उद्यम, नवप्रवर्तन र सीपबारे हेटौंडामा बहस

उद्यम, नवप्रवर्तन र सीपबारे हेटौंडामा बहस

युवालाई सीपयुक्त बनाएर उद्यमशिलतातर्फ प्रेरित गर्न बागमती प्रदेशमा युवा सम्मेलनको आयोजना गरिएको छ । भोलिदेखि हुने तीन दिने युवा सम्मेलनको सबै तयारी पूरा गरिएको प्रदेश युवा परिषद बागमतीले जनाएको छ । 

परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा बागमतीसहित सातै प्रदेशका तीन सयभन्दा बढी युवाले सहभागिता जनाउने ग्यारेन्टी भएको जानकारी दिइएको छ । प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अनलाइन फारम भरेर छ सयजना युवामध्ये दुई सय जना छनौट गरिएको बताए । बागमती प्रदेशभित्रका ५० वा पालिकाबाट ५० जना महिला उद्यमी युवाहरुलाई सहभागिताको ग्यारेन्टी गरिएको र प्रदेशभित्रका १३ वटै जिल्लामा रहेका जिल्ला युवा समितिका अध्यक्ष र परिषदका सदस्यहरु सम्मेलनमा सहभागी हुनेछन् । 

सम्मेलनमा कृषि क्षेत्रको नवप्रवर्तन, शिक्षा क्षेत्रको विकास, समस्या र चुनौती, युवा सीपको विकास, उद्यमशीलतामा युवाको सहभागिता, नीति र नेतृत्वमा युवाका बहस लगायतका विषयहरुका कार्यशाला, बहस र प्यानल छलफल हुने उपाध्यक्ष चौलार्गाइंले बताए । ‘हामीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयको वातावरण बनाउनका लागि सबै तहका सरकारका प्रतिनिधिहरुलाई एकै ठाउँमा ल्याउने प्रयत्न गरेका छौँ’, चौलागाईले भने । कार्यक्रममा संविधानसभा सदस्य, संघीय सांसद, प्रदेश सांसदसहित कृषि, शिक्षा, उद्यमको क्षेत्रमा बिज्ञता हासिल गरेका स्रोत व्यक्तिहरुका अनुभव र ज्ञानलाई युवामाझ लैजाने तयारी छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा देशभरबाट आएका युवाहरुलाई आवासीय व्यवस्थापनसहितको कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मेलनको यो तेस्रो श्रृंखला रहेको जानकारी दिँदै अघिल्ला सम्मेलनहरुबाट सिकेका पाठलाई यसपटक प्रभावकारी रुपमा ग्रहण गरिएको उपाध्यक्षको ठहर  छ । 

सम्मेलनमा उद्यमशीलता प्रवद्र्धन, उद्यमीहरुको सफलताको कथा, सांस्कृतिक कार्यक्रमहरु, युवाका प्रतिभाहरुको प्रदर्शनी, युवाका सबालमा विषयगत बहससहित बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँगको युवा संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।

टिप्पणीहरू