिएको छ । सार्वजनिक पदधारण गरेका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा लागे स्वतः पद निलम्बन हुने कानुनी व्यवस्था छ ।
पार्टीका सांसद भ्रष्टाचारमा तानिएसँगै नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ । पर्सि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी दलका नेता शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू