विदेश जानेलाई पनि लाइसेन्स निकाल्न सकस
विदेश जानेहरुका लागि हुँदै आएको अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई रोकिएको छ ।
यातायात व्यवस्था विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आएपछि स्मार्ट लाइसेन्स छाप्न समस्या भएको हो । विभागले सूचना जारी गर्दै वैशाख २५ गतेदेखि प्रिन्टिङ्ग प्रणालीमा समस्या देखिएको र समाधानका कार्य भइरहेको जानकारी गराएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवं प्रहरी र गैरआवासी नेपाली नागरिकका लागि विभागले अत्यावश्यक लाइसेन्स छपाई गर्दै आएको छ । लाइसेन्स छपाई कार्य बन्द भएसँगै सेवाग्राही मर्कामा परेका छन् । विभागले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि लाइसेन्स छपाई कार्य बन्द गरिएको जनाएको छ ।
सूचनामा भनिएको छ, ‘अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासी नेपाली नागरिकका लागि अत्यावश्यक लाइसेन्स छपाई हुँदै आएकोमा यही मिति २०८२–०१–२५ गतेदेखि विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको जानकारी गराइन्छ ।’
स्मार्ट लाइसेन्स नपाँउदा लाखौं चालकले राजश्व तिरेको रसिदलाई नै लाइसेन्सका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ । कतिसम्म भने पाँच वर्षको म्याद सकिँदासम्म चालकले लाइसेन्स नपाउने अवस्था विद्यमान छ ।
टिप्पणीहरू