बिदेश जान लाग्दा ठगिनेहरुलाई थोरै त्राण
वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले पदवहाली गर्नासाथ 'युरो-अमेरिका सपोर्ट एण्ड वर्ल्ड वाइड कन्सल्ट सर्भिस प्रालि' मा छापा हानेका छन् । पर्साको वीरगञ्जका राजनकुमार बैठालाई कामदार भिसामा युरोप लैजान्छु भनी मोटो रकम ठगेको उजुरी परेपछि त्यहाँ छापा मारिएको भट्टराईले जनआस्थालाई बताएका छन् ।
उक्त कम्पनीबाट पीडित बैठालाई एक लाख नौ हजार रुपैयाँ असुल गराइएको छ । विभागको सक्रियताबाट आफूले पैसा फिर्ता पाएको भन्दै बैठाले खुशी व्यक्त गरेका छन् । विभाग धाउँदाधाउँदै थाकेको र न्याय पाउने आशा मारिसकेको अवस्थामा पैसा फिर्ता पाउँदा धेरै खुशी लागेको र बाँकी पनि छिट्टै पाउने आशासहित विभागलाई धन्यवाद दिए ।
यता,ठगीकै आरोपमा क्यारियर टेक ग्रोथ कन्सल्टेन्सीमा पनि विभागले छापा हानेको छ । सो क्रममा रकम भुक्तानी गरिएका ३२ थान चेक,विभिन्न पाँचवटा बैंकका चेकबुकका साथै शंकास्पद कागजात जफत गरिएको छ ।
सञ्चालक सत्यनारायण साफीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको विभागले जनाएको छ । उनीमाथि मधेशी मूलका नेपालीहरुसँग वैदेशिक रोजगारीमा पठाइदिने नाममा रकम असुलेको तर कतिपयलाई विदेश पठाउन नसक्दासमेत रकम फिर्ता नगरेको आरोप छ ।
वैदेशिक रोजगार विभागमा ठगीका घटना लिएर आउनेहरुको संख्या बढिरहेको अवस्थामा त्यस्ता कम्पनीमाथि निर्मम हुने नीति लिएको नवनियुक्त महानिर्देशक भट्टराई बताउँछन् । उनले श्रम स्वीकृतिको लागि हप्तौंसम्म कुर्नुपर्ने अवस्थाको पनि अन्त्य गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानका लागि राहत,उद्धार, अनुगमन,श्रम स्वीकृति,ठगी,विद्युतीय सुशासन एवं थुप्रै विषयमा सुधार गर्नुपर्ने जिम्मेवारी भट्टराईको काँधमा आएको छ ।
टिप्पणीहरू