अरुलाई धारे हात लगाउनुअघि ऐन हेर्न प्रधानमन्त्रीको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुलाई गाली गर्ने तरिका सिकाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले ऐना हेरेर गाली गर्दा मात्रै मजा आउने बताउनुभएको छ ।
यसअघि प्रस्तुत आर्थिक वर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नमा आज प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची थियो । सो क्रममा उहाँले नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताहरुले टिप्पणीको भाषाभन्दा पनि गालीगलौजको भाषा प्रयोग गरेको अनुभव सुनाउनुभयो ।
‘तर म गालीगलौजतिर जान चाहन्नँ, ऐना अगाडि राख्ने, आफूलाई हेर्ने, अनि गाली गर्ने, मजा हुन्छ’, उहाँले भन्नुभयो, ‘ऐना पनि हेर्ने, ऐनमा आफैंलाई देख्ने, अनि गाली चाहिँ अरुलाई गर्ने ! त्यसो नगरे हुन्थ्यो ।’
नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका ओलीले आगामी जेठ १५ गतेमात्र नभएर कुनै पनि जेठ १५ मा राजसंस्था नफर्किने विश्वास पनि व्यक्त गर्नुभयो । राजसंस्था पुनस्र्थापनाको लागि राजावादीहरुले जेठ १५ गतेदेखि जनआन्दोलनको घोषणा गरेको पृष्ठभूमिमा उहाँले प्रतिगमनका आन्दोलन कहिल्यै सफल नहुने दावी गर्नुभएको हो । ‘सुन्दैछु जेठ १५ गते रे...यो जेठ १५ गते मात्र हैन, आगामी कुनै पनि वर्षका जेठ १५ गते पनि त्यो प्रयास सफल हुँदैन’, उहाँले अघि भन्नुभयो, ‘प्रतिगमनको वकालत गरेर शिलिंग छुनेगरी उफ्रिनुको कुनै अर्थ छैन, समय बर्बाद नगर्नुहोस् ।’
प्रधानमन्त्री ओलीले बंगलादेशको उदाहरण सुन्दा–सुन्दा दिक्क भएको पनि बताउनुभयो । ‘बंगलादेशजस्तै हुन्छ रे...त्यहाँ फर्किए त राजा ? त्यहाँ पनि थिए त कुनैबेला राजा, अहिले फर्किएका छन् र ? यसरी संविधानकै परिधीभित्र बसेर अमर्यादित नबनौँ’, उहाँको आग्रह छ ।
टिप्पणीहरू